​के यो प्रचण्डको हत्या होइन ?


Wednesday, 11 Oct, 2017 10:31 AM

  • दिल निशानी मगर 

नरेन्द्रजंग पिटर र म एकदिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका थियांै । रातको ९ बजेको हुनुपर्छ । प्रचण्डसँग वार्ता गरिरहेका थियौं । साथमा अन्य केही व्यक्ति हुनुहुन्थ्यो । 

वार्ता भन्नाले त्यस्तो घनीभूत मुद्दा केही थिएनन् । हामी को हौं र त्यस्तो वार्ता गर्ने ? तर, त्यो दिन प्रचण्ड सरकारको सन्दर्भमा केही प्रतिक्रियावादी शक्ति र खासगरी एमालेको तर्फबाट विभिन्न भ्रम प्रचार हुँदै थियो । 

बालुवाटार परिसरमा केही विदेशी नम्बर प्लेटका गाडी थिए । सायद विदेशी दूतावासको हुनुपर्छ । सम्झनास्वरूप नरेन्द्र जंग पिटरसँग एक कपी सेल्फी खिच्ने निर्णय गरें तर उहाँले मान्नुभएन । उहाँको कथन थियो, ‘आज मलाई किन–किन मनमा शंका लागिरहेको छ, केही अनिष्ट हुन्छ भन्ने । त्यसैले यस्तो अवस्थामा हामी बालुवाटारमा रहेको कुरा बाहिर थाहा दिनुहुन्न ।’

उहाँको दूरदृष्टि देखेर चकित भएँ । उहाँलाई त्यो कुराको पहिल्यै जानकारी थियो वा परिस्थितिको आकलन गर्न सक्नु उहाँको विशेष गुण छ ठोकुवा गरेर भन्न सक्दिनँ । तर, बूढाले आकलनचाहिँ खतरा गरेको हो । हाम्रो गाउँको अन्तरे ज्योतिषीले पनि यस्तै–यस्तै खतरा आकलन गर्थे तर दुःखको कुरा उनी पिटरजस्तै कम्युनिस्ट थिएनन् । 

हामी बालुवाटारको एउटा कोठामा बसिरहेका बेला फोन आयो । प्रचण्डले फोनमा कुराकानी गर्न आनाकानी गरे । सायद त्यो फोन सभामुख ओनसरी घर्ती मगरको हुनुपर्छ । उताबाट आवाज आइरहेको थियो’, आजै गर्ने कुरा छ, म यति रातिसम्म पनि कार्यालयमै छु । चौतर्फी दबाब आइरहेको छ । अगाडि बढाउनुपर्ने भयो ।’

तर, आजै गर्नुपर्ने के त्यस्तो विडम्बना आइलाग्यो प्रचण्डलाई थाहा थिएन । चौतर्फी दबाब के हो र किन आजै बढाउनुपर्ने भयो त्यो पनि सुइँको थिएन । शरीरको भाषा र हाउभाउले संकेत गरेको थियो वास्तवमा के भइरहेको छ, उनलाई केही थाहा छैन ।

आखिरमा भेद खुल्यो । पूर्वलडाकु कमाण्डरको अगुवाइमा लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने प्रस्ताव पारित गर्न हस्ताक्षर संकलन भइसकेको रहेछ । खिलराज रेग्मीले के–कति कारण लोकमानलाई अख्तियार प्रमुख बनाएका थिए र तत्कालीन राष्ट्रपति रामवरण यादवले त्यो फाइलमा हस्ताक्षर गरेका थिए, त्यतापट्टि नजाऊँ तर लोकमानको सन्दर्भमा नेपालका सम्पूर्ण राजनीतिक दलबीच कार्यगत एकता थियो ।
तर, उनी आफू मिलिजुली सरकारको नेतृत्व गरिरहेका बेला लोकमानलाई महाभियोग लगाउने पक्षमा थिएनन् । देउवा पनि अनुदार थिए । कनकमणि दीक्षितहरू लोकमान भित्तामै पुगेको देख्न चाहन्थे । तर, असनको साँढेको उपनाम पाएका लोकमानलाई हलचल गराउँदा सत्ता नै हलचल हुने सम्भावना थियो । 

