बाइरोडको बाटो : ‘स्मार्ट सिटी’ को बिजोग


Saturday, 16 Sep, 2017 12:25 PM

  • गोविन्द भट्टराई

मुग्लिङ–नारायणगढ खण्डको पहिरोबाट बच्न १ दिनपहिले नै पाल्पा पोखरा हुँदै स्मार्ट सिटी, अर्थात् राजधानी काठमाडौं पुग्ने सोयले बिङ्गर (सानो बस) २७२१ नं. को टिकट काटेको थिएँ । पश्चिम नेपाल बस व्यवसायी समितिले ९ सय ५० रूपैयाँको टिकट दिए पनि हिँड्ने दिन भदौ १५ गते बिहान चालक रामबहादुर रानाले तानसेन शीतलपाटीमा सुटुक्क भने, ‘के गर्नु सर, हजुरसमेत ३ जनाको टिकट छ, बुटवलबाट गएदेखि अरू यात्रु पाइन सक्छ ।’ मैले त्यताबाट जान नपरे हुन्थ्यो भनेरै पोखरा हुँदै जाने टिकट काटेको बताएँ । राना ‘टसको मस’ भएनन् । तानसेन आन्दोलन चोकमा उदय थरका यात्रु थिए अनि तल प्रभासमा अर्का । सबै रनभुल्ल प¥यौं– ‘पोखराबाट जाने भनेर टिकट काटेका यात्रुलाई घुमाएर आफूखुसी बुटवलबाट लान जबर्जस्ती गर्ने !’ भन्दै । चालकले जवाफ दिएन । उदय थरका यात्रु रिसाएर भन्दै थिए, ‘यात्रु थोरै भयो नजाने धेरै भए कोटा यत्ति हो अरू लान्न भन्न पनि नसक्ने, अचाक्ली ग¥यो बस समितिले ।’

बुटवल हुँदै नारायणगढ पुग्दा सुनियो, मुग्लिङ नारायणगढ खण्डको चार किलोलगायत ठाउँमा राति परेको झरीले खसेको पहिरोले सडक अवरुद्ध छ । हजारौं यात्रु र सवारी सडकमै अलपत्र छन् । नारायणगढ बस व्यवसायी समितिमा सम्पर्क गर्दा मुग्लिङ–नारायणगढ सडक अवरुद्ध छ भन्यो । चालक रानाले यात्रुतिर शब्दको पासो हान्दै भने, ‘एकजनाले ३ सय अरू थपे, गाडी हेटौंडा हुँदै नौबिवसे निस्कन सकिन्छ । लौ तपाईंहरू नै निर्णय गर्नुस् !’ ‘मरता क्या नही कर्ता’ हिन्दी कहावतझैं हामीले ‘त्वम शरणम्’ ग¥यौं । दिउँसो साढे २ बजे हेटौंडाको एक होटल अगाडि गाडी रोकियो । पहिले नै खाना अर्डर गरेर आएका पूर्वेली यात्रुको जमघट थियो होटलमा । ४ पिस कुखुराको मासु र भुजाको २ सय तिरियो, नतिरेसम्म पेटको आन्दोलन जारी थियो । हामीसँगै नवलपरासीबाट बस चढेको घुम्टे पण्डितले केराका कोसाले छाक टारे । फलफूल पसल खोजेकाले चालक रानाले हेटौंडाको मुख्य चोकमा लगेर गाडी रोके । समितिका कर्मचारीले ‘बिग्रेर हो बीच बजारमा बस रोकेको ?’ भनेर सोद्धा होइन भने पनि खप्की खाए । उता, पण्डितले ४ कोसा केरा मात्र किने । गाडी चलेपछि फेरि भोक लाग्यो । केही पाइएन । यो बाटोमा भन्दै आफन्तसँग फोनमा छट्टु कुरा गरे । 

मकवानपुरको भैंसे ब्यारेक कटेपछि ना.७ ख ४०३६ नम्बरको ट्रकमा २० वटा भैंसीलाई ३ जनाले ठटाउँदै गुडाएको देखियो । मणिग्राम, रूपन्देहीकी महिला (हामी चढेको बसमा थिइन्) ले प्रतिक्रिया व्यक्त गरिन्, ‘साँच्चै यमराजजस्ता रहेछन् यी दुष्ट, पुच्छर र नाकमा डोरीले बाँधेर ट्रकमा झुण्याएर नपुगेर हेर कुटेका !’ भैंसी नारायणगढबाट लाँदा बाटो नखुले मर्न सक्थ्यो त्यसैले छिटो राजधानीवासीलाई खुवाउन बाइरोडबाट हिँडालेको ट्रक चालकले बताए । तिनै महिलाका श्रीमान्ले अर्कै तर्क पेस गरे, ‘आखिर मार्न हिँडालेको हो त किन सजिलोसँग लानुप¥यो, मान्छेको (हाम्रो) त यो बेहाल छ । भैंसी कुट्नु के अपराध !’ 

