​कता ठोक्ने आगे यहाँकै मर्जी


Sunday, 19 Nov, 2017 2:23 PM

  • लक्ष्मण देवकोटा

नकारात्मक मनोवैज्ञानिक हमलाले सकारात्मक मत परिणाम निकाल्ने महाअभियानमा नेपालका राजनीतिक दल र तिनका नेताहरु होमिएका छन् । कम्युनिष्टहरु सत्तामा आए बर्बादै हुन्छ भन्ने काँग्रेसी हल्ला र काँग्रेसीहरु आए देशै भारतमा लगेर बुझाउँछन् भन्ने आरोपपछाडिको जरो कारण मतदातामाथिको मनोवैज्ञानिक हमला हो । 

विभिन्न समयमा गरिएका सर्वेक्षण र अनुसन्धानलाई उद्धृत गर्दै विज्ञान बिटअन्तर्गत बिबिसीसँग सम्बद्ध पत्रकार जारिया गोर्भेतले लेखेकी छन्, ‘मानिसहरुको मनभित्र अको पक्षप्रति जति बढी भय पैदा गर्न सकिन्छ त्यति उनीहरुको मस्तिष्क आफूतिर तान्न सकिन्छ । मानिसहरुको दैनन्दिनीमा असाध्यै असर गरिरहने उसको आर्थिक, सामाजिक र साँस्कृतिक पृष्ठभूमिसँग जोडिएर आउने कुराहरुले नै उसलाई बढि छोइरहेको हुन्छ । सबैभन्दा बढि छुने त उसको आफ्नो पहिचानले नै हो । मानिसहरु भित्रको सुषुप्त ग्रन्थीले मतदातालाई यौटा विचार,सीमानातिर धकेलिरहेको हुन्छ । निर्णय प्रकृयाको अन्तिम विन्दुहरुसम्म जालो केलाउँदै जाने हो भने उसभित्रको सुरक्षा मनोवृत्तिले अहं भूमिका खेलेको देखिन्छ । तर, यो जन्मँदै पार्टीको बिल्ला भिरेर जन्मेका महान् नेपालीहरुले भने विज्ञानलाई समेत बिफल बनाइदिएका छन् । 

हामी त हजुरबाउदेखिकै काँग्रेस ! जन्मँदैको कम्युनिष्ट हामी ! यिनै त हुन् गाउँतिर सुनिने वार्तालाप । यहाँनेर प्रश्न गर्नुपर्ने बेला आएको छ, जन्मँदै पार्टी लिएर जन्मने हो भने चुनावका मुखमा घोषणापत्र छाप्ने, या गर्छु र त्यो गर्छु भनेर हल्लीखल्ली मच्चाउने लेठो किन गर्नुप¥यो र ? घोषणापत्र छापिने कागत बनाउन कति वनको नाश भएको होला ? हैन यदि हामी लोकतन्त्रमा विश्वास गर्छौं भने वास्तवमै को ठीक हो र को बेठीक भनेर चिन्ने जाँगर पनि त गर्नुप¥यो । आफूलाई मन परेका उम्मेदवारलाई सासै फेर्न मुश्किल हुने गरी मालाले पुर्ने, अनि चुनाव सकिएको भोलिपल्टबाटै नेता सराप्ने हाम्रो प्रवृत्ति पनि नेतालाई बरालिन दिने यौटा कारकतत्व हो । 

एमालेलाई यहाँसम्म ल्याइपु¥याउने एकजना असल नेताको छवि बनाएका व्यक्ति हुन् युवराज ज्ञवाली । उनले आफूसँग ठेकेदार, डन र धन नभएकैले चुनाव लड्न नसकेको बताएर यौटा गम्भीर प्रश्न उठाइदिएका छन् । धनराज गुरुङ, ठाकुर गैरेजस्ता लामो संघर्षको छवि बनाएका युवकहरु आफू किन चुनावमा छानिन सकिएन भन्ने प्रश्नको जवाफमा नेतृत्वसँगको अनावश्यक सान्निध्यता र धनदौलतको कारण नै देखाएर अर्को नैतिक प्रश्न उठाइदिएका छन् । 

चाणक्यले धनानन्दसँगको विवादमा भने जस्तै इन्द्रीयलाई बशमा राख्न नसकेर सत्ता र द्रव्य मोहकै कारण गलत निर्णय गर्ने नेतृत्वले शासन चलाउने हो भने जनता पनि त्यस्तै बन्न पुग्नेछन् । जनता धनदौलतलाई श्रेष्ठ मान्नुपर्ने, नैतिकता सदाचारको महत्व हराएको महसुस गर्नुपर्ने अवस्थामा पुग्नु के लोकतन्त्रको निम्ति सकारात्मक कुरा हो त ? होइन भने आफ्ना उम्मेदवारलाई थुतेर दीपक मनाँगेलाई विजयपथमा अघि बढाइँदै गर्दा पार्टीले थाहै नपाएको अभिनय गर्छ ? विजय गच्छदारसँगै प्रवेश गराइएकै कारण किन गणेश लामाहरु निर्वाचित भएर शासन गर्ने सपना देख्छन् ? 