जस्तो कि पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल पनि असनको साँढै नै थिए, जसलाई चलाउँदा प्रचण्डले सडकमा आउनुप¥यो र नागरिक सर्वोच्चताको आन्दोलन उठ्यो । सरकारमा भए पनि, नभए पनि त्यसलाई जनताले एउटा क्रान्तिकारी स्पिरिटका रूपमा बुझेका थिए ।
आलेख छासमिस नगरांै । पुरानो नजिरलाई उदाहरणका रूपमा उल्लेख गरेको हुँ । म उनको नाम लिन चाहन्नँ । शाही थरका उनी पूर्वलडाकु कमाण्डर हुन् । अहिले मन्त्री छन् । सानो प्रयासले मन्त्री भएका होइनन् ।

देखिस् प्रचण्ड तँ को होस् ? तँविनै मैले महाभियोग हस्ताक्षर संकलन गरें । तँ मैले गरेको काममा नाकले जोतेर उपस्थित हुनै पर्छ । नेता कसैलाई मानिँदैन, हामी नै हो नेता । यस्तै किसिमको आचरण प्रदर्शन गरेर, प्रचण्डलाई धम्क्याएर र सांकेतिक रूपमा भुत्ते बनाएर प्रचण्डबाट फाइदा लिनेहरूले उनको राजनीतिक विचारको हत्या गर्न खोजिरहेका छन् ।

लोकमानलाई महाभियोगको प्रस्ताव सही थियो कि थिएन अलग कुरा हो । पक्कै पनि विभाजित समाज हो यो । विचार पनि विभाजित छन् । तर, जनवादी व्यवस्थाका लागि युद्ध लडेको एउटा कम्युनिस्ट पार्टीको सांसदले जसरी लिडरसिपलाई नै च्यालेन्ज गरे त्यो आश्चर्यजनक घटना थियो ।

शाहीको कदम सभामुखको मुखबाट सुनेपछि प्रचण्ड रातोपिरो भए । र, वर्षमानको खोजीमा उठेर गए । नरेन्द्रजंग पिटर कतिखेर बालुवाटार छाडेर घर पुगे पत्तै भएन । महाभियोग प्रस्ताव दर्तापछि नैतिकताका आधारमा प्रचण्डले आफ्ना सांसदको हस्ताक्षरलाई स्विकार्न बाध्य हुनुप¥यो । 

त्यस अगाडिको एउटा रोचक घटनाको किस्सा यसैसँग सम्बन्धित छ । लोकमानलाई महाभियोग लगाउनु केही दिनअगाडि पूर्वलडाकुहरूले पेरिसडाँडा पुगेर प्रदर्शन गरेका थिए । कनकमणिका भाइ पत्रकारले ‘माओवादी कार्यालय पेरिसडाँडा कब्जा’ शीर्षकमा समाचार लेखे ब्रेकिङ न्युजको रूपमा । केही समयपछि कनकमणिले सामाजिक सञ्जालमा फोटो पोस्ट गरे ।

यो घटना बाहिरबाट झट्ट हेर्दा सामान्य लागे पनि निकै रणनीतिक महŒवको थियो, प्रचण्डलाई धम्की दिने, सातो काड्ने र शक्तिविहीन भुत्ते गराउने सन्दर्भमा । किनभने यो पार्टीभित्र र बाहिरका अवसरवादीहरूको चलखेल थियो । तपाईं अहिले मिडिया हेर्नुभयो भने माओवादीका केही मन्त्रीको खासै आलोचना देखिँदैन । र, मन्त्री हुनुपर्ने नेतालाई मन्त्री बनाएका छैनन् प्रचण्डले । आफ्नो सुरक्षाका लागि धम्की दिनेहरूलाई खुशी बनाउने काम मात्र भएको छ ।

