​कम्युनिष्टका नाममा कस्ता–कस्ता करौँती ?


Sunday, 5 Nov, 2017 12:53 PM

  • नारायण नेपाल 

नेपालमा संसदीय व्यवस्थाविरुद्ध बन्दुक बोकेर लड्नेहरू कसरी त्यही व्यवस्थाका नोक्कर बन्दा रहेछन् भन्ने यर्थात् आज हाम्रै आँखाअगाडि देखियो । अझ पीडा त त्यहाँ हुन्छ, जहाँ विदेशीका नयाँ नोकर यसलाई वर्गसंघर्ष भनेर क्रान्तिकारी देखिन खोज्छन् ! समाजवादको बहस छाँट्दै छन् । विचार र राजनीतिक कार्यदिशा निर्धारण भएपछि कार्यकर्ता निर्णायक हुन्छन् । भन्ने माक्र्सवादी मान्यता हो । कार्यकर्ताको सवालमा कमरेड स्टालिन भन्नुहुन्छ, कार्यकर्ताले सब कुराको फैसला गर्छन् । नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ता भने गजबका भेटिन्छन् । पार्टी र नेतालाई कहिले देउता मान्दै पुज्ने त कहिले लात मार्ने । हुनत नेपालको राजनीतिक रोचक नै छ आज को हो नेता के हो नेता कस्तो जनता विचार के हो यो त अचम्मै छ । आजको नेपालमा कहाँ छ विचार त्यो विचार कसरी आउँछ आदर्श र राष्ट्रवाद केमा छ । म चकित छु । हिजो भूकम्पको मारमा देश परेको बेला खेपेको नाकाबन्दीको प्रतिरोधमा न उर्लने नेपाली राष्ट्रवाद र आजको दक्षिणपन्थी हावाहुरीमा नअडिने क्रान्तिकारिता उस्तै हो । 

राजनीतिक कार्यकर्ताबारे कमरेड माओका चुनिएका रचनामा माओ भन्नुहुन्छ, ‘हामीले सचेत रूपमा दसौं हजार कार्यकर्ता र अब्बल दर्जाका सयौं नेता प्रशिक्षित पर्नुपर्छ । यी कार्यकर्ता र नेता माक्र्सवाद, लेनिनवादमा पोख्त राजनीतिक दृष्टिले दूरदर्शी काममा दक्ष आत्मबलिदानको भावनाले परिपूर्ण स्वतन्त्ररूपले समस्याको हल गर्न समर्थन कठिनाइ आईपर्दा अडिग राष्ट्र, वर्ग र पार्टीको सेवामा समर्पित र इमानदार हुनुपर्छ । तर, त्यही माओवादलाई आदर्श मान्नेहरू दिएको खाने र लाए अह्राएको गर्ने नोकरहरू दासहरूको मात्र खोजी गर्दै छन् । कार्यकर्ताको भूमिका निर्णायक मान्दै माओले भन्नुभएको थियो, हाम्रो क्रान्ति कार्यकर्तामा निर्भर रहन्छ । तर, कार्यकर्ता गबार हुन र हामी मात्रै जान्ने–सुन्ने र महान् हांै भन्ठान्नु दृष्टिकोणको समस्या हो । 

 आज नेपाली राजनीति क्रमशः प्रतिपक्ष विहीनताको अवस्थामा छ । माओवादी आन्दोलनको अलग धारको निर्माण भएको छ अलग पहिचान कायम भएको छ । यो सकारात्मक विषय हो । विचार र राजनीतिको बहस नयाँ दृष्टिकोण निर्माण गर्न नेपाल कम्युनिष्ट पार्टी सफल भएको छ । संसदीय राजनीतिभन्दा फरक धार निर्माण गर्दै विद्रोह उद्यत मानसिकता र प्रतिरोधी र जुझारूपन दिएर एउटा आशावाद ल्याएको सत्य हो । शिवगढी भेला दाङ सम्मेलन र थवाङ महाधिवेशनसम्मको यात्राका उतारचढाव रहस्य र भद्रगोलताले केबल अक्षमता प्रदर्शन गरेको हो । हुन त थवाङ ! क्रान्तिकारीका लागि कति प्रिय छ नाम ! तर, कमाउवादी र खाओवादीले १२ वर्षदेखि त्यो नाम बेचेर काठमाडौंमा मासु–भात पचाइरहेका थिए र स्थानीय निर्वाचनमा त्यही बान्ता भएको थियो जलजलाको काखमा । अब त्यो थवाङलाई कदापि मान्य हुनेछैन । त्यही हो यथार्थ !

