​महापुरुषका दुःखी मन


Sunday, 5 Nov, 2017 2:08 PM

  • राजेन्द्र स्थापित

ग्रिक दार्शनिक सुकरात पश्चिमी दर्शनशास्त्रको जन्मदातामध्येका एक हुन् । जन्म ४६९ इशापूर्वमा भएको हो । तŒवज्ञानी थिए र सधैं सत्यको खोजीमा लागिरहन्थे । जीवनको महत्वपूर्ण समय ग्रिकवासीलाई जागरुक बनाउनमा खर्चे । साहस र दृढताले जीवन गुजारे । कठिन समयमा पनि विचलित हुँदैनथे किनकि मानव जीवनमा केही पनि स्थायी छैन भन्ने थाहा थियो । नाम र दाम कमाउने मोह कहिल्यै राखेनन् । उनी भन्थे, ‘जो मनुष्य कमभन्दा कम प्राप्तिमा सन्तुष्ट हुन जानेका छन्, उही सबैभन्दा धनवान हुन् । किनकि सन्तुष्टि नै सबैभन्दा ठूलो सम्पत्ति हो ।’

सुकरातलाई विश्वले आजसम्मकै सबैभन्दा बुद्धिमान व्यक्ति मान्छ । अफलातुन र अलेक्ज्याण्डर महान् जस्ताका गुरु हुन् । महान् दार्शनिक भए पनि उनको दाम्पत्य जीवन अत्यन्त दुःखद् थियो । कोमल स्वभावका थिए । तर, पत्नी जान्थिप छुच्चो स्वभावकी थिइन् । पतिलाई नारकीय यातना दिन्थिन् । अचम्म खालको स्वभाव थियो । भौतिक सुख दिन तत्पर नहुने र सम्पूर्ण समय शिष्यहरुसित बसेर दर्शनको व्याख्या गर्दै हिँड्ने सुकरातको बानीप्रति घृणा गर्थिन् । लोग्नेको दिनचर्या र व्याख्यानलाई मूर्खतापूर्ण ठान्थिन् । उमेरले ४० वर्ष कान्छी जान्थिप रिसाएर लोग्नेमाथि गाली गर्थिन्, छूद्र बचन बोल्थिन् तर सुकरात उनीप्रति कुनै ध्यानै दिँदैनथे । जान्थिप चाहन्थिन्, लोग्ने उनीसित बहस गरुन्, झगडा गरुन् । सुकरात भने पत्नीको सबै गाली, वचन एउटा कानले सुन्थे र अर्को कानबाट निकाल्थे । आफूले जतिसुकै नमीठो वचन बोल्दा पनि चुप लागेर बस्ने लोग्नेको अनौठो बानी देखेर निराश बनिन् । के गर्दा लोग्ने आफूमाथि जाइलाग्लान्् भनी उपाय सोच्न थालिन् । 

एकदिन घरमै शिष्यहरुसँग बसी सुकरात दर्शनको व्याख्या गर्दै थिए । यसबीच जान्थिपले उनलाई बोलाइन् । कुराकानीमा यतिविघ्न मस्त थिए कि पत्नीले बोलाएको चाल नै पाएनन् । पटक–पटक बोलाउँदा पनि वास्ता नगरेपछि गाग्रो उठाइन् र भएभरको पानी सुकरातको टाउकोमा खन्याइदिइन् । जान्थिपको रवैया देखेर त्यहाँ उपस्थित सबैजना खिन्न भए । सुकरातले शिष्यहरुको उदास अनुहार देखेपछि कपाल नभएको तालुमा हात फेर्दै शान्त स्वरमा भने, ‘हेर, मेरी पत्नी कति उदारकी छन्, भयंकर गर्मी भइरहेको शरीरमा पानी खन्याएर मलाई शीतलता प्रदान गर्ने कृपा गरिन् ।’ सबै शिष्यको सामु बेइज्जत गर्दा पनि क्रुद्ध नबनेपछि जान्थिपले हार मानिन् । यसपछिका दिनमा छूद्र वचन बोल्न बन्द गरिन् । उता, सुकरात सत्यको खोजमा लाग्दै गरेको एथेन्स सरकारका लागि पाच्य भएन । पक्राउ गरी मुद्दा चलाइयो । आमनागरिकसँग दर्शनको र सत्यको बहस गर्न छोड्ने हो र चालढाल बदल्ने हो भने माफी दिने प्रस्ताव सरकारले राख्यो तर उनले त्यसो गर्न मानेनन् । बरु वीष पिएर मर्नु उत्तम सम्झे । ७२ वर्षको उमेरमा इशापूर्व ३९९९ मा वीष पिएर मरे । 

