​हो, काठमाडौंमा जित्ने हामी नै हौँ


Sunday, 5 Nov, 2017 1:39 PM

  • सावित्रा भुसाल, एमाले केन्द्रीय सदस्य

माओवादीले ०५१ मा ‘सशस्त्र जनयुद्ध’ घोषणा गरेपछि त्यसलाई गलत कार्यदिशा भन्दै एमाले प्रवेश गरेकी हुन्, सावित्रा भुसाल । त्यसअघिको १५ वर्षको जीवन उनले प्रचण्डहरूकै पार्टीमा बिताएकी थिइन् । संयोगले प्रचण्डसहित तत्कालीन जनयुद्ध पक्षधर नेता एमालेसँग चुनावी तालमेल हुँदै पार्टी एकीकरणसम्मको स्थितिमा आइसकेका छन् । यतिबेला सावित्रा एमालेका लागि पुरानो भइसकेकी छन् । तर, उनीसँगै एमालेको गठबन्धनमा आएकी उनकी पुरानी सहयोद्धा पम्फा भुसालहरू एमालेका लागि अझै नयाँ छन् । ०३६ सालको विद्यार्थी आन्दोलनदेखि हो, सावित्रा सक्रिय राजनीतिमा आएको, अखिल (छैटौं) बाट । त्यहीबेला हो, विद्यार्थी आन्दोलनका सहयोद्धा तथा हाल एमालेसम्बद्ध अखिल नेपाल किसान महासंघका महासचिव बलराम बास्कोटासँग उनको दाम्पत्य जीवन सुरु भएको । अहिले सावित्रा एमाले केन्द्रीय सदस्य र काठमाडौं जिल्ला इन्चार्ज पनि हुन् । र, भोलि १६ गते प्रतिनिधिसभा सदस्य पदमा काठमाडौंको निर्वाचन क्षेत्र नं. १ बाट एमाले उम्मेदवार बन्ने पनि उनै हुन् । गत स्थानीय निर्वाचनमा काठमाडौंमा एमालेले ६५ प्रतिशत निकायमा जित्यो । ११ नगरपालिकामध्ये सातवटा मेयर र आठवटा उपमेयर जित्ने पार्टीबाट प्रतिनिधिसभा सदस्य पदको उनको उम्मेदवारीलाई भारी मानिएको छ । 

० चुनावको तयारी कस्तो छ ?
 – स्थानीय तहको निर्वाचनबाट सबैभन्दा ठूलो पार्टी भएको नाताले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुट्दै छौँ । वाम तालमेल भएको कारण टिकट टुंग्याउने काठमाडौं जिल्ला सचिवको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार कमिटी गठन गरेका छौँ । वाम तालमेल भएको कारण दुवै पक्षका कार्यकर्ताबीच चिनजान गर्ने, प्रचारप्रसार किमिटी गठन गर्ने, पार्टी र जनसंगठनको भेला गर्ने क्रममा छौँ ।

० काठमाडौं क्षेत्र नम्बर एक एमालेका लागि फलामको च्यूराजस्तो कठिन क्षेत्र मानिन्छ । त्यहाँबाट चुनाव लड्ने हिम्मत कसरी आयो ? 

 – काठमाडौं– १ एमालेको वर्चस्व रहेको क्षेत्र हो । हालैको स्थानीय तह निर्वाचनमा हामी कांग्रेसभन्दा सात सयभन्दा बढी अन्तरले अगाडि थियौँ । कांग्रेसभन्दा हामी १५ सयभन्दा बढी मतले अगाडि छौं । त्यसमा वाम गठबन्धनको मत जोड्दा कांग्रेसभन्दा धेरै मतले अगाडि हुन्छौँ । म के कुरामा विश्वस्त छु भने, हामी चुनाव जित्दै छौँ । कांग्रेसले पहिला सात सिट र हामीले तीन सिट जित्यौं । संविधानसभामा हामीले दुई सिट, कांग्रेसले आठ सिट जित्दा पनि विकास निर्माणको काममा तदारुकता भएन । आठ–आठ वर्षसम्म कांग्रेसकै माननीय यो क्षेत्रमा हुँदा पनि केही गरेर देखाउन सक्नु भएन । दोस्रो राष्ट्रिय स्वाभिमानको कुरा पनि छ । जब भारतले नाकाबन्दी लगायो, त्यो समयमा मन्त्रीको हैसियतले युएनमा पुग्नुभएका प्रकाशमान सिंहले नाकाबन्दी लगायो पनि भन्न सक्नु भएन । त्यो कुराले यो निर्वाचन क्षेत्रका जनताको चित्त दुखेको छ । उहाँका पिता गणेशमान सिंह, जसले प्रधानमन्त्री पदसमेत त्याग गर्नुभयो । उहाँको छोराले एउटा उपप्रधानमन्त्रीको पद जाला भनेर नाकाबन्दी लगाएको हो भनेर बोल्न पनि सक्नुभएन । एमाले पार्टीमा प्रवेशको लहर पनि बढेको छ । यसकारण यो निर्वाचन जित्ने कुरामा म निर्धक्क छु ।

