छुट्छ कि त पिरती, तोरी फुल्ने बेलामा


Sunday, 19 Nov, 2017 1:23 PM

  • रामकुमार एलन

कम्युनिष्ट पार्टीले ल्याउने कार्यक्रम तत्काल लोकप्रिय नहुन पनि सक्छ । त्यति मात्र होइन, पार्टीमा सत्तापक्ष भनिएकाले पार्टीकै अर्को पक्षमाथि सत्तापक्षको माउनेतृत्वको नाममा गरिरहेको ताडनाले पनि संगठनमा असन्तुष्टि आउँदा कैयौँ लोकप्रिय कार्यक्रमका घोषणा मिथ्या हुन सक्छ । केपी ओली प्रधानमन्त्री हुँदा उनले देखेका सपना नाजायज थिएनन् ।

तर, एमाले पंक्तिभित्रैबाट त्यस्ता कार्यक्रमको खिल्ली उडाइयो अनि सत्तापक्षको स्वादमा रमाइरहेको कोटरीभित्रका केही बुद्धिजीवी, पार्टी नेता र लेखक–पत्रकारले पनि ओलीको ‘स्वादिलो सपना’ लाई फेसबुक स्ट्याटस र लाइभ, सेयरमा बिताए । जनतामा लोकप्रिय बन्न सक्ने सपना बेच्ने यत्न गरेनन् । आज त्यही सपनाको पेरिफेरिमा वाम गठबन्धन बनेको छ । यो सपना तुहाउने काममा पूर्वपञ्चको ढाडमा टेकेर प्रमुख पार्टी, सत्तागठबन्धनको नेतृत्वमा रहेको सत्तारुढ शक्ति नेपाली कांग्रेस नै होमिएको छ मैदानमा भने ‘साना कम्युनिष्ट’ ले पनि वाम गठबन्धनलाई ‘दाम गठबन्धन’ भन्दै हिजो युद्धका बेला सँगै हिँडेका साथीमाथि बम हानेर ‘जनयुद्ध जारी छ’ भनिरहेका छन् । 

सन् १९६० मा चीनमा यस्तै भएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीका कार्यक्रम लोकप्रिय बन्न नसक्दा पार्टीले उचाइ लिन नसकेको आभाष जनतालाई मात्र होइन, पार्टी नेतृत्वलाई पनि भयो । अध्यक्ष माओले केही महत्वाकांक्षी कार्यक्रम घोषणा गरे । समाजवादमा छलाङ मार्ने सम्भावनाको पुलिन्दा थियो त्यो घोषणा । तर, पोलिटब्युरोमै अध्यक्ष माओ अल्पमतमा हुत्तिए । युवा संगठन योङ कम्युनिस्ट लिग र जनमुक्ति सेनाको सहयोगमा पार्टी हेडक्वाटरमै बमवर्षा, अर्थात् सांस्कृतिक क्रान्तिसम्म घोषणा भयो । तल्लो संरचनासम्म यो जनकारबाहीले यस्तो नराम्रो नतिजा निकाल्यो कि केही वर्षमै लोकप्रिय कार्यक्रम र जनकारबाही अभियान असफल भयो । फेरि नयाँ शीराबाट पार्टी चलाउने काममा सबै एकठ्ठा हुन बाध्य भए । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्रममा यसपटक यस्तै प्रकृतिको कारबाहीको सिकार धेरै नेता बनाइएका छन् । एमालेको ६० र माओवादीको ४० प्रतिशतको भकारीमा पार्टीबाट सर्वसम्मत सिफारिसको टिकट खोसिनु र सिफारिसमा नपरेकाले नेताको निजी चाहनामा टिकट पाउनु एकखालको सांस्कृतिक कारबाहीजस्तै भएको छ । हिजोसम्म ६० प्रतिशत जनता एमालेका पक्षमा छन् भन्दै हिँडेका एमालेका नेता माओवादीको ४० प्रतिशत पनि थपिएपछि शतप्रतिशत नतिजा आउने कुरा छाडेर कतै एमालेले माओवादीलाई भोट पो नहाल्ने हो कि, माओवादीले पनि हालिदिएनन् भने त सकिन्छौँ कि भन्ने भयमा छन् । यद्यपि, बाहिर कुरा आइसकेको छैन । मतदाता अस्थिर छन् । बोकाउने बन्दुक, लडाउने युद्ध अनि भन्ने सुकुम्बासीलाई घर र बेरोजगारीलाई जागिर । यो समाजवाद हो कि पँुजीवाद ? अहिलेका मतदाता यस्तै वैमनस्यता, विरक्ति र सांस्कृतिक कारबाहीको रिस कतै पञ्चायती स्वादको लोकतान्त्रिक गठबन्धनमा त मलजल हुँदै छैन ? ठूलो बन्ने सपना बोकेका पार्टीका नेतागणले यस्ता साना विषयमा घोत्लिन पाएका छैनन् होला सायद । 