हो, यी सबै प्रश्नको एकमुष्ट जवाफ दिन सचेत जनताले अब बिस्तारै सहीलाई सही र गलतलाई गलत भनेर निर्णय गर्नुपर्ने अवस्था आएको छ । त्यो पनि मतपत्रबाट । कीर्तिनिधि विष्ट बाँचुञ्जेल कसैले राम्रा कामको चर्चा गरेको पाइएन । उनी पञ्चायती व्यवस्थाको भूतका रुपमा उभ्याइरहे । आखिर उनले उत्तरी सिमानाबाट भारतीय क्याम्प हटाउने जस्तो राष्ट्रवादी निर्णय पनि त गरेका रहेछन् । कुनै घटनाक्रमलाई हेर्ने यो एकाँकी चिन्तनको पर्दा उघारेर आफैँलाई प्रश्न गर्दै मतदाताहरु निर्णय प्रकृयामा पुग्नैपर्ने छ । 

जसले जति गलत गरेपनि, सदाबहार त्यागी र सर्वहारा भए पनि, मिल्नैप¥यो भने नेपालको राजनीतिक नेतृत्वले राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु कोही हुँदैन भन्ने गजबको परिभाषा तयार गरेको छ । त्यो काँग्रेस, एमाले, राप्रपा सबैमा लागू हुन्छ । जनताले कहिल्यै प्रश्न गरेन, यदि तपाइँहरुमा त्यो लागु हुन्छ भने हामी तलका पानी बाराबार किन गर्ने ? हिजोसम्म प्रचण्ड र ओलीलाई भारतभक्त, देशद्रोही, फटाहा, डाँका भनेर गाली गर्नेहरु यति छिटै अँकमाल गर्नुपरेपछि यसलाई कसरी बुझ्ने ? म त भन्छु, जनताले पहिला आफूलाई साँच्चिकै जनताको रुपमा उभ्याउने हिम्मत गर्नुपर्छ । 

गजबै छ क्या, हामीकहाँ दण्डहीनता स्थापित भैसकेको छ । बाँदरमुढेमा सँलग्नलाई कारवाही गर्नैपर्छ भनेर प्रचण्डले भनेपनि ठिकै छ । जब–जब चुनाव आउँछ मानवअधिकारकर्मीहरुले मुक्तिनाथ अधिकारीको मुद्दा तोडतोडका साथ उछाले पनि हुन्छ । जनआन्दोलनताका हेलिकोप्टरमा बसेर जनतालाई गोली हान्न आदेश दिने कमल थापाहरुलाई पालैपालो सबै दलहरुले राज्यको स्वर्णआसनमा बसाले पनि हुन्छ । बाँचुञ्चेल तालुखुइले गिरिजा ः भारततिर छिरिजा भनेर नारा घन्काउनेहरुले अहिले गिरिजाबाबुको सपना पूरा गर्नुपर्नेछ भनेर रुवाबासी गरे पनि हुन्छ । 

अब जनताले प्रश्न गर्नुपर्छ, कहाँ हराए भृकुटी कागज कारखानादेखि हेटौँडाको सिमेन्ट कारखाना ? काँग्रेसले बकाइदा घोषणा गरेर कार्यान्वयन नै गरेको हरेक निर्वाचन क्षेत्रबाट दुईसयका दरले युवा विदेश पठाउने रामशरण महतको डिजाइनको अर्थतन्त्र, जसमा एमालेको पनि विरोध छैन, के त्यो ठीक रहेछ त ? रेमिट्यान्सले देश बन्ने भए फिलिपिन्स र भियतनामले अमेरिका–युरोपलाई उछिन्नुपर्ने हो । श्रीलंकाको प्रतिव्यक्ति आय बढेर कहाँ हो कहाँ पुग्नुपर्ने हो ! रंगीविरंगी पर्चामा जनतालाई अलमल पार्ने पूर्व–पश्चिम रेलवालाका मुखियाहरुले एकपटक रानीपोखरी चिटिक्क पारेर देखाए हुने । दिनहुँ ओहोरदोहोर गर्ने रानीपोखरी त सुधार्न नसक्नेहरुले रेलका कुरा नगर्दा नै उपर्युक्त होला।

चुनाव जित्न चलाइएको स्मार्ट सिटीको हल्ला त देखिएकै छ । बच्चा ह्युम पाइपमा बगेर मर्छन् काठमाण्डूभित्रै । ज्यानमारा त्रिशूली र पाल्पा सिद्धबाबाको बाटो चुनावका बेला मात्र मुद्दा बन्छ, जितेपछि हराउँछ । तर विडम्बना गोर्भेतले भनेजस्तै मान्छे आफू सुरक्षित हुन कहिलेकाहीँ आफूलाई ठीक लागेर मतपत्रमा पनि उसले मत हाल्दैन । जनता बनेर हेर्ने र उही पार्टीको कारिन्दा बनेर ड्याम ड्याम बाउबाजेका पालादेखि हान्दै आएको चिन्हमा हान्ने आगे यहाँहरुकै मर्जी ।

– मदनपोखरा, दमकडा, पाल्पा


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

Mega Bank Ltd.
Top