० कति मतान्तरले जितिएला ?

– हामी दुई हजारभन्दा बढी मतान्तरले जित्छौं ।

० गाउँमा भए मतदातालाई पुल, बाटो, बिजुलीको सपना देखाउन सकिन्थ्यो । तर, राजधानीको पनि मध्यसहरबाट चुनावमा लड्दै हुनुहुन्छ । तपाईंको एजेन्डा के–के छन् ? 

– म पहिला पनि संविधानसभा सदस्य भइसकेको व्यक्ति हुँ । केशव स्थापित, विदुर मैनालीहरूले उठाउँदै आएको धोबीखोला करिडोर, बाग्मती, विष्णुमती करिडोरको कुरा हामीले जोडतोडसाथ उठायौं । प्रकाशमान मान्यज्यूहरूले दुई–दुई पटक निर्वाचन जित्नुभयो त्यो पूरा गर्न सक्नुभएन । एमालेकै पालामा ५४ हजार सुकुम्बासीले लालपुर्जा पाएका थिए । सुकुम्बासी समस्याको दीर्घकालीन समाधान, वैदेशिक रोजगारीमा युवाहरू बिदेसिएका छन् । त्यो घटाउनलाई भूमिका खेल्छु । संविधान कार्यान्वयन, बाँकी कानुन निर्माण गर्ने, समाजवादउन्मुख नेपाल निर्माण गर्ने एजेन्डा लिएर अगाडि बढ्छु । काठमाडौंमा उपभोक्ताले स्वच्छ खाना खान नपाइरहेको अवस्था छ । खाद्य सम्प्रभुताको मुद्दा संविधानसभामा मैले पटक–पटक उठाएको पनि हुँ । अहिले पनि पहाड र तराई टुक्र्याउने खालका, पाँच नम्बर प्रदेश टुक्र्याउन खोज्ने, अंगीकृत नागरिकलाई राष्ट्रपतिसम्म बनाउने खालको राष्ट्रियताको मुद्दा उठे । यस्ता राष्ट्रियताको मुद्दामा म दह्रोसँग लड्छु । गण्डक नहर, कोसी नहरका उपभोक्ताले दुःख पाइरहेको स्थिति छ । फेरि पनि हाम्रा नदीनाला असमान सन्धिमा जान सक्ने स्थिति छ । यदि, यस्तो स्थिति पैदा भएको खण्डमा नेपाल ठगिने सन्धि–सम्झौता नहोस् भन्ने विषयमा पनि म चनाखो रहन्छु । लामो समयसम्म अनेमसंघको केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य भएको नाताले, पहिलो संविधानसभामा महिलाको मुद्दा धरै उठाएको नाताले तिनलाई कानुनतः सुरक्षित गर्नका लागि लड्छु । प्रत्यक्षमा महिला कम छन् त्यसलाई कानुन बनाएर प्रत्यक्षतर्फ महिला लड्ने स्थिति सिर्जना हुने गरी लड्छु । समानुपातिक कोटा भनेको एकपटक पनि मान्य नभएका साथीहरूका लागि पनि हुनुपर्छ । प्रत्यक्षमा पनि महिला लड्ने कुरा कानुनमै सीमित हुनुपर्छ । आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने कुरामा मेरो ध्यान जान्छ । वैदेशिक रोजगारमा जाने युवा रोक्ने कुरा चुट्कीको भरमा त नहोला तर वैदेशिक पलायन रोक्न लागि कटिबद्ध रहन्छु । राजनीतिकर्मी महिलाको क्षमता अभिवृद्धि कसरी गर्ने ? समाजमा काम गरिरहेका, जनप्रतिनिधि महिलाको क्षमता अभिवृद्धि कसरी गर्ने ? यी सबै कुरामा म उपयुक्त ध्यान पु¥याउँछु । विशेष गरेर संविधान कार्यान्वयन, कानुन निर्माण, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान जोगाउन जनताको भावनाको सच्चा प्रतिनिधि भएर काम गर्छु ।

