​ल्याउनै खोजिएको हो त साम्यवाद ?


Sunday, 29 Oct, 2017 3:11 PM

  • सुशील पन्त

शंखध्वज शाख्वाले शुरु गरेको नेपाल संवत् नयाँ वर्षको अवसरमा कात्तिक ३ गते भक्तपुरमा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालका वामपन्थी दलले राणाशासनभन्दा डरलाग्दो साम्यवादी व्यवस्था र अधिनायकवाद ल्याउन खोजेको आरोप लगाए ।

‘कम्युनिष्ट साम्राज्य ल्याएर अधिनायकवाद लाद्धै राणाशासनभन्दा पनि डरलाग्दो शासन चलाउन खोज्दै छन्’ उनको टिप्पणी थियो । रामचन्द्र पौडेलदेखि भर्खरै कांग्रेस फर्किएका विजयकुमार गच्छदार समेतले वामपन्थी दलले नेपालमा अधिनायकवाद ल्याउन खोजेको बताएका छन् । कांग्रेस नेता प्रकाशमान सिंहले त कम्युनिष्ट व्यवस्था आयो भने निजी सम्पत्तिको रक्षा हुँदैनसम्म भन्न भ्याए । २६ असोजमा काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले भने, ‘नेपालमा कम्युनिज्म आयो भने मुलुकको विकास ठप्प हुन्छ । उत्तर कोरिया, क्युवालगायत वामपन्थी पार्टीको सरकार रहेको देशको हविगत कस्तो छ भन्ने कुरा माधवकुमार नेपालसहितका नेताले देखिसकेका छन् ।’

अर्का नेता नारायण खड्काले कूटनीतिक सन्तुलन नै खल्बलिने भन्दै चिन्ता जनाए । विगतमा ‘भ्यागुताको धार्नी’ भन्ने गरिएको वामपन्थी एकताले कांग्रेसको सातो गएको उसको नेताका अभिव्यक्ति र छटपटाहटबाट बुझ्न सकिन्छ । चुनावमा वामपन्थीको तालमेलबाट कांग्रेसका कतिपय नेताको निद हराएको छ । 

०६४ सालको चुनावमा माओवादी देशको पहिलो पार्टी बन्यो, पहिलो पार्टी पनि यति ठूलो साइज कि, दोस्रो बनेको कांग्रेस र तेस्रो बनेको माओवादी जोड्दा पनि अग्लो । माओवादीको उभार देखेर कांग्रेस–एमाले यति भयभीत भए कि पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई देखेर उनीहरू प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयमा बहस गर्नसमेत तयार भएनन् । संविधानसभाको समितिमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थाले मुलुकमा अधिनायकवाद आउँछ भनेर तर्क गर्ने कांग्रेस–एमाले सांसद पत्रकारसँगको गफमा प्रत्यक्ष कार्यकारीको व्यवस्थामा गए प्रचण्डले ४० वर्ष छाड्दैनन् भन्ने गर्थे । तर, ०७० मा आइपुग्दा त्यत्रो हैसियतको माओवादी यसरी ओइलायो कि एमालेको आधाभन्दा पनि सानो हैसियतमा खुम्चिनुप¥यो । पार्टीले लिने नीतिका कारण दल कहिले ठूलो र सानो हुनु स्वाभाविक हो । तर, नेपालका कम्युनिष्ट पार्टीको चुनावी तालमेल देखेर कांग्रेस किन यतिसारो अत्तालिएको छ यो अनौठो विषय बनेको छ । किन देउवा एमाले–माओवादी मिलेर अधिनायकवाद ल्याउँछन् भनी तर्सिरहेका छन् या आशंका पैदा गर्न खोजिरहेका छन्, अचम्म छ ।

के एमाले–माओवादी पार्टी सच्चा कम्युनिष्ट हुन् ? के उनीहरूको नीति–कार्यक्रममा बल प्रयोग गरेर सत्ता कब्जा गर्ने २० आंै शताव्दीकाजस्ता लाइन छन् ? नारायणमान बिजुक्छेको शब्दमा एमाले भाइकांग्रेस भइसकेको छ र माओवादी अर्को एमाले बनेको छ । के देउवाले भनेजस्तो अधिनायकवाद ल्याउन यी कम्युनिष्ट पार्टी उत्तर कोरियाको जस्तो पार्टी हुन् ? भूराजनीतिक अवस्था र यस्तो परनिर्भरतामा कम्युनिज्म लागू हुन्छ ? शहरका ठूला भिल्लामा बस्ने नेताहरूले अधिनायकवाद लागू गर्न कोसिस गर्लान् ? खुला समाजको सदुपयोग गरेका जनताले बन्द समाज बनाउँदा हेरेर बस्लान् ? यहाँको सेनाले त्यस्तो अधिनायकवाद स्वीकार गर्ला ? आफ्नो कमजोरी, लाचारी देखाउन कांग्रेसले वामपन्थी अधिनायकवादको हौवा पिटाउँदै छ । 