अल्बर्ट आइन्स्टाइन आफूले परिकल्पना गरेको सिद्धान्तबारे जताततै बोलिरहन मन पराउँथे । एउटै कुरो दोहो¥याइ तेह¥याइ बोल्थे । त्यो बेला उनले सापेक्षिकताको सिद्धान्त पत्ता लगाइसकेको थिए । यद्यपि उनको यो सिद्धान्त धेरैले बुझ्न सकेका छैनन् । ‘मै हुँ’ भन्ने भौतिकशास्त्री तथा गणितज्ञ उक्त सिद्धान्त बुझ्ने प्रयासमा थिए तर सकिरहेका थिएनन् । उनीहरुको शंका निवारण गर्न र आफूले पत्ता लगाएको सिद्धान्तबारे बुझाउन उनलाई बारम्बार शिक्षाविद्हरुको केन्द्रमा जानु परिरहेको थियो । उनी त्यहाँ उक्त विषयमा प्रवचन दिन्थे । स्पष्टीकरण दिन एउटा हैन, धेरै विश्वविद्यालय धाए । अनुसन्धान केन्द्र गए । उनी जता गए, त्यता शिक्षाविद्हरुको ठूलो समूह भेटे । उनीहरुले आइन्स्टाइनको कुरो ध्यान दिएर सुन्थे । कतिपय प्रतिभाशालीले उनको सिद्धान्तप्रति आपत्ति जनाउँथे, प्रश्न र स्पष्टीकरण सोधेर हैरान पार्थे । आइन्स्टाइन आफ्नो सिद्धान्तप्रति जिज्ञासा बढ्दै गएकोमा प्रशन्न थिए । सिद्धान्त पुष्टि गर्ने माग बढ्दै गएकोमा खुशी त दिए तर कुदाकुदमा थकित पनि हुन थाले । खिन्न बन्न थाले । 

एकदिन भाषण सकाएर थकित मुद्रामा गाडीमा बस्न अघि बढे । पछिपछि चालक थिए । आइन्स्टाइन विस्तारै हिँड्दै थिए भने चालक पनि मालिकको पाइलामा पाइला मिलाउँदै अघि बढ्दै थिए । आइन्स्टाइनले चालक बेसुरमा बर्बराउँदै गरेको देखे । ध्यान दिएर सुने । चालक केही यस्तो वाक्य दोहो¥याउँदै थिए, जुन आइन्स्टाइनले भर्खरै सकाएको भाषणमा बोलेका थिए । उनले चालकको अनुहारमा हेरे अनि सोधे, ‘अहो ! तिमीलाई सापेक्षिकताको सिद्धान्तको बारेमा कुनै जानकारी छ ?’

चालकले मुसुक्क हाँस्दै जवाफ फर्काए, ‘मान्यवर, मैले तपाईंको भाषण सुनेको छु । आजसम्ममा लगभग ३० पटक सुनें होला । अब मलाई कण्ठ भइसकेको छ । मलाई विश्वास छ, सापेक्षिकताको सिद्धान्तलाई लिएर म भाषण वा प्रवचन दिन सक्ने भइसकेको छु ।’

आइन्स्टाइनले सोचे– उसको विचार गलत होइन । चालकको अनुहारमा व्यंग्यात्मक दृष्टि डाल्दै भने, ‘ठीक छ, म तिमीलाई शिक्षाविद्हरुमाझ भाषण गर्ने अवसर दिन्छु । थाहा छ ? मलाई फेरि अर्को ठाउँमा मेरो सिद्धान्तलाई लिएर प्रवचन दिन जानु छ । तिमीलाई थाहा छ, म...!’ भाषण दिन जाने विश्वविद्यालयको नाउँ लिनुअघि केहीबेर चुप लागे । फेरि बोल्न थाले, ‘हामी त्यहाँ जाउँला । म ड्राइभर बनेर जान्छु, तिमी मेरो भूमिका निभाउनू । शौभाग्यको कुरो, उक्त विद्यालयका कसैले पनि व्यक्तिगत रुपमा मलाई चिनेका छैनन् । त्यसैले तिमीलाई भाषण कण्ठ छ भने चिन्ता लिनुपर्ने कुनै आवश्यकता नै छैन ।’

