​भाञ्जाद्वारा राष्ट्रको ढुकुटी भसक्कै


Sunday, 19 Nov, 2017 1:26 PM

नेपालमा २४० वर्ष पुरानो राजतन्त्र ढल्यो । ज्ञानेन्द्र नारायणहिटी राजदरबारबाट हाँसीखुशी निकालावास भए । त्यसपछि निजी निर्मल निवासमा गएर बस्न बाध्य भए । उनीलगायत राजसंस्थासँग सम्बन्धित व्यक्तिको नाममा रहेको सम्पत्ति सरकार अर्थात् नेपाल ट्रष्ट मातहतमा आयो । राजा भएबापत उनले उपभोग गरेको दरबार र हाल उनी कहिलेकाहीँ गएर बस्ने नागार्जुन पनि नेपाल सरकारकै मातहतमा छ । ११ हजार रोपनी जमिन सरकारको नाममा फर्किसकेको छ । तर, कुनै एउटा ठाउँको मानार्थ राजा भएको नाताले प्राप्त भई ज्ञानेन्द्रको भाञ्जाले उपभोग गरिरहेको घरजग्गाचाहिँ यसबीच गुपचुप बिक्री गरिएको छ । 

करिब–करिब ३२ करोडको लागतमा महाराजगन्जतिरको झण्डै–झण्डै पाँच रोपनी जग्गा यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पाले फुत्काएका छन् । सबैलाई थाहा छ, पहिला पहिला विभिन्न ठाउँमा राणा महाराजाहरूले आफ्ना छोरी चेली दिएका हुन्थे । त्यसक्रममा त्यहाँका ज्वाइँहरूलाई छोटे राजाको उपाधि दिइन्थ्यो । यसक्रममा बझाङका राजा रामजंग सिंहको ०३८ सालमा निधन भयो । निजको एक मात्र छोरो ओमजंगबहादुर सिंह पनि नेपाली कांग्रेसमा लागेर ०१९ सालमै राजतन्त्रविरुद्ध काम गरेको अभियोगमा चितवनतिर जिउँदै गाडिएपछि राजाको सम्पत्ति सम्हाल्ने कोही रहेनन् । ओमजंगकी कान्छी श्रीमती ईश्वरीदेवी सिंह र छोरी शंकरीदेवी जीवितै त रहे तर कांग्रेसका अरु नेतासरह नै भारततिर प्रवासमा जान बाध्य भए । रामजंगकी जेठी पत्नी सत्यदेवीको पहिल्यै देहावसान भइसकेको थियो । 

०४६ पछि स्वदेश फर्किएर ईश्वरीदेवी र शंकरीदेवीले आफ्नो सम्पत्ति खोजी गरे । यस क्रममा ०५३ साल कात्तिक २० गते के भेटियो भने रामजंगबहादुर सिंहले जयपृथ्वीबहादुर सिंहकै पालादेखि राजा बस्ने गरेको नक्सालस्थित घर बेचेर आएको पैसाले अर्को घर बनाउन पाऊँ, त्यो घर जो बझाङे राजा हुन्छ, उसैले भोगचलनसम्म गर्ने हो, त्यसलाई बन्धक राख्न वा बेचविखन गर्ने होइन भन्ने व्यहोरामा २००१ सालमै रजिष्ट्रेसन पास गराएका रहेछन् । शुरुको बझाङे राजा राजदेवी जंगबहादुर सिंह र उनको जेठो छोरा रामजंगबहादुर सिंह रहेछन् भन्ने पनि थाहा भयो । रामजंगको राजाको सेवा–सुविधा खोसिएर प्रवासमा बसेकै बेला ०३८ सालमा निधन भएको थियो । 