एमाले र माओवादीले संविधान कार्यान्वयनको कुरा गरिरहेका छन्, कांग्रेस पनि भनिरहेको छ– संविधान कार्यान्वयन गर्नुपर्छ । चुनावी प्रतिस्पर्धामा उत्रिएर प्रगतिशीलहरूले सरकार चलाउँछौं भन्दा किन आत्तिनुपर्ने ? चुनावी घोषणापत्रमा राम्रा नीति तथा कार्यक्रम ल्याएर अत्यधिक बहुमत ल्याउन कसले रोेकेको छ ? आफ्नो कमजोरी, अक्षमता र लाचारी ढाकछोप गर्न कांग्रेसले नेपालमा अधिनायकवाद स्थापना हुन्छ भन्ने हौवा पिटाएको छ । देशको आवश्यकता र जनताका आकांक्षा एकातर्फ छन्, ती समस्याप्रति कांग्रेस बेखबर छ । 

०४६ प्रजातन्त्र स्थापनापछिका झण्डै तीन दशक खेर गए, विकास गर्नको लागि यो समय पर्याप्त हो । कथित उदारवादी अर्थतन्त्रले विनोद चौधरी र राजेन्द्र खेतानहरूलाई अर्बपति बनायो र जनतालाई कंगाल । निजीकरणको नाममा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको अवधारणा लागू गरेर भएका उद्योग कलकारखाना कौडीका भरमा बेच्ने काम भयो । कमसेकम जुत्तामा आत्मनिर्भर बन्दै गरेको देशलाई ‘सरकार जुत्ता सिलाएर बस्दैन’ भन्दै छालाजुत्ता कारखाना बन्द गराउने काम कसले ग¥यो ? स्वास्थ्यका नाममा गरिएको निजीकरणले उपचार सर्वसाधारणको पहुँचबाहिर पुगिसकेको छ । निजीकरणका नाममा भएको शिक्षा क्षेत्रको व्यापारीकरणले मुलुकमा दुईखाले जनशक्ति उत्पादन हुँदै छ । न्यून मध्यमवर्गीय परिवार आफ्ना बालबच्चालाई शिक्षा किन्ने हैसियतका छैनन् । मुलुक र जनताप्रति गरिएका बद्मासीको सजाय व्यहोर्नु नपर्ने ? आफ्नो टाउकोमा ऋणको भारी बोकाइदिनेलाई नै जनताले सधैँभरि भोट दिइरहने ?

लोकतन्त्र, गणतन्त्र या डेमोक्रेसीको उद्देश्य जनताको मुहारमा खुशी र समृद्धि ल्याउनु हो । हाम्रा दुई छिमेकी मुलुक हेरांै न, भारत आफूलाई अब्बल लोकतान्त्रिक मुलुक भन्छ । जहाँ अहिले पनि दशौं लाख जनसंख्या सडकमा सुत्छ । करोडौं जनसंख्या गरिबीको रेखामुनि छ, बर्सेनि हजारौं किसानले आत्महत्या गर्छन् । कांग्रेस तर्सिने गरेको कम्युनिष्ट व्यवस्था लागू भएको उत्तरी छिमेकी चीन हेरौं न, विश्वको दोस्रो ठूलो अर्थतन्त्र भइसक्यो, सन् २०२७ मा विश्वको पहिलो अर्थतन्त्र हुने लक्ष्य राखिरहेको छ । के लोकतन्त्रको नाममा देशलाई सधैँभरि अविकसित र भिखारी बनाइराख्ने ? 

प्रजातन्त्रमाथि खतरा हुन्छ भनेर देशलाई यस्तै अव्यवस्था र कुशासनको गोलचक्करमा राखिराख्ने ? कांग्रेस परिभाषित लोकतन्त्रले तीन दशकमा देश र जनतालाई के दियो ? केवल कुशासन, भ्रष्टाचार, धनी र गरिब बीचको दूरी बढाउने खाडलबाहेक ? देउवा–रामचन्द्रहरू कांग्रेसप्रति जनतामा बढ्दो वितृष्णाको कारण किन नजरअन्दाज गर्छन् या समीक्षा गर्नै रुचाउँदैनन् ? देशलाई गरिबी, अशिक्षा, अभाव र परनिर्भर कहिलेसम्म बनाइराख्ने ? 

एकताको आकार लिइनसकेको माओवादी–एमाले चुनावी तालमेल पार्टी एकताको बिन्दुसम्म पुग्छ कि पुग्दैन भन्ने आशंका कायमै छ । नयाँ बन्ने भनिएको पार्टी जनयुद्धबाट आएको माओवादीजस्तै ‘धनयुद्ध’मा लाग्ने हो कि अहिल्यै भन्न सकिने अवस्था छैन । किनभने कांग्रेस, कम्युनिष्ट नामका जुनसुकै दल सत्तामा आए पनि जनताले आफ्नो जीवनमा परिवर्तनको अनुभूत गर्न पाएका छैनन् । तर, हुन लागेको वामपन्थी गठबन्धनले मुलुकमा क्रमशः दुई पार्टी सिष्टमलाई स्पापित गर्दै छ । एउटाले राम्रो काम नगर्नेबित्तिकै जनताले अर्कोलाई स्थापित गरिदिन्छ, जसरी राजनीति नै समाप्त भयो भनिएको भाजपाले भारतमा कांग्रेस आईलाई सोत्तर बनाइदियो । त्यसैले राणाशासनजस्तो अधिनायकवाद लागू गर्न थाले भनेर रोदन गर्नुभन्दा सुषुप्त अवस्थामा रहेको बयोवृद्ध पार्टीलाई फेरि पुनर्जीवन दिनेतर्फ चिन्ता गर्ने कि ? 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

Mega Bank Ltd.
Top