यो गोप्य योजनापछि दुवै छुट्टिए । ‘वैज्ञानिक’ गाडीबाट बाहिर निस्के । सबै आयोजकहरुसँग हात मिलाउँदै मञ्चतर्फ बढे । औपचारिक स्वागत भाषण सकेपछि ‘वैज्ञानिक’ भाषण दिन आफ्नो स्थानबाट उभिए । उपस्थित सबैले ताली पड्काएर स्वागत गरे । ‘वैज्ञानिक’ ले पूर्ण विश्वस्त भई भाषण दिए । सबैले बुझ्ने सरल भाषामा । भाषण सकेपछि उनले स्रोतालाई भने, ‘कसैले प्रश्न गर्न चाहन्छौ भने सोध्न सक्छौ ।’

एकजना प्रोफेसरले प्रश्न गरे । प्रश्न सुनेर ‘वैज्ञानिक’ अप्ठेरोमा परे । किनभने, प्रश्न गणितसम्बन्धी पेचिलो समीकरण (इक्वेसन) र सूत्र (फर्मुला) थियो । ‘वैज्ञानिक’ आपतमा परे तर सेकेन्डभरमै आफूलाई सम्हाले । आत्मविश्वास जुटाए । अनि हाँस्दै बोले, ‘तपाईंको प्रश्नको उत्तर अत्यन्त सरल छ । यति सरल छ कि यस्को जवाफ मेरो ड्राइभरले समेत थाहा छ ।’ यति भन्दै उनले ‘ड्राइभर’ लाई बोलाए । ड्राइभर जो यथार्थमा आइन्स्टाइन थिए, उनी मञ्चमा उभिन गए र प्रश्नको जवाफ सन्तोषजनक तरिकाले दिए । यसरी आइन्स्टाइन र ड्राइभरको मिलेमतोमा सबै बुद्धु बने । 

ब्रिटेनका प्रधानमन्त्री विन्स्टन चर्चिल सवाल–जवाफमा माहिर मानिन्थे । प्वाक्क बोलिहाल्ने बानी । आफ्नो आलोचना गर्नेलाई नाजवाफ हुने जवाफ दिन्थे । आलोचकलाई भाग्न बाध्य बनाइदिन्थे । आफ्ना समकालीन राजनीतिज्ञ तथा विश्वका चर्चित नेताहरुप्रति पनि हतारमा टिप्पणी गरिहाल्थे । डेबिड लोयड जर्ज सन् १९१६ देखि १९२२ सम्म ब्रिटेका प्रधानमन्त्री बनेका थिए । चर्चिलले जर्जलाई ‘फजुलखर्च गर्ने महाराज’ भनी टिप्पणी गरेका थिए । सन् १९२९ देखि १९३५ सम्म प्रधानमन्त्री भएका रामसे म्याक डोनाल्डमाथि यसरी टिप्पणी गरे, ‘उनी पछारिन सिपालु छन् तर जति पछारिए पनि जसरी भए पनि आफूलाई हानि हुनबाट बचाउन जान्दथे ।’

नेभिल चेम्बर्लिन चर्चिल सत्तारुढ हुनुपूर्वका प्रधानमन्त्री थिए, अर्थात् सन् १९३७ देखि १९४१ सम्मका प्रधानमन्त्री । सन् १९४१ देखि १९४५ र सन् १९५१ देखि १९५५ गरी दुईपटक प्रधानमन्त्री बनेका चर्चिलले चेम्बर्लिनमाथि टिप्पणी गर्दै एकपटक भने, ‘चेम्बर्लिन दाउ (युक्ति) त खेल्छन् तर प्रत्येकपटक आफंै पराजित हुन्छन् ।’ सन् १९४५ देखि १९५१ सम्म प्रधानमन्त्री बनेका क्लिमेन्ट एटलीलाई एकपटक उनले ‘ब्वाँसाहरुको झुण्डमा बसेका ब्वाँसो’ भनी टिप्पणी गरे । उनैलाई फेरि अर्कोपटक भने, ‘एक विनम्र व्यक्ति, जोसँग अहंकारयोग्य केही छैन ।’ चर्चिल महात्मा गान्धीलाई ‘अर्धनग्न फकिर’ भन्थे ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

Mega Bank Ltd.
Top