​छरपष्ट छन्, लेनिनका छनकहरु


Sunday, 5 Nov, 2017 2:16 PM

  • लक्ष्मण देवकोटा

बुटवलबाट पहाडको बाटो नखनिँदै पैदलै सामल–तुमल किन्न बुटवल झर्नुपथ्र्यो । घ्यू, सुठोलगायत बेच्न मिल्ने जिनिस लगेर नुनतेलको जोहो गर्नेहरू पहाडतिर टाठै छन् । कोही तराई झरे । पहाडबाट झर्नेहरूले हाटका बेपारी बानियाँसँग भाउमा रस्साकस्सी गर्नुपथ्र्यो । सस्तो खोज्ने बानियाँ, चिल्लोचाप्लो धसेर, घुर्की देखाएर भए पनि सामान खरिद गर्ने उसको दाउ । सकेसम्म नमिलेपछि बानियाँका लोग्नेस्वास्नीको झगडा शुरु हुन्छ । यस्तो महँगो सुठो किनेर कसरी बेच्ने ? परेको छैन किन्न । स्वास्नी फन्किन्छे । यो घरको मूली तँ कि म ? मैले लिने भनेपछि सकियो । आइमाई भएर जान्ने हुने । लोग्ने कराउँछ । स्वास्नी जाइलाग्छे । पाखुरा सुर्किँदै । धार्नी जोख्दै गरेको तुलोको ढकले स्वास्नीलाई झटारो हान्छ बानियाँले भित्र । भित्रबाट फेरी बदलामा ढक आउँछ । चर्काचर्कीपछि मोलतोल मिलेर किनमेल हुन्छ । 

पहाडबाट गएको सोझो मान्छेलाई पत्तै हुन्न, भित्रबाट स्वास्नीले हानेको झटारोको ढक पहिलेको भन्दा कम तौलको थियो भन्ने कुरा । पूर्वी पाल्पातिर एक्काइस सालतिरका बटौलीका बानियाँहरू चर्चा हुँदा यो किस्सा निकै सुन्न पाइन्छ अझै पनि । अक्टोबर क्रान्तिको सय वर्षको विचार विमर्शमा संसारको बौद्धिक जमात होमिएका बेला नेपालको कम्युनिष्ट आन्दोलन मलाई यिनै बानियाँका जोडिको कथा जस्तो लाग्न थालेको छ । माक्र्स र लेनिनका शब्दहरू बुझ्दा बुझ्दै, तिनका शास्त्रीय लय र संगतीमा होमिँदा होमिँदै मान्छे तिलचामले भइसकेको हुन्छ । रौँ झरेर तालुखुइले भइसकेको हुन्छ, त्यही लेनिनवादको बेपारमा लागेको बानियाँ प्रधानमन्त्री भइसकेको हुन्छ । लखनी चप्पल लगाएर काठमाण्डू छिरेकाहरू मालिक भइसकेको हुन्छ, न्युरोडमा ठेला तान्नेको गति झन् दुरुह बन्दै गइरहेको हुन्छ । कुन दिन कसले बन्द भनिदिने हो, उसको मुखमा माड नलाग्न पनि सक्छ । स्कुलको गृहकार्य छाडीछाडी देवासुर संग्राम, गोलघरको सन्देश, भूतप्रेतको कथा पढियो, अन्ततः मोदनाथ प्रश्रित आफैंले बालेको राँको निभाएर उल्टो फर्किए । कम्युनिष्ट पार्टीको जरैबाट लागेका मोहनविक्रम सिंह अझै पनि अर्ध भूमिगत छन् । 

