​सबका असरल्ल आ–आफ्ना समस्या


Sunday, 19 Nov, 2017 1:31 PM

वाम गठबन्धनले देशभर कांग्रेसलाई अत्यायो त भनिँदै छ । तर, राजधानीभित्रै ‘गठ’ र ‘बन्धन’ फरक–फरक भइदिँदा विपक्षी गठबन्धन हौसिएको छ । भक्तपुर–१ नेमकिपालाई छाड्ने गरी वाम गठबन्धनको भैँसेपाटी बैठकले १४ गते प्रदेशसभामा एमाले र माओवादी केन्द्रलाई एक–एकको दरले सिट बाँड्ने सहमति ग¥यो । तर, भैँसेपाटीमा उफ्रिन पुगे ।

स्थानीय नेता यसपछि बाध्य भएर नेमकिपाले कहिल्यै नहारेको उक्त क्षेत्रमा उम्मेदवारी कायम त भयो । तर, यसपछि पनि समस्या छ, गठबन्धनमै । त्यहाँ नेमकिपाका प्रेम सुवालविरुद्ध गठबन्धनले माओवादीका मिलन सुवालाई खडा गरेको छ । मिलन अहिले कस्तो अप्ठ्यारोमा परे भने प्रदेशसभा १ मा एमालेका हरिशरण लामिछाने र माओवादीका डिपी ढकालले आ–आफ्नै पार्टीको नाममा नोमिनेशन गरी चुनावमा उत्रिसके । प्रतिनिधिसभाका उम्मेदवार मिलनलाई अप्ठ्यारो, कहिले एमालेकहाँ गएर भाषण गर्छन्, कहिले आफ्नैकहाँ पुगेर । हरिशरण र डिपी दुबै चाँगुनारायणका बासिन्दा । १ नं. क्षेत्रकै प्रदेश २ को समस्याचाहिँ अर्कैखाले । गठबन्धन कार्यदलको निर्णयअनुसार उक्त प्रदेशसभा एमालेको भागमा प¥यो । एमालेले उम्मेदवार पनि तोक्यो, रोमन शिलाकारलाई । तर, उनले नोमिनेशन गरिदिइन् माओवादी केन्द्रको टिकटमा । चुनावी तालमेलका नाममा मिलेर मात्र के गर्नु ! आफ्नो मान्छेलाई अर्काको पार्टीको चुनाव चिह्नमा भोट माग्न कति गाह्रो हुन्छ भन्ने त्यहाँका एमालेहरू अहिले बुझ्दै छन् ।

जीवनराम श्रेष्ठ यसपालि उम्मेदवार नहुने भइयो भन्दै नोमिनेशनको दुई दिनअघिसम्म पनि ओलम्पिक कमिटीकै काममा लागेका थिए । पार्टीको भागमा नपाइने टिकट माग्न कतै गएका पनि थिएनन् । गठबन्धन कार्यदलले काठमाडौंको ६, ८ र १० नम्बर क्षेत्र माओवादीलाई छाड्ने निर्णय लिइसकेपछि १ नं. क्षेत्रबाट सर्वसम्मत निर्णय भएर एमाले काठमाडौंकी इञ्चार्ज सावित्रा भुसालले अभियान थालिसकेकी थिइन् । क्षेत्र नं. ८ माओवादीलाई छाड्नुपर्ने भयो भन्दै अध्यक्ष केपी ओलीले उपाध्यक्ष तथा ३ नं. प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यलाई ‘क्षेत्र नं. ९ मा उठ्ने गरी तयार हुनु, कृष्णगोपालको व्यवस्थापन म गर्छु’ भनेका थिए ।