० पहिलो संविधानसभामा समानुपातिक सभासद् हुँदा गर्नुभएका उल्लेख्य काम के–के हुन् ? 

– त्यतिबेला म नागरिक सम्बन्ध समितिमा थिएँ । प्रकाशन गर्ने, नागरिकसँग जनताबीच गएर संविधानबारे बुझाउने खालको फरक जिम्मेवारी थियो हाम्रो । राज्यव्यवस्था समितिमा हुँदा शान्ति सुव्यवस्था, महिलाका हक, अधिकार, नागरिकताको अधिकारका कुरा जोडतोडसाथ उठायौं । त्यस्तै, नेपाल प्रहरीको बहुचर्चित सुडान काण्डका दोषीलाई मुक्त गर्ने एजेन्डा आउँदा हामीले चासो राख्नुपर्छ भनेर निर्णय गरायौं । ११ वटै समितिमा भएका कुरालाई प्रत्येक इस्युमा अवधारणा र मस्यौदामा छलफल गरेका छु । खाद्य सम्प्रभुताको मुद्दा, सम्पत्तिमाथि महिलाको अधिकार, प्रत्येक कमिटीमा जनता र महिलाको हकअधिकारको कुरा उठायौं । अहिले संविधानमा जे–जति हक अधिकार सुनिश्चित भएका छन् ती हकको सुझाव संकलन, अवधारणापत्र बनाउने काम भए । त्यसमा मैले सक्रियतापूर्वक भाग लिएको छु ।

० टिकट हात पार्न कत्तिको दुःख भयो ? 

– एमाले पार्टीको केन्द्रीय कमिटी सदस्य र काठमाडौं जिल्लाको इन्चार्ज भएको नाताले हाम्रो निर्वाचन क्षेत्रबाट साथीहरूले मलगायत अन्य एक जना साथीको पनि नाम पठाउनुभएको थियो । पछाडि पार्टी जिल्ला कमिटीले मेरो नाम सर्वसम्मत ग¥यो । केन्द्रबाट एक नम्बर क्षेत्रमा दिनुपर्छ भनेर टिकट दिनुभयो । मैले त्यस्तो दुःख पाइनँ । भलै तालमेलको कुराले एमालेलाई पर्छ कि माओवादीलाई पर्छ भन्नेचाहिँ भएको थियो । मैले वाम तालमेल गरेको खण्डमा एमालेलाई एक नम्बर क्षेत्र दिएको खण्डमा बढी उपलब्धिमूलक हुन्छ भन्ने कुरा राखें । तालमेलमा रहेका दुवै दलले यो कुरा महसुस गर्नुभयो । त्यसकारण म यहाँको उम्मेदवार हुँदै छु ।

० ०५१ सालमा जब माओवादीले जनयुद्ध सुरु गर्दै थियो, यहाँ माओवादी छाडेर एमालेमा प्रवेश गर्नुभयो । अहिले ती सबै माओवादी साथी एमाले बन्ने भए । कस्तो अनुभव गर्दै हुनुहुन्छ ? 