संयुक्त घोषणापत्रमा क्रान्तिकारी लाभा बालिएको छ । तर, स्वास्थ्य, शिक्षा, सञ्चारलगायत जनताका आधारभूत आवश्यकताका क्षेत्रमा अतिरिक्त मूल्य सञ्चित गर्ने नेता हाबी भएका छन् । र, यो दुई दशक त के, दुई महिनाअघिसम्म एकअर्का सँगै बसेर चोकमा चिया पिउन नसक्ने कैयौँ अनुहार अहिले ठूला नेता आउँदा गठबन्धनको सभामा त उपस्थित छन् । निर्वाचनका बेला उनीहरूले हिजोको विरक्ति, वैमनश्यता, अवसरमा एकलौटीपना, अल्पमतलाई रगत छाद्ने गरी ह्याकुल्लामा बजारिएको जोरलात्ती र जोरलात्ती बजार्नेहरू कारबाहीमा नपरेका विषय मतदानमा जानुअघि उग्रेर आयो भने कस्तो होला अवस्था ? समाज एकीकरण र पुनर्एकीकरण सहज विषय होइन । शान्तिको खेतीपातीका पाठ्यक्रम पढाउने पश्चिमाले नसकेको काम सक्ला वाम गठबन्धनले ?

२०७० को निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले देशदौडाहा गर्दा माओवादीको दुईतिहाइ घोषणा हुन मात्र बाँकी देखिन्थ्यो । कार्यकर्ता प्रवेशसँगै टीका लगाउन नभ्याएर उनले राजमार्गमा अबिर फ्याँकेर हिँडेका थिए तर निर्वाचनको परिणाम त बाघका ठाउँमा बिरालो देखियो । कैयौँ स्थानमा एमाले थोरै मतले पराजित भएको थियो । त्यस्ता स्थानमा यसपटक गठबन्धनले गरेको गठजोड कतै सतही भएर नेताहरूलाई जिल्ला नेताले गलत रिपोर्टिङ त गरिरहेका छैनन् ? पार्टीले भन्दा आफ्ना गुटले गरेको रिपोर्टिङ पत्याउने संस्कार बनाएका नेताले साँच्चै गणितीय जोडघटाउलाई नजिकबाट नियालेका छन् कि छैनन् ? मतदाता शिक्षा कति प्रभावकारी छ । स्थानीय तह निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाजस्तो स्थानमा भएको मतदानमा यति धेरै मत बदर भएको थियो कि, बदर नहुने गरी मतदान गराउन मतदाता शिक्षामा निर्वाचन आयोग, पश्चिमाको पैसामा भइरहेको नागरिक समाजको कारोबार र दलहरू अक्षम देखिएका थिए ।

फेरि पनि राजनीतिमा सुशासन, प्रणाली, जनमुखी अभ्यास गराउने काममा एमाले र माओवादीको सपना देशभित्रैको वैज्ञानिक अंकुरण हो भन्ने आभाष जनतामा गराउने बेला हो । यो उत्तरको चाहनामा पश्चिमले गराइदिएको अनि दक्षिणलाई पश्चिमले पनि थाहा नदिएकाले धेरै टिक्दैन भन्ने प्रायोजित हल्ला पश्चिमाकै बलमा भइरहेको छ । पश्चिमे हावाले नेपाली राजनीति विकृत पार्ने काम कसलाई मन पर्ने नपर्ने भन्दा नेपाली माटो सुहाउँदो राजनीति र भूगोलमा विकास हुने जनमुखी र समाजवादी कार्यक्रम अहिलेको आवश्यकता हो । 

एमालेले मनमोहन अधिकारी, माधवकुमार नेपाल, केपी ओली सरकारका पालामा ल्याएका र गरेका लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिँदै अब कोही असन्तुष्ट बनेर नेत्रविक्रम चन्दको सपनामा रत्तिँदै नजाउन् र पूर्वपञ्चहरूको तीन वटा पार्टीले घोषणापत्रमै हाकाहाकी संवैधानिक राजतन्त्र र हिन्दु पहिचानको कुरा उठाइरहँदा विप्लवछाप बम र ग्रिनेड चैँ माओवादी र एमालेजनको टाउकोमा निशाना नबनून् भन्नेतर्फ दुई दलका नेताहरूले ध्यान दिएका दिन पक्कै कम्युनिष्ट मतलाई कसैले पराजित गर्न नसक्लान् । नत्र यो राजनीतिक सहयात्रा फूलमा माहुरी डुल्ने बेलाको जस्तो पर्न सक्छ । कुनै पनि बेला ‘युटर्न’ हुनसक्ने क्षमताले ओतप्रोत भएका नेताको लक्षणबारे जनता जानकार छन् । छुट्न सक्छ नि उही लोकगीतमा गाएजस्तै कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा । 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

Mega Bank Ltd.
Top