उसो त माओवादी पार्टीमा फलाना पद दे, फलना संस्थानमा नियुक्ति गर, फलानाका लागि सिफारिस गर नत्र पार्टी छाड्छु, विद्रोह गर्छु भन्ने संस्कृति नयाँ होइन, माओवादीका लागि । प्रचण्डले धेरै धम्की सहे । अहिले भन्दा नमीठो महसुस होला । जनार्दन शर्मा प्रभाकरको सत्य प्रवेश पनि धम्कीपूर्ण राजनीतिबाट प्रवेश भएको थियो । अन्यथा उनीभन्दा धेरै सिनियर नेता माओवादीमा थिए जो विचलित भइसके ।
मलाई त प्रचण्डको गालामा चड्कन लगाउने त्यो कुँवर भाइ पनि पार्टीभित्रैबाट परिचालित थिए भन्ने शंका लागेको छ । प्रचण्डको पावरलाई कसरी हुन्छ उपयोग गर्ने उद्देश्यसाथ दशकयता पार्टीभित्रबाटै सयांै लिखित, मौखिक र भौतिक धम्की झेल्नुप¥यो । पक्कै पनि यस्तो अराजनीतिक हर्कतले प्रचण्ड कमजोर बन्दै गएका थिए । प्रचण्डले आफूलाई सुरक्षा खतरा भएको कुरा पटक–पटक आफंैले खुलस्त गरेकै हो । 
विप्लव मात्र यस्तो एउटा लडाकु कमाण्डर देखिए जसले प्रचण्डलाई पद र पावरभन्दा पनि विचारका लागि धम्की दिए । हातमा आइसकेको मन्त्री पद बहिष्कार गरेर नयाँ पार्टी निर्माण गरे । यद्यपि, विप्लवलाई चेक एण्ड ल्यालेन्स गर्न वर्षमान पुनलाई अगाडि बढाउनु प्रचण्डको ठूलो उपलब्धि हो अन्यथा तत्कालीन शिविरमा हतियारसहितको विद्रोह सम्भव थियो ।

अहिले गाउँपालिकाको अध्यक्षदेखि नगरपालिका प्रमुखसम्मको टिकट कम्तीमा ८० प्रतिशत धम्कीबाट प्राप्त गर्छन् नेताले । ती धम्की पार्टी छाड्नेदेखि असहयोग गर्नेसम्मको सामान्य हो । आफूले टिकट नपाए चुनाव प्रचारमै नजाने र उस्तै परे अर्को पार्टीको उम्मेदवारलाई सहयोग गर्न पैसा खाने, अन्तिम समयमा आएर उम्मेदवारी नै फिर्ता गर्ने । यस्तो प्रवृत्ति हालसालै मात्रै देखा परेको होइन ।

यस्तो अवस्थाको आकलन प्रचण्डले नगरेको पनि होइन । उनले आफूलाई खतरा भएको बारेमा पटक–पटक बोल्दै आएका हुन् । अहिले पनि सुरक्षा व्यवस्था विशेष छ । ओली र देउवालाई भन्दा भरपर्दाे । पछिल्लो समय आफूलाई मिडिया र मानिसले प्रचण्ड भनेर सम्बोधन नगरेकोमा चित्त मात्रै दुखाएनन्, पेरिसडाँडामा कार्यकर्ता, नेतामाझ भनेका थिए, ‘एउटा बिग्रेको पार्टी जनतालाई देखाउनु भन्दा विघटन गर्छु ।’

प्रचण्डलाई मानिसले प्रचण्ड नभनेको अनुभूति उनी आफंैलाई हुनु पनि प्रचण्डको हत्या नै हो । हो कि होइन ? हुन त प्रचण्डले जे भने पनि ठीक भन्ने पञ्चायती टाइपका हनुमानहरू पनि नभएको होइन । तर, जनता त अवसरवादीलाई चिन्दैनन् । श्रीमतीलाई जागिर खुवाउने, मामा काकाको सरुवा गर्ने र विभिन्न शीर्षकको कमिसन बटुल्नेबाहेक तीबाट अरू अपेक्षा पनि गर्न सकिँदैन । तर, यहाँनेर भन्नु नै पर्ने हुन्छ ः माओवादी पार्टीलाई प्रचण्ड होइन अल्छी, ठग, घमण्डी, पूर्वाग्रही कार्यकर्ताले सखाप पारेका हुन् ।

आन्दोलन गर्न नसक्ने, विद्रोहमा जान पनि आनाकानी गर्ने, चुनावमा राम्रो नतिजा देखाउन नसक्ने तर पद र पावरचाहिँ नेतृत्वलाई थर्काएर हुन्छ कि भ्रममा पारेर हुन्छ कि के गरेर हुन्छ हात पार्ने संस्कारले प्रचण्डलाई ठूलो तनाव दिएकै छ । कम्युनिस्ट पार्टीको नेता भएर लेख, पढ र रचनात्मक काम नगर्ने, संगठन निर्माण पनि नगर्ने । खाली प्रचण्डलाई धम्की दिने । के यो प्रचण्ड विचारधाराको हत्या होइन ?


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.725/-

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

Mega Bank Ltd.
Top