​गरिबलाई डुबाएर ब्यांककमा गुपचुप


Sunday, 19 Nov, 2017 1:38 PM

छलछामको दुनियाँमा ठग्ने होइन, ठगिनेचाहिँ दोषी ठहरिँदो रहेछ । ठग्ने मुलुकभन्दा बाहिर ऐश आराम र मस्तीको जीवन बिताइरहेछ, ठगिनेचाहिँ स्वदेशमा दिनको भोक र रातको निद्रा गुमाएर मानसिक यातना भोगिरहेछ । सिन्धुलीको उत्पते–८ मा जन्मिएँ । आर्थिक अवस्था राम्रो थिएन । चार दाजुभाइमध्ये जेठो छोरा । त्यसैले काँधमा जिम्मेवारी थियो, भाइलाई हुर्काउने, बढाउने र बुबा–आमालाई खुशी राख्ने । पाठशालामा गएर अक्षर पढिएन, घोकिएन– आज पछुताउँदै छु । बुबा प्यारालाइसिसले थलिनुभएको छ, न बोल्न सक्नुहुन्छ न चल्न चट्पटाउन । पिताको यस्तो रूप देख्दा मन गहु्रंगो हुन्छ । आँखा त्यसै त्यसै रसाउँछ ।

तैपनि समाज भन्छ– लोग्ने मान्छे भएर रुनु हुँदैन । साइँलो भाइ गाडी ड्राइभर, ऊ पनि एक्सिडेन्टमा परेर जोरपाटी अपांग अस्पतालमा थलिएको छ । किन बज्रमाथि बज्र बर्सन्छ मैमाथि ? मनभरी सपना बोकेर २० वर्षको उमेर टेक्दै गर्दा राजधानी पसें, जहाँ अरूका छोराछोरी कलेज पढ्न भन्दै छिर्थे । न थियो टेक्ने हाँगो, न त समाउने लहरा । नियतिको पछि लागेर राजधानी भित्रिएँ र नयाँ बस्तीमा बालुवा बोक्ने काम गर्न थालें । बालुवा चालेर बोक्दै गर्दा आफ्नो सपनाको घर भने बालुवाको महलझैं भत्कँदै थियो । जीवन त्यही ढंगले चल्दै थियो । बीचमा घर गएँ र पुनः फर्किएँ । यसपटक बालुवाखानी छाडेर लेबरका रूपमा घर बनाउने ठाउँमा काम पाएँ । बिहानदेखि बेलुकासम्म काम गर्दा एक सय सत्तरी रुपैयाँ हात लाग्थ्यो । बसाइ थियो चाबहिलमा । कामबाट फर्किएपछि बेलुका जमघट हुन्थ्यो । त्यहीं भेटिए झमक राई । नुवाकोट घर बताउने उनी कुनै साहुको कपडा पसलमा काम गर्थे । उनीसँग निकटता बढिरहेकै थियो । 

कुरैकुराको सिलसिलामा साहुलाई नागरिकता चाहिएको सुनाए । भने– मेरा साहुले चाइनाबाट सामान ल्याउँछन्, नागरिकता भयो भने भन्सारबाट सामान छुटाउन सजिलो हुन्थ्यो । हामीले प्रश्न गरेका थियौं, साहुलाई नागरिकता दिँदा हामीलाई केही अप्ठ्यारो पर्ने पो हो कि ? झमकले आफ्नो साहु राम्रो र इमानदार मान्छे हो केही अप्ठ्यारो पर्दैन भने । र, उनकै विश्वासमा सिन्धुलीकै इन्द्र विक, मसहित अन्य दुई जनाको नागरिकता झमकको हातमा थमाइदियौं । भोलिपल्ट कर कार्यालयमा गएर साइन गर्न भने, केका लागि हस्ताक्षर गर्ने, केही बुझेनौं, खोजेनांै पनि । उनीहरूले भनेझैं साइन ग¥र्यौं र फर्कियौं । बीचमा लेबर काम छाडेर ड्राइभिङ पेसामा आइपुगें । राजधानीमा जीवन जसोतसो गुजारिरहेको थिएँ । यसैबीचमा गाविससचिव रमेश अधिकारी सरको फोन आयो, तिम्रो नाममा कर कार्यालयबाट चिठी आएको छ, बुझ्न आऊ । सचिवले मात्र होइन, गाउँका आफन्ती, नातागोता सबैले एक एक गरी जिज्ञासा राख्न थाले । 

करदाता सेवा कार्यालय चाबहिलको पत्र थियो त्यो । ०७३ साल पुस ६ गतेको मितिमा काटिएको । प्रोप्राइटर अरबिनकुमार काफ्लेद्वारा सञ्चालित स्थायी लेखा नम्बर ६००८२४६८२ भएको न्यू कुशल इन्टरप्राइजेजको नामको पत्र थियो त्यो, रकम दाखिला गर्ने वा प्रमाण पेश गर्ने सम्बन्धमा । 