वि.सं. २००१ साल वैशाख १ गतेको लिखित पासमा स्पष्ट के देखिन्छ भने सो भवनमा जो बझाङे राजा हुन्छ, ऊ बस्न पाउने तर त्यो कसैको निजी सम्पत्तिको रूपमा भने नरहने । ०४३ साल भदौ २२ गते मालपोत कार्यालय काठमाडौंले ‘राजाले मात्र बस्न पाउने, बेच्न नपाउने’ भन्ने स्पष्ट पा¥यो । बझाङे राजा बस्ने नक्सालको घर अपायकको भएकाले बिक्री गर्न पाऊँ भनेर चढाएको निवेदन ०१ सालमा हुकुम प्रमांगीबाट सदर भएपछि सोही साल वैशाख १८ मा महाराजगञ्जको घर बझाङे राजाले भोगचलन मात्र गर्न पाउने लिखतको व्यहोराका साथ पास गरिएको हो । (कामनपा वडा नं. २२ (ज) कित्ता नम्बर ११३ को तीन रोपनी आठ आना र कि.नं. ११४ को एक रोपनी चार आना) । सर्वोच्च अदालतको पूर्ण इजलासबाट ०३३ साल चैत ११ गते पनि ‘जो राजा हुन्छ, उसले राजा रहुञ्जेलसम्म मात्र बस्न पाउने देखिन आउँछ । त्यस्तो राजा भएसम्म मात्र बस्न पाउने घर कुनै राजाले बेच्न वा दानबन्धकी दिन पाउने अधिकार उक्त राजीनामाले दिएको छैन । भूतपूर्व राजा रामसिंह उक्त घरमा राजा रहुञ्जेलसम्म मात्र बस्न पाउने हो । बन्धकी दिन पाउने होइन’ भन्ने फैसला भएको देखिन्छ । हाल सर्वोच्चमा रहेका न्यायाधीश डम्बरबहादुर शाही, जसले नेसनल मेडिकल कलेजको पक्षमा अन्तरिम आदेश दिए, ले ०५६ साल चैत २ गते काठमाडौं जिल्ला अदालतको अतिरिक्त न्यायाधीशको हैसियतमा यो मुद्दामा फैसला गरेका रहेछन् । 

ज्ञानेन्द्रबहादुर कार्की र कृष्णबहादुर श्रेष्ठ ललितपुर पुनरावेदनमा न्यायाधीश रहेको बेला दरबार हत्याकाण्डलगत्तै ०६० साल माघ ५ गते सोमबार पनि यसबारे एउटा फैसला भएको छ । सो फैसलामा पनि ‘०३३ सालको सर्वोच्चको फैसलाको आधारमा घोषित बझाङे राजाले मात्र यो घरजग्गा भोगचलन गर्न पाउने र विवादित जग्गा बझाङे राजा विनोदविक्रमले नामसारी गरेको ठीकै छ भन्ने जिल्ला अदालतको आदेशलाई सदर गरेको छ । तर, विनोदविक्रमचाहिँ रामजंग, ओमजंग ठाडै सन्तान होइनन् । कमलादीस्थित ज्ञानेन्द्रकी दिदी, जो दरबार हत्याकाण्डमा मारिइन्, उनको शान्तिकुञ्जका मालिक अर्थात् ज्ञानेन्द्रका भाञ्जा हुन्, विनोद । भाञ्जाले यताउता गरेर ‘म नै हकदार हुँ’ भनी सो जमिन अपुतालीबापत हुकुमप्रमांगीबाट फुत्काएर लिएका हुन् । बरु, त्रिविका पूर्वभिसी तथा थाइल्याण्डमा राजदूत रहिसकेका नवीनप्रकाशजंग शाहचाहिँ रामजंग सिंहतर्फका सन्तान हुन् । 

०६२ सालको जनआन्दोलनले राजतन्त्र नै ढलिसकेपछि राजाको हैसियतमा उनीहरूले भोगचलन गरेको सम्पत्ति त सरकारी भयो भने मूल राजाहरूले उपाधिसरह दिएको छोटेराजाको पद्वी र सो पद्वीका आधारमा प्राप्त सुविधाचाहिँ सरकारी नहुने कुरै भएन । यसरी हेर्दा सो सीधै सरकारका नाममा जानुपर्ने हो, तर त्यसरी राजाले समेत राजा रहुञ्जेल मात्र भोगचलन गर्न पाउने, निश्चित अवधि र शर्तका आधारमा भोगाधिकार कायम गरिएको यस्तो सम्पत्ति सट्याकसुटुक बेचेर ३२ करोड विनोदले कसरी कुम्ल्याउन पाए ? यो सम्पत्ति स्वतः सरकारको, अर्थात् नेपाल ट्रष्टको नाममा आउनुपर्ने हो कि होइन ? दलहरू यस्तो घटनालाई कसरी हेरिरहेछन् ? प्रधानमन्त्री शेरबहादुर देउवाका त यिनीहरू नातेदार भइगए । तर, कम्युनिष्टहरू यसबारेमा किन बोल्दैनन् ? के त्यसमध्ये केही करोड चुनाव खर्च छुट्टिएको हो ?


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

Mega Bank Ltd.
Top