पत्रपत्रिकाको लेखले क्रान्ति हुने भए उहिल्यै भइसक्थ्यो । व्यक्तिगत जीवन अक्सर कोट्याइन्न तर अगुवाहरूको व्यक्तिगत जीवनप्रति धेरैको चासो हुने गर्छ । सम्पन्न परिवार भित्रका यी क्रान्तिकारी सिंहको जीवन उतिसारो अप्ठेरोमा बितेको जस्तो देखिन्न । अघिल्लो दिनसम्म एमाले भेटे माओवादीले नछाड्ने, माओवादी भेटे एमालेले नछाड्ने स्थिति थियो । पानी बाराबार थियो यिनको । रातारात दुवैको मिल्ती भएर गजब बाम एकताको दृष्य पर्दामा देखिन आएको छ । यो चमत्कार हुनै थियो त त्यत्रा मान्छेलाई किन बलिबेदीमा चढाए प्रचण्ड बाबुरामले यो पनि बुझिनसक्नु नै छ । अहिले हाटहुट र कम्युनिष्ट पार्टीको आवरणमा अघिल्लो पँक्तिमा देखिएको एमाले पूर्णतः संसदीय अभ्यासमा पोख्त शक्ति भएको छ । जनताको बहुदलीय जनवाद, माक्र्सवाद, लेनिनवादका पोथ्राहरूको व्यापार गजब फापेको छ एमालेलाई । त्यहाँ ठेकेदारदेखि डनसम्म सबै अटाउन सक्ने माहौल भइसकेको छ । प्रचण्ड नै मिसिएपछि त कुरै सकियो । सँसदीय अभ्यासमा पोख्त कांग्रेस दुबोजस्तै हो । तिनै पुराना दुबोले अड्याएका छन् कांग्रेसलाई । कांग्रेसको न कुनै वाद छ, न कुनै सिद्धान्त छ । यति भन्न ०४६ सालपछिको कांग्रेस सरकार र उसका निर्णय सर्सती हेरे पुग्छ । 

भृकुटी कागज कारखाना, जनकपुर चुरोट, बाँसबारी छाला, हेटौंडाको सिमेन्ट कारखाना सर्लक्कै निल्ने कांग्रेस नै हो । उदार अर्थनीति र स्वच्छन्द पँुजीवादको गणितीय चक्रमा बिपीको नाम भजाउँदै र समाजवादको बाँसुरी बजाउँदै गुटउपगुटको किचलोमा कांग्रेस सत्ता स्वार्थमा निर्लिप्त छ । गरिबीको चपेटामा रुमल्लिएको बस्तीमा माक्र्सवाद लेनिनवादको नारा खुब बिकाउ छ । अहिले बजारमा अलिकति मन्दी आएको छ । वैश्विक चेत, रेमिट्यान्सको बढ्दो चलखेलले गाउँघरमा आत्मनिर्भर हुने जमर्को, शैक्षिक स्तर र चेतनाको विकासले अब जनयुद्ध भन्दा अघिको समाज छैन । अब मान्छेले प्रश्न गर्छ । हाकाहाकी कुरा गर्छ । समयअनुसार अब लेनिनवादको पनि परिमार्जन भइरहेको देख्न सकिन्छ । रातारातको वैचारिक छलाङ यसको उदाहरण हो । अवसरवादलाई लेनिनवादको जामा लगाइदिएर राजनीतिमा जे पनि सम्भव हुन्छ भन्नु वैचारिक फट्याइँ हो । त्यही हुनाले हामीकहाँ रसायनै नमिल्लान्जस्ता शक्ति भरतपुरमा पुगेर अँगालो हालेको पनि देखिन्छ । 

जनजीविका र समाजको आर्थिक विकासका निम्ति बृहत् वाम एकताको भजन गाएर अचानक विचित्रको सन्देश दिएको पनि देख्न पाइन्छ । अवसर नमिले यो हल्लाखोर पनि फेरि अर्को आश्चर्यले मोडिदिए अचम्म मान्नुपर्दैन । वास्तवमा जनताको नेतृत्वमा क्रान्ति हुनको निम्ति लेनिनवादले देखाएको पथप्रदर्शक सिद्धान्त अत्यन्तै उपयोगी हो । समाजमा छरिएर रहेको ऊर्जालाई एकतृत गरेर शक्ति निर्माण गर्ने वैज्ञानिक पद्धति हो लेनिनवाद । तर, हामीकहाँ झापा आन्दोलनदेखि अहिलेसम्म आइपुग्दा सुनिएको लेनिनवादलाई आफैँ मोटाउने बानियाँगिरी बनाएको मात्र देखिएको छ । दिन दुगुना रात चौगुनाको गतिमा बढिरहेको यो बानियाँगिरी कहाँ पुगेर रोकिने हो यसै भन्न सकिन्न । 

– मदनपोखरा, पाल्पा


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

Mega Bank Ltd.
Top