– कार्यनीतिको हिसाबले कसरी अगाडि बढ्ने भन्ने विषयमा मतभेद भएरै हामी एमालेमा एकीकृत भएका हौं । हामी माक्र्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मानेरै काम गरिरह्यौं । माओवादीका साथीहरूले हतियार बन्द आन्दोलनबाटै जनमुक्ति आन्दोलन पूरा गर्न सक्छौं । गणतन्त्र ल्याउन सक्छौं भन्ने कुरा सोच्नुभयो । हामीले जबजको माध्यमबाट शान्तिपूर्ण जनआन्दोलन आवश्यक परे बल प्रयोग (जबजमा उल्लेख छ) । यही माध्ययबाट राजतन्त्र ढल्यो । संघीय गणतन्त्र स्थापना भयो । मैले कहिले पनि माओवादीलाई राजनीतिक पार्टी होइन भनिनँ । हामी दुवै राजनीतिक पार्टी मात्र माओवादीको बाटो फरक थियो । सच्याउनुपर्छ, मौका दिनुपर्छ र शान्तिप्रक्रियामा ल्याउनुपर्छ भनेर निरन्तर संघर्षशील रहें । माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन एमालेको भूमिका ठूलो छ । माओवादी केन्द्र र एमालेबीच भएको तालमेलले म निकै उत्साहित र खुसी छु । पार्टीले नवौं राष्ट्रिय महाधिवेशनबाटै कम्युनिस्ट केन्द्रबीच तालमेलको कुरा उठेको हो । पार्टीको नीति नै हो । वाम तालमेलको कुराले म धेरै खुसी छु ।

० आजभन्दा २३ वर्षअगाडि यहाँले जुन निर्णय गर्नुभयो । आज त्यही स्थानमा प्रचण्ड आउनुभयो । तपार्इं सही कि प्रचण्ड सही ?

– म सही थिएँ, उहाँ गलत हुनुहुन्थ्यो र अहिले उहाँहरू सच्चिने बाटो आउनुभएको हो । उहाँहरूले पनि राम्रै उद्देश्य बोकेर नेपाली जनतालाई गरिबी, भोकमरीबाट मुक्त गर्न भनेरै हतियारबन्द आन्दोलन गर्नुभएथ्यो होला । हतियार बन्द आन्दोलनबाट भन्दा शान्तिपूर्ण आन्दोलनबाट पनि थुप्रै कुरा प्राप्त गर्न सकिन्छ भन्ने हामीले पहिले पनि जनपक्षीय उम्मेदवार उठाउने, जिताउने, बहुदलीय प्रतिस्पर्धामा आउने, प्रतिस्पर्धाबाटै श्रेष्ठता हासिल गर्ने नीति ल्याएपछि प्रगति गरेका ग¥यै छौं । हतियार बन्द आन्दोलनबाट मुलुकलाई ठूलो क्षति भयो । पछि हामी सबै नमिली आन्दोलन सफल गर्न पनि सकेनौं भनेपछि म त हामीले लिएको कार्यनीति ठीक थियो भन्नेमा छु । तैपनि, यो कुराको बहस गर्दैनौं पार्टीले अहिले कसको नीति ठीक थियो भन्नेमा बहस नगर्ने, त्यो कुरालाई एक ठाउँमा राखेर निर्वाचनमा जाऔं पछि सैद्धान्तिक छलफल गरांैला भनेको हुँदा म अहिले त्यो छलफल गर्न चाहन्नँ । 

० वाम तालमेल स्वार्थले जोडिएको क्षणिक सम्बन्ध मात्र भन्नेहरू पनि छन् । तिनलाई के जवाफ दिनुहुन्छ ? 

– वाम तालमेल पार्टी एकतामै गएर टुंगिन्छ । यद्यपि, केही समय लाग्ने हो कि ? पार्टी एकीकरण हिजो भर्खर कुरा उठाएर आजै भएको होइन । यो त्यति कमजोर कुरा पनि होइन । यो लामो समय अगाडिदेखि उठाइएको कुरा हो । दुवै पार्टीमा लामो समयदेखि राजनीतिक आन्दोलनमा होमिएका व्यक्ति भएका कारण र जनताको भावना, साथ र समर्थन रहेका कारण पार्टी एकीकरण सफल हुन्छ । 

० अहिले वाम तालमेललाई अधिनायकवादको अभ्यासका रूपमा प्रचार गरिँदै छ । के भन्नुहुन्छ ? 

