​दलका हनुमान, फेसबुके अनुमान


Sunday, 19 Nov, 2017 1:49 PM

  • संकेत कोइराला

एउटा जंगल थियो । थरीथरीका जनावर बस्थे । एकदिन जंगलका राजाको चुनाव भयो । जनावरहरूले सिंहलाई छाडेर बाँदरलाई राजा बनाए । एकदिन एउटा बाघले बाख्राको पाठो उठाएर आफ्नो गुफामा लगेछ । पाठोलाई मुक्ति दिलाइदिन अनुनयविनय गर्दै बाख्रो बाँदर राजाकोमा धाउन थालेछ । राजा बाँदर बाघको गुफाबाहिर जाँदै फर्किंदै गर्दो रहेछ । कत्ति गर्दा पनि ओडारभित्र पस्ने आँट आएनछ । आपूmभित्रको लाचारी देखाउन नचाहने, काम पनि गर्न नसक्ने भएपछि बाँदर राजाको गुफानजिकै रहेको रूखमा चढेर एउटा हाँगाबाट अर्को हाँगा चाहार्दै चाकाचुली खेल्न थालेछ । रातदिन धाउँदा पनि बाघबाट आफ्नो बच्चा फिर्ता नआएपछि बाख्रीले कडिकडाउसाथ प्रश्न गरी– ‘मेरो बच्चा कहिले फिर्ता ल्याइदिनुहुन्छ सरकार ?’ बाख्राको प्रश्नको उत्तर दिँदै बाँदर राजाले भनेछ, ‘मैले भोक–निद्रा नभनी बाघसँग तिम्रो बच्चा छुटाउन प्रयास गरिरहेकै छु । तिमीहरूकै चिन्ताले घर–व्यवहार हेर्न भ्याएको छैन । यति गर्दागर्दै पनि मेरो प्रयासमा कुनै कमी आएको देखेकी छौ भने भन । आपूmलाई सुधार्न तयार छु ।’

दलका घोषणापत्र र बाँदरको बाख्रो छुटाउने प्रयास एकै लाग्छन् । नेताहरूको दलील सुन्दा यस्तो लाग्छ, उनीहरूको पदचाप यो पृथ्वीमा नभएका दिन सृष्टि टक्क अडिन्छ । सूर्यको गति रोकिन्छ । बाघले बाख्रा खान छोड्छ । भैंसी रूख चढ्छ । चन्द्रमा दिउँसो उदाउँछ । मानवता निख्रिएका तिनै स्वर प्रवल बन्दै गएका छन् । पटक पटक गरी नेपाली जनताले प्रजातन्त्रको लडाईं लडेको सात दशक नाघेको छ । जनताको अधिकार स्थापित गर्ने नाममा भएका ती आन्दोलनपछिको राजनीतिक उपलब्धी संस्थागत गर्न नसक्ने दलको अकर्मण्यताको पीडा अन्ततः हजुरबादेखि नाति पुस्तासम्मले भोग्नुपरेको छ ।

राणाशासनविरुद्ध विक्रम संवत् १९९७ देखि शुरु भएको आन्दोलन २००७, ०१७, ०४६ हुँदै ०६३ को आन्दोलनपछि मुलुक गणतन्त्रमा प्रवेश गर्दासम्म पनि जनताका अधिकार स्थापित हुन सकेका छैनन् । ०१५ सालमा कांग्रेसले प्रस्तुत गरेको घोषणापत्रमा भनिएको छ– ‘प्रशासनयन्त्रको भ्रष्टाचार एवं अदालतमा व्यापक रूपमा फैलिएको घुसखोरीबाट जनता पीडित छन् । प्रशासन यन्त्र जनताको भलाई निमित्त हो । तर जनताको शोषण गर्नको निमित्त यसको उपयोग भइरहेको छ । शासन भार लिनेबित्तिकै घुसखोरी एवं भष्टाचारलाई कांग्रेसले निर्मूल पार्नेछ । भ्रष्ट कर्मचारीलाई कडा सजाय र इमान्दार एवं कर्तव्यपरायण कर्मचारीलाई कदर गर्ने कांग्रेसको सरकारले प्रतिज्ञा गर्दैछ ।’ आज ६ दशकपछि पनि कांग्रेस घोषणापत्रको सारांश यही व्यहोरासँग मेल खान्छ । प्रजातन्त्रको प्रतिफल केही टाठाबाठाले लिने गरे पनि सर्वसाधारणका लागि विधिको शासन आकाशको फलजस्तै बनेको छ । जनताले पाएका थोरै अधिकार पनि निगाहको रूपमा परिभाषित हुने गरेका छन् । 

