​चुनावी चटारो, केही कुरा बुझ्नै गाह्रो


Sunday, 19 Nov, 2017 11:38 AM

अहिले चुनाव जित्न दलहरूले अनेकौं तिकडम गरेका छन् । तालमेल छ, गठबन्धनहरू बनेका छन् । यो बाध्यता पनि हो किनकि ०६३ सालमा कसैको एजेण्डामा नभएका संघीयता, धर्म निरपेक्षतालाई जबर्जस्ती अन्तरिम संविधानमार्फत थोपरिएको कारण अहिले मुलुकले जे समस्या भोगिरहेको छ, त्यसलाई ट्र्याकमा ल्याउन पनि यो जरुरी थियो । 

थ्रेसहोल्डको प्रावधानमार्फत साना पार्टीलाई निषेध गर्ने उपाय निकालियो भने ठूला पार्टीहरू पनि आपसी तिक्तता मेटाएर सहकार्य हुनसक्ने दलसँग प्राकृतिक र स्वाभाविक गठबन्धन बनाउनतिर लागे । त्यसो त तालमेलअघिकै अवस्थाको आधारमा प्रक्षेपण गर्दा पनि एमाले सबैभन्दा ठूलो दल बन्ने पक्का भयो । तर, अहिले त उसले जम्मा उम्मेदवारी नै ९९ सिटमा मात्र दिएको छ । त्यसमा पनि आफूले पाएका सिटहरू हृदयेश त्रिपाठी, वृजेशकुमार गुप्तालगायतलाई बाँडेको छ । 

उता, जसको भरमा एमालेले आफ्ना सबै सम्भावनालाई तिलाञ्जली दिएको छ, उनै प्रचण्डलाई चाहिँ कांग्रेसका मान्छेहरूले रातदिन भेटेर आगामी प्रधानमन्त्रीका रूपमा चारो हालेका हाल्यै छन् । परिवारबाट समेत लगातार घेराबन्दी गरेर उनको मस्तिष्कमा रहेको प्रधानमन्त्री पदको सुषुप्त चाहनालाई जागृत गराउने काम भइरहेको छ । झापामा पाँचवटै सिट जित्ने एमाले खुम्चिएर तीन सिटमा सीमित भएको छ । कांग्रेसले जित्न गाह्रो पर्ने भोजपुर, लमजुङ पनि माओवादीलाई जिम्मा लगाएको छ । अर्घाखाँची, प्युठान, भक्तपुर वाम तालमेलका नाममा अरूलाई दिन एमालेले कञ्जुस्याइँ गरेको छैन । जाजरकोट, कालिकोट, जुम्ला आदि सबै अरूलाई दिएको हिसाबकिताब भोलि हुन्छ वा हुँदैन भन्ने प्रश्न पनि आफ्नै ठाउँमा छ । 

यसबीच अकस्मात दमन ढुंगानालाई किन चुनावमा अघि सारियो ? स्पष्ट रूपमा बुझ्न सकिन्छ कि त्यहाँभित्र ठूलो खेल छ । कांग्रेसले भोलि जित्ने अवस्थामा त आफैं प्रधानमन्त्री बन्न देउवा अघि सर्ने नै भए तर अन्यथा भयो भने विगतमा रामचन्द्र पौडेललाई १७ पटकसम्म प्रधानमन्त्रीको चुनाव लडाएझैं जोकर बनाउन अर्को पात्र तयार गरिएको त होइन भन्ने प्रश्न पनि गर्न थालिएको छ । सभामुखको रूपमा पनि उनलाई फेरि मैदानमा निकाल्ने योजना रहेको समेत बताइन्छ । उनलाई सधैं संशयपूर्ण नजरले किन हेरिन्छ भने भारतले हेपाइपूर्ण र अमानवीय ढंगले नाकाबन्दी लगाउँदा त्यसको समर्थन गर्ने व्यक्ति उनै थिएन । मानवअधिकारवादी र नागरिक समाजको अगुवा त भनेकै छन् । शान्तिवार्ताको मध्यस्थकर्ता पनि मानिन्छन् । तर, फेरि पनि प्रश्न यो हो कि राष्ट्रिय राजनीतिबाट रिङआउट भइसकेका उनी फेरि एकाएक कसरी र कुन उद्देश्यसाथ सक्रिय भएका होलान् ? विगतमा खिलराजको ठाउँमा उनैलाई ल्याउन खोजिएकै थियो । तर, सुशील कोइराला स्वयंले नमानेकै कारणले हो त्यो अवसर नपाएको । 

दमनको नाम सुन्नेबित्तिकै बाबुराम भट्टराईले बरु देवेन्द्रराज पाण्डे हुन्छ तर दमन हुँदैन भनेका थिए । कतिपयले ‘सुशीललाई दिऊँ’ भन्दा बाबुरामले ‘दलका नेता नै हुने भए त म छँदै छु नि !’ भनेर मानेका थिएनन् । देवेन्द्रराजलाई चाहिँ झलनाथ खनालले अस्वीकार गरेको बताइन्छ । अनि बल्ल सबैको रोजाइमा परेका हुन्– खिलराज रेग्मी ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

Mega Bank Ltd.
Top