यही कारण कृष्णगोपाल पनि ‘यसपालि उपत्यकाको चुनाव परिचालन गरेर बस्ने हो’ भन्दै धुम्बाराहीतिर घाम ताप्दै रहे । तर, नोमिनेशनको अघिल्लो दिन आएर टोखा–धापासी हाइटमा कुरा बिग्रियो । महासचिव ईश्वर पोखरेलले उपत्यकाका जिम्मेवार नेताहरूलाई आफू बस्ने कुँवर कोलोनीमा डाके । भित्र छिरेका केही नेता करिब ४५ मिनेटपछि आँशु पुछ्दै बाहिरिए । माओवादीले नयाँ नेतालाई लगेर क्षेत्र नंं ८ मा नवीन्द्रराज जोशीसँग भिडाउनु ‘आत्महत्यासरह’ भन्दै क्षेत्र लिन मानेन । त्यही पनि एमालेले १ नं. छाड्नै मानेन । तर, माओवादीले ‘उसोभए ८ मा हामी नोमिनेशन गर्दैनौँ’ भनिदिएपछि त्यहाँका पुरानै खेलाडी जीवनरामलाई तयार पारियो ।

यसो गर्दा तोकिसकिएकी सावित्रा भुसाल उम्मेदवार हुनबाट वञ्चित भइन् । अष्टलक्ष्मीले केपीले भनेजसरी ९ नं. को प्रतिनिधिसभामा दिनुपर्ने उम्मेदवारी मुख्यमन्त्री बन्नका लागि प्रदेशसभामा दिइन् । यसपछि बाध्य भएर कृष्णगोपाल उम्मेदवार बनेका छन् । माओवादी केन्द्रका महासचिव रामबहादुर थापा (बादल) आउलान् भनी ढुक्क परेका क्षेत्र नंं. १० का एमालेहरू जब हितमान शाक्यको नाम सुन्न थाले, अनि निराश भए । त्यहाँ पनि सुरेन्द्र मानन्धरलाई तयारी गर्नू भन्ने निर्देशन पार्टीका शीर्ष नेताहरूले दिइसकेका छन् । तर, उनी प्रदेशसभाका लागि समानुपातिकतर्फ १ नं. मा परेका कारण थान्को लागे । 

अहिले मिलेजस्तो देखिए पनि ईश्वर पोखरेलको क्षेत्रमा केही समस्या बाँकी नै छन् । उनले आफ्नो क्षेत्रबाट प्रदेशसभाका लागि टिकट दिलाएका नारायण सिलवाल र दीपक निरौला मान्छे राम्रो, पुराना र योग्य हुन्, तर दुबैजना उनकै सचिवालयका परेकाले अर्को गुटमा निराशा बाँकी नै छ । विशेषतः हाँडीगाउँ, टोखातिर समस्या छ । त्यहाँबाट प्रदेशसभाका लागि मनमोहनकी बुहारी शान्ति अधिकारी सिफारिस भएकी थिइन् । उनको नाम काटेर निरौला उम्मेदवार बनाइए । अर्को प्रदेशसभामा हरि अधिकारीको नाम थियो । त्यहाँबाट सिलवाल उठे । छिमेकको क्षेत्र नं. ६ मा पनि लगभग पक्कापक्की भइसकेका प्रदेशसभाका उम्मेदवारको नाम काटेर क्षेत्र नं. ५ (कामपा १, नक्साल) का योगेन्द्र संग्रौला उम्मेदवार बनाइए । प्रदेशसभामा रानीबारीकै एकजना पार्टी नेताले बागी उम्मेदवारी दिएका थिए । फिर्ता लिइसके । ६ नं. मा पनि एमालेकै लब बस्नेतले बागी उम्मेदवारी दिएका थिए । तर, योगेन्द्रका लागि भोट नमाग्ने सर्तमा पछि फिर्ता लिए । क्षेत्र नं. ४ को प्रदेशसभा १ का लागि मीठाराम अधिकारी पनि बागी हाल्न तम्सिएका थिए । तर, आफैँले लगेका प्रस्तावक र समर्थकले बाटोमा पुगेपछि ‘ह्या, यसो गर्नुहुँदैन’ भनिदिँदा एक्लिए । अहिले उम्मेदवारजत्तिकै पार्टी काममा खटिएका छन् ।