– पहिले पनि ६० वर्ष पुगेपछि बूढा भएका बा आमालाई मार्छ भनिन्थ्यो । तर, हामीले उहाँहरूलाई मारेनौं बरु वृद्धभत्ता दिएर सम्मान ग¥यौं । त्यो कुरा नेपाली जनताले राम्रोसँग बुझेका छन् । अधिनायकवादी, व्यक्तिवादी सम्पत्ति राख्न दिँदैनन् । प्रतिस्पर्धा निर्वाचनमा जाँदैनन् भन्ने यी सबै आरोप पुराना भइसक्यो । मक्किसक्यो । त्यस्ता आरोपमा स्वयं नेपाली कांग्रेसलाई नै भर नपर्नुहोस् भन्न चाहन्छु । खासगरी हामी जबजमा विश्वास गर्नेहरू संविधानको सर्वाेच्चता, कानुनको शासन, बहुमतको सरकार अल्पमतको प्रतिपक्षमा विश्वास गर्छ । हाम्रो पार्टीभित्रको लोकतन्त्रको कुुरा गर्ने हो भने पनि कांग्रेसले कम्तीमा हामीबाट लोकतन्त्र, प्रजातन्त्र सिके हुन्छ । हामीलाई कांग्रेसले लोकतन्त्र सिकाउनु पर्दैन । 

० प्रत्यक्ष चुनाव लड्न महिलाले हिम्मत नगरेर ३३ प्रतिशत पु¥याउन सकस भएको हो ? 

– होइन, हाम्रो पार्टी र अन्य राजनीतिक पार्टीमा धेरै महिला नेता चिनेको छु । उहाँहरू प्रत्यक्षमा प्रतिस्पर्धा गर्न तयार हुनुहुन्छ । हाम्रो समाज पनि त्यस्तै भएर होला, अलिकति महिलाले सक्लान् वा नसक्लान् भन्ने सोच्ने । त्यसको प्रभाव राजनीतिक दलमा पनि पर्दाेरहेछ । महिला जो प्रतिस्पर्धामा आउन चाहनुहुन्छ उहाँहरूलाई दिनका लागि आँट्न नसक्ने । उहाँले जित्नुहुन्छ भन्नेमा विश्वास गर्न नसक्ने । त्यही कारण धेरै नेत्री योग्य हुँदाहुँदै टिकट पाउनबाट वञ्चित हुनुभयो । यद्यपि, केहीमा क्षतिपूर्तिको सिद्धान्त भइसकेपछि हामी त्यतै गए पनि हुन्छ कि भन्ने धारणाले पनि काम गरेको हुन सक्छ । तर, क्षतिपूर्तिको सिद्धान्तबाट मात्र होइन, आफ्नो क्षमताले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नेतिर जानुपर्छ । यद्यपि, समानुपातिक प्रणालीको पनि आफ्नै विशेषता छ । तर, महिला राजनीतिक प्रणालीमा अगाडि बढ्न प्रत्यक्ष निर्वाचनबाट आउनुपर्छ । हामीले पनि हाम्रो क्षमता देखाउनुपर्छ । पार्टीले आज टिकट दिएर देखाएको छ, भोलि जितेर देखाउनु छ । अनि मात्र राजनीतिक दलले महिलालाई टिकट दिन्छन् । विगत हेर्ने हो भने महिलाले जितेर देखाएका छन् । प्रतिशत नै हेर्ने हो भने पुरुषभन्दा महिला उम्मेदवारले कम हारेका छन् । अहिले पनि हामी सीमित संख्यामा छौं र हामीले जित्छौं भन्नेमा म विश्वस्त छु कारण पार्टीको पक्षमा जनलहर उर्लिएको छ ।

० आफ्ना मतदातालाई के भन्न चाहनुहुन्छ ? 

– कांग्रेसलाई पटक–पटक हेर्नुभयो । यसपटक एमालेलाई भोट दिनुस् । तपार्इंको छोरी–चेलीलाई मौका दिनुस् । समाज परिवर्तन गरेर देखाउँछु । यो क्षेत्रको विकास र समृद्धिका लागि लडेर परिवर्तन गराउँछु । एमालेको नीति हेरेर यो निर्वाचन क्षेत्रमा मलाई र एमालेलाई मौका दिनुहोस् तपाईंहरूलाई निरास पार्ने छैन । महिलाले जितेर पनि यति राम्रो विकास हुने रहेछ भन्ने देखाउँछु । प्रकाशमानसिंहभन्दा अब्बल दर्जामा रहेर यो क्षेत्रको विकास गरेर देखाउन चाहन्छु ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

Mega Bank Ltd.
Top