दलले आफूअनुकूल राज्यव्यवस्था चलाउन नपाएपछि प्रजातन्त्रका विधि विधानलाई सिध्याउने र जनतालाई बलिको बोको बनाउने अभ्यास बारम्बार चल्ने गरेको छ । तीन दशक यताको प्रजातान्त्रिक अभ्यासमा आफूले कुर्सी त्याग गर्नुपर्ने भएपछि अधिकांश प्रधानमन्त्रीले संसद भंग गराउनुको भित्री रहस्य पनि यही हो । 

आन्दोलनले पुरानो व्यवस्थालाई मिल्काएपछि त्यो व्यवस्थाका सारथिहरू दण्डित हुनुपर्छ । उनीहरू सत्ता सञ्चालनका लागि किन नालायक भए ? त्यो प्रश्नको उत्तर नयाँ आउनेका गतिविधिले दिनुपर्छ । तर, परिवर्तन आएको खुशीमा सिन्दुरे जात्रा मनाएर निधारबाट सिन्दुर मेटिएको हुँदैन, अघिल्ला शासकहरूसँगै सहभोज गरिँदा हालसम्म पाएको भनिएका सबै उपलब्धि गिजोलिएका छन् । यसैको परिणाम एउटा आन्दोलनमा जुर्मुराएकाहरू अर्को आन्दोलनका लागि ओइलिने गरेका छन् । 

शासनमा व्यक्ति फेरिए पनि प्रवृत्ति नफेरिने रोग अझै पनि उस्तै छ । जनताको हितमा हैन खल्तीपिच्छेका प्रजातन्त्रको मोडल बोकेर त्यसको व्यापार गर्ने दलको शैलीका कारण प्रजातान्त्रिक व्यवस्था नै अस्थिर बन्दै आएको छ । बरु अझै पनि राजनीतिक दल जनतालाई आन्दोलनका लागि उक्साइरहेका छन् । ६० वर्षअघि एसियाका नेपाल, भारत, चीन, दक्षिण कोरिया, भियतनामलगायत जनताको प्रतिव्यक्ति आय हाराहारीजस्तै थियो । तर, तिनै छिमेकी मुलुकका जनताको प्रतिव्यक्ति आय हजारौं डलर भइसक्दा नेपाली जनता निर्धो अंकमा खुम्चिन बाध्य छन् । प्रजातन्त्रको प्रतिफल जनताको हातमा नपुगेको एउटा कटु सत्यसँगै नयाँपुस्तामा राजनीतिप्रतिको विकर्षण भविष्यका लागि थप घातक सूचक हो । जसका कारण जनताको भाग्य निर्माणको तहमा असक्षम व्यक्तिहरूको पहुँच सुरक्षित बन्ने खतरा देखिन्छ । यसैले युवापुस्तालाई मूलधारको राजनीतिक गतिविधिमा सक्रिय गराउनु वाञ्छनीय छ । एकातिर प्रजातन्त्रको आन्दोलनमा तीनपुस्ताको समय गुज्रिसकेको छ भने अर्कातिर हजुरबा पुस्ताको समकालीन राजनीतिमा वर्चस्व छ । जुन समयको माग होइन । अघिल्लो पुस्तालाई सम्मान, नयाँपुस्तालाई अवसर अहिलेको आवश्यकता हो । 

पाण्डुहरू बनबास गएपछि केही समयका लागि हस्तिनापुरको राज्य चलाउने अवसर धृतराष्ट्र«ले पाएका थिए । हजार हात्ती बराबरको शक्ति पाएपनि उनी अन्धा थिए । राजा हुनअघिसम्म यो पदलाई पाण्डुहरूको नासोका रूपमा लिएका थिए । तर जब राजाको श्रीपेच पहिरिए उनीभित्र अर्कै अनौठो र दम्भी भावना जागृत भयो । श्रीपेच लगाएका महाराज गान्धारीतिर फर्केर बारम्बार सुहाएको बेलिविस्तार लगाउँथे रे ! अन्धा धृतराष्ट्र«ले श्रीपेच सुहाएको गर्व गर्नुपछाडिको रहस्य एउटै हो– सत्ताको सुख ।