हुनत आजकल कम्युनिस्ट पार्टीको कार्यकर्ता भन्छन् तर नेताको हुबहु नक्कल गर्छन् । बहस र छलफल पटक्कै गर्दैन । सचेत तथा आलोचनात्मक बहस गर्ने हिम्मत पनि गर्दैन । युवा भन्छ तर व्यवहार गुलाम दासहरू त्योभन्दा बढीमा दलाल बन्छन् नत्र गधा जस्तो गर्छ अनि जनतालाई साम्यवादको गफ दिएर दुनियाँलाई उल्लु बनाउँछ । जबकि आलोचनात्मक चेत भएको एक सचेत मानव भनेर कम्युनिस्टलाई परिभाषित गरियो । त्यस्ता मान्छे युवा नेता त्यसमा पनि तथाकथित कम्युनिस्ट पार्टीको भएर समाजमा स्थापित भए भने समाज अँध्यारो हुन्छ कि उज्यालो ? आजको पीडा यही हो । आलोचनात्मक चेत भएको एक सचेत मानव भनेर कम्युनिस्टलाई परिभाषित गरियो । तर, नेपालमा आलोचनात्मक चेत भएकोलाई जन्मँदै बन्ध्याकरण गर्ने किन होला ?

गोलचक्करको यात्रा क्षमताको प्रश्न जबस मोर्चाको सम्मेलनमा प्रकट भएको थियो । विद्यार्थी मजदुर सम्मेलन समान्तार समितिदेखि विघटनसम्म आउँदा एउटा गम्भीर बहस जरुरी छ । पार्टी नेता अक्षम हो कि जबसका ? नेता अक्षम हो कि नीति भन्ने तहमा पुगेको छ । यो ताल देख्दा हाम्रा गाउँका साइलाबाको चर्तिकला याद आयो कुरा पञ्चायतकालको हो घरमा मुसाले व्यापक दुःख दिएर हैरान भएका बूढाले पछि घरमै आगो झोसेछन् । क्षणभरमै घर आगोमा दन्दनी बल्यो । लत्ताकपडा अन्नपात खरानी भयो, आमा रुवावासी गर्दै कोकोहोलो मच्चाएर गुहार माग्दै थिइन् तर साइलाबा भने घरमाथिको डिलमा बसेर थपडी मारिरहेका थिए, बल्ल मुसाको दोहोलो भयो भनेर । उस्तै छ यिनका ताल पनि, पार्टीमा क्षेत्रीयतावाद र संकीर्णताको घेरा र सुधारवादको दलदलमा भासिन खोज्दै छ भन्दै आवाज उठेकै हो ।

अझै सिंहदरबारवरिपरि फन्को मारेर चक्कर लगाउने चर्तिकलाविरुद्ध बोलेकै हो । सवाल क्रान्ति चाहने र नचाहनेको होइन । सन्दर्भ पद, प्रतिष्ठा र पैसाको पनि होइन । विषय जनक्रान्तिको विचारलाई कसरी बुझिरहेका छौँ भन्ने थियो । विचार र व्यवहारको तालमेल मिल्यो कि मिलेन भन्ने हो । कम्युनिष्ट आन्दोलनभित्र ऐजेरु बनेर बसेको जडता, संकीर्णता, निम्नपुँजीवादी सोच, चिन्तनजस्ता वर्ग र कम्युनिष्ट चेतनाविपरीत व्यक्त भइरहेको कार्यशैली र व्यवहार गम्भीर बहसका विषय हुन् । हिजो माओवादी अन्तरसंघर्षको नेतृत्व मैजुवाहल हुँदै आज पार्टी नेतृत्व कलंकी पुग्दा अन्तर देखिन खोजेको हो त भन्ने प्रश्न स्वाभाविकै हो । हिजोको सहज र सरल भेट आशावादी हुन सिकाउनेहरू आऊ हामी गर्छांैै हामी सम्हाल्छाँै भन्दै उराल्नेहरू आज भेटघाट हुन गाह्रो भयो घेराबन्दीमा र कोटरीमा रमाउन थालेपछि जनता र कार्यकर्तामा टाढिएकै हो कि ? 