मुख्यमन्त्रीको भीड
अहिले एमालेका मुख्यमन्त्री यति निस्किए कि, विद्यमान प्रदेश संख्या दोब्बर थप्दा पनि नपुग्ने † प्रदेश नं. १ का संयोजक भीम आचार्यलाई केपीले प्रतिनिधिसभामा उठ्नुस् भनेका हुन् । तर, प्रदेशसभाका लागि सुनसरी १ को २ बाट उम्मेदवार छन् । शेरधन राईलाई हो, केपीले प्रदेशसभामा उठ्न भनेको । उनी भोजपुरको प्रदेशसभा २ बाट उम्मेदवार छन् । तर, यतिबेला केपी ओलीकै निर्वाचन क्षेत्रको प्रदेशसभामा उठेका अर्का युवा नेता हिक्मत कार्कीसमेत मुख्यमन्त्रीको आकांक्षी भइसकेका छन् । १ नं. प्रदेशमा मधेसीको पनि अधिकार स्थापित हुनुपर्छ भन्दै सुनसरीका जगदिश कुसियैतको पनि दावी कायमै छ ।

सप्तरी जिल्ला कमिटीले प्रतिनिधिसभाका लागि सिफारिस गरेका २ नं. प्रदेश संयोजक केन्द्रबाट निर्णय गराएर प्रदेशसभा १ मा उम्मेदवार बने । उक्त क्षेत्रमा जिल्लाबाट सिफारिस भएका प्रकाश खतिवडा पनि उम्मेदवार छन् । एक्लै उठेको भए स्थानीय निर्वाचनको परिणामका आधारमा जित्ने सम्भावना रहेको उक्त क्षेत्रमा बागी झेल्नुपर्दा सत्यनारायण मण्डलको अवस्था अनिश्चित बनेको छ । त्यस्तै समस्यामा १ नं. का संयोजक भीम आचार्य पनि छन् । तालमेलमा माओवादीलाई छाड्ने गरी सहमति नै नभएको सुनसरी २ मा रेवती भण्डारीलाई सिध्याउनकै लागि उनले उक्त क्षेत्र माओवादीलाई छाडिदिने प्रस्ताव गरेको आरोप लागेको छ । भीमचाहिँ रेवतीको गाउँ भरौलसहितको प्रदेशसभामा उम्मेदवार छन् । एकथरी एमालेहरू भीम हराउन निकै सक्रिय छन् । 

यता, सबभन्दा धेरै मुख्यमन्त्री ३ नं. प्रदेशमा निस्किएका छन् । अष्टलक्ष्मी पार्टीको प्रदेश प्रमुख दावी हुने नै भयो । काठमाडौं १ को प्रदेशसभा १ का सानु श्रेष्ठ, काठमाडौं ६ को २ मा केशव स्थापित, धादिङका राजेन्द्र पाण्डे, दोलखाका पशुपति चौलागाईं, रामेछापका कैलाश ढुंगेल, सिन्धुलीका पार्टी अध्यक्ष प्रदीप कटुवालसम्मले मुख्यमन्त्री दाबी गरिरहेका छन् । प्रदेश नं. ४ का पार्टी प्रमुख किरण गुरुङ यसै पनि दावेदार । उनी तनहुँबाट उम्मेदवार छन् । लमजुङबाट प्रदेशसभाका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ पनि भावी मुख्यमन्त्रीका रुपमा प्रचारित छन् । प्रदेश ५ मा मुख्यमन्त्रीको त्यति ठूलो रोइलो छैन । प्रदेश ६ मा केपी ओली र प्रचण्डले मुख्यमन्त्री बनाउने सहमति गरेरै शंकर पोखरेललाई दाङबाट प्रदेशसभामा उठाएको भन्ने नाममा अरूले मुख खोलेका छैनन् । तर, प्रदेश नं. ६ थरुहट क्षेत्र भएकाले शंकरलाई अप्ठेरो रहेको एमालेहरू नै बताउँछन् । ७ नं. प्रदेश पनि मुख्यमन्त्रीका मामिलामा केही शान्त देखिएको छ ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

Mega Bank Ltd.
Top