दृष्टिविहीन धृतराष्ट्र«मा त शक्ति मोह थियो भने त्यो बाटोमा लागेकाहरूले आफूलाई योग्य प्रमाणित गर्न खोज्नु अनुचित हुँदै होइन । राजनीतिको गन्तव्य भनेकै सत्ता हो । राजनीतिले दृष्टिकोण र योजना बनाउँछ तर त्यो इच्छालाई परिपूर्ति गर्ने काम शासनप्रणालीले गर्छ । पदले मान्छेलाई महान बनाउँछ र नजान्दा कहिल्यै निस्कन नसक्ने खाल्डोमा जाक्छ पनि । नढाँटीभन्दा हाम्रो सन्दर्भमा सत्ता बनारसको लड्डुजस्तै खाए पनि पछुताउने, नखाए पनि पछुताउने साधन भएको छ । सामाजिक सञ्जाल नियाल्नुस् त, सामाजिक खबरदारी कति सशक्त छ ! अनुमान र हनुमानका उछित्तो काढ्नेहरूको धार कति कति धारिलो छ । हुन त झण्डे राजनीतिबाट अभिप्रेरित भएर दिनलाई रात पार्नेहरूको कमी पनि छैन । यद्यपि, तिनीहरूप्रतिको दृष्टिकोण इज्जतिलो छैन । 

राजनीतिमा नैतिक धरातलको सिंढीबाट झरेपछि त्यो व्यक्ति जनताको आँखाबाट कहिल्यै माथि उठ्न सक्दैन । हो, अपवादका रूपमा नियम कानुनको सहारामा कतिपय राजनीतिक व्यक्ति निष्कलंक बनेर देखा परेका छन् । यद्यपि, कागजमा सफाइ पाए पनि जनताको मन मस्तिष्कमा उनीहरूको छवि कालाको कालै छ । त्यो छवि मेटाउने इरेजर सानो साधनाबाट पाउने इच्छा कसैले नगरे हुन्छ ।
सबैले सधैं राम्रो काम गर्न सम्भव छैन । समयको कुनै कुइनेटोमा इतिहासले तारिफ गर्ने एउटा काम गर्नु नै महानता हो । कसैलाई कदर गर्न जानियो भने आफू पनि त्यसको लायक होइने हो । भएको संस्कार मेटाउने, नयाँ पनि थप्न नसक्ने विचित्रको मनोविज्ञानमा राजनीति कुदिरहेको छ । नेपालमा क्षमतावान नेता प्रशस्तै जन्मिए । कतिले सपना देखे, समय पाएनन् । अहिलेकाले समय पाए, सपनै देखेनन् । टंकप्रसाद आचार्य एकताका चीन भ्रमणमा गएका थिए । चीनले उनलाई शान्तिदूतका रूपमा जापान गएर दुई देशबीचको सम्बन्ध सुलह गराइदिन गरेको आग्रहलाई सफलतापूर्वक सम्पन्न गरिदिए । १४ भाषाका ज्ञाता मातृकाले प्रधानमन्त्री भइसकेपछि पनि अमेरिकाको राजदूत भएर पद सानो–ठूलो हुँदैन भन्ने प्रमाणित गरे ।

२० वर्ष नपुग्दै भारतका तात्कालिन प्रतिभाशाली राष्ट्र«पति डा. राजेन्द्रप्रसादको निजी सहायक बने । भनिन्छ– राजेन्द्रप्रसाद दुई हातले एकैपटक दुई विषयमा जाँच लेख्न सक्थे रे ! राष्ट्र«संघमा अलिखित भाषण गर्ने मातृका त्यसवेलाका विश्वकै चर्चित वक्ता थिए । बिपीले राष्ट्रिय स्वाधिनताका लागि बमदेखि साइनाइडसम्म बोके । धोती लगाउँदैमा महात्मा गान्धी बनिँदैन । त्यसको लागि जप, तप र त्याग चाहिन्छ । पद भनेको त सिंहमाथिको सवार हो । हामीले ज्ञान हैन, सूचनालाई जीवनपथ बनायौं । गुरु हैन, शिक्षकलाई सर्वैसर्वा ठान्यौं । ज्ञान गुरुले बाँड्ने हो । शिक्षकले दिने त सूचना मात्र हो । नयाँ पुस्ता कम्प्युटरको पेन्टियम सेभेन संस्करण हो । तर पेन्टियम वानमा समेत आफूलाई अपडेट नगरेका नेता र शिक्षक देशको भाग्यनिर्माता भएका छन् । बिपीले ०१५ सालमा कल्पना गरेको सानो झुप्रो, ओखती उपचार र गाई पालन भनेको अहिलेको ल्यापटप हो । समयअनुसार मान्यता फेरिन्छ भन्ने तथ्य नेतृत्वले बुझ्न आवश्यक छ । 