विप्लवलाई छाडेर जानेको किस्ताबन्दी लहर चलीरहेकै छ । हिजो एमालेले महाकाली बेच्यो भनेर जनयुद्धमा लाग्ने धेरै थिए । आज देश बेच्न लाग्यो भनेर फेरि एमालेमै फर्किनेहरू पनि धेरै निक्लिएका छन् रोचकै छ आउने जाने नारा र बहानाहरू पनि । हिजो रामदीप आचार्य तिलक परियार, तेजबहादुर हँुदै पछिल्लो जीवन खड्का पारसमणि र आजका झकबहादुर मल्लसम्म आउँदा हिजो किन केले महान् ठूलो बनायो आज अपराधी भए समस्या विचार राजनीति र दृष्टिकोणको हो कि बेतुकको आरोपको कुरा मात्र किन एउटा कमजोरी छोप्न कति अपराध गरिरहने हो कामरेड ? हुनत आजकल मन मिल्नेहरूको हो पार्टी जानेहरू जाऊ भन्ने नारा छ, संसद्वादी शिविर होस् वा क्रान्तिकारी । सबैतिर कुरा ठिकैजस्तो देखिन्छ तर एकमनावाद र निषेधको राजनीतिका लागि कसैले स्टानिलको साहरा लिन्छ भने त्यो पछौटेपन हो, खु्रस्चेभ र गोर्भाचोभको विकास स्टालीनवादको गर्भमा भएको हो । के त्यसको पाठ सिक्न पदैन ? 

विचारको संग्राम र आलोचनाको स्वतन्त्रताबिना कुनै विचारको विकास सम्भव छैन । विपरीतको एकतत्वको नाममा विपरीतहरूको मात्रै जन्म र ध्वंस हँुदै आयो भन्ने हाम्रै नयाँ ठम्याइ हो र मिल्नेहरू मिलौं भनेको त अरू त त्यस्तै हो ज्यान र मन मिलेको श्रीमतीसँग पनि कुनै कुरा न मिल्ने पो हुने भयो । त्यो पनि छाडांै, नयाँ मिल्ला नि भनेको त आफैं अस्ती हिजो र आज बोलेको, गरेको ठेगान छैन । ठूलाबडाको समस्या के मा हो एक्लो वीरले संसार जितिन्न ? जब राजनीतिमा अराजनीतिक अन्तरविरोध प्रधान हुन्छ प्रशंसकहरूको हुलमा नेता रमाउने गर्र्छन्, दलाली पनि कति सस्तो भने फेसबुके स्ट्याटसमा आउँदासमेत दंग पर्ने, अनैतिक संस्कृति विकास भएका बेला मैनबत्तीसामु पुतली बनाउने काम आलोचकलाई गरिन्छ । तर, मुख्य प्रश्न संगठन र दृष्टिकोणको हो ।

विचारअनुसार व्यवहार र संगठन नेता निर्माणको प्रश्न अहिलेको सत्य हो । वामपन्थी ध्रुवीकरण नामको संसद्वादतिरको यात्रा जारी छ । आज–भोलि धेरै नेता–कार्यकर्ता विप्लव र वैद्यको विकल्पमा प्रचण्डको पछि भौंतारिरहेका छन् । आखिर किन किरण र विप्लवको विकल्प प्रचण्ड र प्रचण्डको विकल्प एमाले हँुदै छ । यो गम्भीर बहसको विषय हो । आज किरण र विप्लवले गरेनन् भन्नेहरूकोे विकल्प प्रचण्ड बन्दै छन् र प्रचण्डको विकल्प केपी ओली र एमालेको जबज हुँदै छ । कस्तो रोचक किरण र विप्लवको अवसानमै प्रचण्डले आफ्नो भविष्य सुरक्षित देखेको होलान् । तर, किरण र विप्लवको विकल्प क्रान्ति नै हो संसद्वाद कदापि होइन । त्यसका लागि एमाले नै काफी छ । यस्तो घटना किन भइरहेको छ सत्यबाट तथ्य खोज्नुपर्ने र समीक्षा र संश्लेषण गर्नु जरुरी छ, गाली–गलौजमा रमाउनुको अर्थ छैन । 