पत्र पढेर सुनाए, छाँगाबाट खसेझैं भएँ । त्यहाँ लामो समयदेखि आयकर तथा मूल्य अभिवृद्धि कर नतिरेको कारण संस्था नन फिलर रहेको र मुअक बक्यौता १ करोड ४६ लाख १७ हजार चार सय र आयकरतर्फ १९ लाख ५७ हजार १ सय ८९ गरी कूल १ करोड ६५ लाख ७४ हजार ५ सय ८९ रुपैयाँ एक हप्ताभित्र दाखिला गर्ने भनिएको थियो । धेरै बेर घोरिएँ, कसरी यस्तो भयो ? किनकि न म कुनै व्यापारी थिएँ न उद्यमी । दिनभरि श्रम बेचेर विहान बेलुकाको छाक टार्दै आएको एउटा सामान्य मान्छे । कहाँबाट के भयो ? धेरै सोचे्र पाँच वर्षअगाडि मेरो नागरिकता लिएका थिए झमक राईले । त्यहीँबाट बदमासी भएको ठहर गर्दै भोलिपल्टै हुत्तिएर कर कार्यालय पुगें । कर अधिकृतलाई आफ्नो वास्तविकता सबै बताए । उहाँ कन्भिन्स हुनुभयो र भन्नुभयो– उसो हो भने झमक राईलाई जसरी पनि खोजेर ल्याउनू । अब खोज्नु कसरी, भेट्नु कसरी ? न  सम्पर्क नम्बर थियो न त थियो घरको पूरा ठेगाना ?

झमक राई, नुवाकोट । यति एउटा ठेगानाका भरमा उनको खोजीमा निस्किएँ । हामी देवघाटको बाटो जाँदै थियौँ, सोध्दै खोज्दै । सडक सर्भे भइरहेको थियो । त्यहाँका एक जना भद्र भलाद्मीलाई झमक राईबारे जिज्ञासा राख्यौं, उनैले ठेगाना बताइदिए । हामी त्यो ठेगाना पछ्याउँदै घर पुग्यौं, त्यहाँको वस्तुस्थिति नियालेर फर्कियौं र कर कार्यालयका अधिकृतसँग वस्तुस्थितिको बयान ग¥यौ । युवराज श्रेष्ठ सरले तत्कालै झमकलाई फोन गर्नुभयो । तर, झमकले आफू एक्सिडेन्टमा परेका कारण आउन नसक्ने जिकिर गरिरहे । प्रहरीसहित हामी आफंै लिन आउँछौं भनेपछि गले र एम्बुलेन्समा आए । साहुले धेरैको यसैगरी नागरिकता लिएको र फसाएको बताए । साहु अर्थात् भरत अर्यालको सम्पर्क नम्बर पनि दिए । र, भरत अहिले थाइल्याण्डमा रहेको बताए । चाबहिल गणेशस्थानमा घर थियो भरतको । त्यहाँ गएर उनको बुबालाई कर कार्यालयमा ल्यायौं । छोरालाई झिकाएर केस सल्टाउँछु भने । त्यहाँ नरम रूपमा प्रस्तुत भएका उनका पितालाई फेरि भेटें एक्लै । यो पटक ठूलो कुरा गरे, ‘मेरो छोरा अहिले मसँग बोल्दैन, थाहा छैन ।’ त्यसो भए कर कार्यालयमा गएर किन यो मुद्दा सल्टाउँछु भन्नुभएको भन्दा ढुंगा बोल्ला मान्छे बोलेनन् । यसरी नखाएको विषले घाँटी मात्र होइन छाती पोलेको छ । न त दिनमा भोक छ न रातमा निद्रा र चैन । एक वर्षयता तनावपूर्ण जिन्दगी बिताइरहेको छु ।

उता मेरो नाममा किर्ते धन्दा चलाउने र राज्यको डेढ अर्बभन्दा बढी रकममा तर मार्ने फटाहा भरत अर्याल अहिले थाइल्याण्डमा बसेर मस्ती गर्दै छ । उसले मजस्ता सोझा अरू कतिको नाममा फर्म खोलेर कर छल्यो होला ? अरू कतिलाई यसरी डुबायो होला ? यस्ता ठग र फटाहालाई किन ल्याउन सकिँदैन कानुनी दायरामा ? केले रोकिरहेको छ ? कसले छेकिरहेको छ ? यता मेरो जिन्दगीमा भने पीडामाथि पीडा थपिएको छ, बुबा प्यारालाइसिस र भाइ अपांग बनेर थलिएको छ । खाएको विष लागे त जसरी पनि सहन सकिन्थ्यो तर नखाएको विष कसरी निल्नु ? म निर्दाेष छु सबै हिसाबबाट । एउटा ‘क्लिन चिट’को खोजीमा छु । त्यसकै लागि संघर्षरत छु । दूधको दूध पानीको पानी छुट्ट्याइयोस्, दोषीलाई कारबाही र निर्दाेषलाई सफाइ दिइयोस् । बस् यति हो, मैले खोजेको पनि । 

– अरबिनकुमार काफ्ले 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

Mega Bank Ltd.
Top