विनापूर्वाग्रह भन्ने हो भने देशका अधिकांश नेता अदालतका पुराना डिठ्ठा, विचारीजस्ता छन् । काइते बोल्नु राजनीतिक जागिर बन्दै आएको छ । सर्जक उनीहरूलाई मन पर्दैन । सवैलाई थाहा भएकै सत्य हो– जँड्याहालाई मही मन पर्दैन । दासताबाट नउठेको मानसिकताका नेता र ईन्द्रेणी रंगका बुद्धिजीवी भएको देशमा इतिहास कुन बाटोमा हिँड्छ ? भविष्यवाणी गर्न मुस्किल छ । कार्यकर्ता त नेताको इशारामा चल्दैन भने इतिहास कसरी हिँड्छ, कसलाई के थाहा ?

रामायणकालीन इतिहास हेर्ने हो भने पन्छी राज जटायुले मृत्युको अन्तिम स्थितिमा रहँदारहँदै पनि रावणले भिक्षुको भेषमा पुष्पक विमानमा राखेर सीतालाई हेरी लंका लगेको गुप्त खबर रामलाई दिंदा त्यो सूचना नै रामकथाको मूल सूत्र बन्यो । त्यति मात्र होइन रावणलाई नाभी वाण लागेपछि मात्र उसको अन्त्य हुन्छ भन्ने गुह्य रहस्य विभीषणले नखोलिदिएको भए शायद रामको बाण त्यसै निष्फल हुन बेर लाग्ने थिएन । नेतृत्वमा रहेकाहरूले बुझ्नु पर्छ– राज्य सञ्चालनमा सूचना सबैभन्दा बढी शक्तिशाली हुन्छ । आज कुनै देश समृद्ध छ भने त्यसको पहिलो कारण हो– सूचनामा पहुँच । 

सत्तामा बस्नेहरूले अमेरिकी राष्ट्र«पति रिचर्ड निक्सनले भनेको एउटा सानो कुरा मनन् गर्नु उचित छ–‘सत्ताको यात्रा भनेको शेरको सवारीजस्तै हो बसिरहँदा पनि गलेर हैरानी, झर्दा आपैंm शेरको शिकार हुने भय ।’

अमेरिकी राष्ट्र«पति अब्राहम लिंकन जातीय दासता उन्मूलन गरेवापत संसारमा प्रसिद्ध भए । अमेरिकाको राष्ट्रिय अखण्डतालाई विखण्डन हुनबाट जोगाउँदा लाखौं अमेरिकी मरे । तैपनि उनले दक्षिणी अमेरिकी राज्यलाई छुट्टिन दिएनन् । यसैका लागि श्रीलंकामा ७० हजार नागरिक बलिबेदीमा चढिसकेका छन् । भारत र पाकिस्तानबीच बाँडिएको कास्मिरमा सन् १९४९ मा नेहरूले राष्ट्रसंघमा त्यहाँको जनताको आत्मनिर्णयको अधिकार मान्ने भनेर जनमतसंग्रह स्विकारे पनि त्यहाँ मर्ने क्रम रोकिएको छैन । विश्वमा यस्ता मुलुक छन् जहाँ सात पुस्ता बस्दा पनि नागरिकता दिइन्न । युएईमा सम्पूर्ण नागरिकमध्ये १५ प्रतिशत मात्र स्थानीय हुन् । नागरिकता दिएको भए फिजीमा महेन्द्र चौधरी उहिल्यै प्रधानमन्त्री भइसक्थे । सत्य–असत्य, अँध्यारो– उज्यालो, कर्म– कुकर्मको दूरी त्यति पर छैन । पृथ्वीमा गरेको कर्मको फल यहीँ भोग्नुपर्छ ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

Mega Bank Ltd.
Top