हुनत आजभोलिको आउने–जाने क्रम माओवादी घेराभित्रको तानातान मात्र देखिन्छ । त्यसले समाजलाई छोएको देखिन्न । कुण्ठा, ईष्र्या, लोभ र स्वार्थ बोकेर ससर्त आउने–जाने । यता जाने उसलाई देखाइदिने । उता जाने उसलाई देखाइदिने । इमानदार कार्यकर्ताको अवस्था नाजुक छ । मिर्गले मरुभूमिमा देखिएको पानीको भ्रमात्मक दृश्यजस्तै छ इमानदार सोझाहरूको आन्तरिक जीवन त्यहाँभित्र धरान भेलादेखि यहाँसम्म आउँदा एक जना महिला जिल्लाको नेतृत्वमा टिक्न सकेका छैनन् । हिजो महिला बटालियनले एक्लो मोर्चा सम्हालेको इतिहास भएकाहरूलाई पलायन हुन किन बाध्य पारिएको छ ? किन चिन्ता छैन कसैलाई ? कमरेडलाई लेखनाथ पौडेलका कविताले नै अर्थ दिन्छ 
गुणग्रही छैनन् जहाँ बेक्कमा छन् त्यहाँ गुणी 
कौडीका भाउमा मिल्कन्छन् भिल्लका देशमा मणि 

आफ्नै भाइ विभिषणको गद्दारीका कारण लंकाका राजा रावणले हारे । नेपालका राजा वीरेन्द्रमाथि पनि राजदरवारबाटै गद्दारी भयो जतिवेला कांग्रेसका गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री अनि रामचन्द्र पौडेल गृहमन्त्री थिए । जनयुद्ध पनि आफ्नै भित्रकाले गद्दारी गरेर सिध्याइयो । इतिहास भन्छ, हामी बहादुरबाट होइन गद्दारहरूद्वारा शासित छौं । ७ वर्षपछि चे ग्वेभारालाई गाडिएको ठाउँ देखाइदिने । १० वर्षपछि सद्दाम हुसेन हामीले अर्थात् अमेरिकी बुसको लबीले सोचेजस्तो गलत थिएनन् । सिआईएका कर्मचारीको हर्कतको पश्चात्ताप वर्षौंपछि हुने रहेछ । बिचरा इराकी जनता, साहसी त उनै थिए बुसलाई जुत्ता प्रहार गर्ने पत्रकार जैदी । उस्तै कति साहसी थिई अरुन्धती रोय आज बेकुअफ त हाम्रो बौद्धिक जगत् भएका छन् जसले मालिकहरूको स्तुति गान आँखा चिम्लेर गाएका छन् । 

हुनत आज नेता र क्षमताको प्रश्न हो गम्भीर कुरा देश र जनताका लागि । यो प्रश्नसँगै नुवाकोट र रसुवाको पासाङल्यामु मार्गमा चल्ने गाडीमा भेटेको एक सहचालकको कहानी उस्तै देखिन्छ । जो २६ वर्ष गाडीको सहचालक (खलासी)बसेर स्टेरिङ समात्ने अवसर नपाएको र पाउँदा पनि हिक्कमत नभएजस्तो रहेछ र उनी जीवनभर सहचालकको भूमिकामा ढोका ठटाउँदै जीवन बिताउँदै थिए । भने यस्तै छ नेताहरूको हातल भने तिनलाई गाली गर्नुभन्दा ठेलठाल र पेलपाल गरेर जाँदै बेस हुने होला । जबसम्म प्रचण्ड समूह विघटन हुन्न तबसम्म वैद्य र विप्लव नेतृत्वको पार्टी अगाडि जाने अवस्था छैन र बन्दैन पनि । कमरेड माओका श्रीमती नै एजेन्ट भएको पुष्टि भएकै हो ।

कमरेड मान्छेभित्रको मान्छे यति सजिलै कहाँ चिनिन्छ र भौतिक विज्ञानले जसरी अणु र परमाणुको गुण पहिचान गरेको छ रासायनिक प्रतिक्रियामा जुन गुणको मात्र निर्णायक बन्छ तर समाज विज्ञानमा मान्छेभित्रको मान्छेको चिन्तन, चरित्र र चेतनाको ठेगान खै के ले कसरी होला ? आफ्नै हेडक्वाटरमा रहेको लिनप्याओ चिन्न महान् नेता कमरेड माओले त सांस्कृतिक क्रान्तिसम्म कुर्नुपरेको रहेछ । हामीले अहिल्यैको कसलाई चिन्न सक्नु र ? बाहिर एकमनावादको ओठे नारा र भित्र–भित्र सल्कँदै गएको भुसको आगोझंै चर्तिकलाले उति राम्रो संकेत गरेको छैन । पानी बेलैमा हाल्दा राम्रो होला कि ? अरुणा लामाको गीतजस्तै छ आज–भोलि त– पोहोर साल खुसी फाट्यो, जतन गरी मनले टालें, यसपालि त मनै फाट्यो, केले सिउने, केले टाल्ने हो ?


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

Mega Bank Ltd.
Top