हामी दिउँसो ४ बजे मकवानपुरको लामिडाँडा थियौं । चुनियाबजार पुग्दा हुस्सुले सडक ढाकेको थियो । ४ः२० मा लामिडाँडामा सडकमा सवारी ठप्प । ५ः१० मा खुलेझैं भयो, केही मिनेट चल्यो । हेरेको सेनाले आफ्नो ट्रक छिराउन जाम खुलाउन मिहिनेत गरेको रहेछ । सेनाको ट्रक गएपछि कसले मिलाउने साँघुरो सडकमा डिलक्स बस र ट्रक उछिनापाछिन गरेपछि सवारी ठप्प । बुटवल र वीरगन्ज हुँदै हेटौंडाबाट आएका सवारी अनि नौबिसे हुँदै गएका सवारी साँघुरो बाइरोड ठप्प चल्ने भन्दा रोकिनेक्रम बढी । जनपद, सशस्त्र र ट्राफिक प्रहरी त्यता कहाँ भेटिनु ? राज्य बेखबर । गाडी नगुड्दा हाम्रो बसका यात्री ५ नम्बर प्रदेश टुक्रन नदिन अर्घाखाँचीका माओवादी नेता टोपबहादुर रायमाझी, गुल्मीका कांग्रेस नेता चन्द्र भण्डारी र एमाले नेता गोकर्ण विष्ट, विष्णु पौडेललगायतले राम्रो अडान लिएका तर प्रदेशको राजधानी बुटवल वा दाङ राख्ने भन्ने कुरामा यी नेता विभाजित भएको तीतो प्रकट गर्दै थिए । बाहिर आकाशबाट पानी परेको थियो । भोक लागेर के गर्नु खानेकुराका पसल त्यता भेटिएनन् ।

अरू यात्रु प्रदेशको राजधानीका कुरा, भारतले नाकाबन्दी लगाएका बेला ओलीले लिएको अडानले स्थानीय तह निर्वाचनमा नागरिकले एमालेलाई भोट दिएर माया गरेको तर्क गर्दै थिए । एक यात्रुले भने, ‘प्रदेश र प्रतिनिधिसभामा कांग्रेस, माओवादी, मधेसवादी मिलेर भए पनि एमालेलाई पेल्ने खेल खेल्छन्, ओलीको बोली बेकम्मा सावित हुन्छ ।’ अर्काले उछिने, ‘अरूले पेल्नै पर्दैन, ओली, नेपाल र खनाल गुटको लडाइँले एमाले आफैं सिद्धिन्छ । स्मार्ट सिटी बनाउने भनेका विद्यासुन्दर शाक्य मोबाइल सेट र गाडी किन्ने कुराले विवादमा परे । त्यसको असर अबको चुनावमा हुन्छ ।’ मलाई भने पाल्पाबाट फोन आयो, ‘प्रेस बिग्रियो, भदौ १६ गतेको (पूर्णांक ११०२) गाउँले देउराली साप्ताहिक छपाइ गर्न मुस्किल प¥यो ।’ मैले केही भनिनँ, ओर्लिने मोडमा थियौं हामी । एकजना यात्रुले सानो पसलबाट चाउचाउ किनेर बाहिरबाटै चिच्याए, ‘१५ रूपैयाँको चाउचाउलाई सिधै ३० माग्यो, भोक लागेपछि जति माग्यो दिनै प¥यो ।’

अर्काले भने ‘यस्तो हुन्छ भनेको भए ३–४ कार्टुन चाउचाउ ल्याउँथें, खर्च उठ्दो रहेछ ।’ बस बाहिर निस्केको सुर्खेतबाट १४ गते बिहान हिँडेको बसका यात्रुले गुनासो गर्दै भने, ‘हामी हिजो हिँडेको कहिले पुगिने हो, काठमाडौं ? यो सडकमा सघाउन न प्रहरी न त जनप्रतिनिधि सबैलाई हतारो छ । कस्तो देशमा जन्मिएछ कुन्नि ?’ अहिले भारतले बनाएको त्रिभुवन राजपथको साँघुरो सडकलाई नेपालले पञ्चायत, बहुदल र गणतन्त्र कालमा पटक–पटक नाम फेर्नेसिवाय विस्तार र मर्मत गर्न आवश्यक ठानेन । रात पर्दै जाँदा यात्रु बालबालिका रुन थाले । वृद्धवृद्धा दिक्क मान्दै भन्न थाले, ‘हिँडेरै बरु पहिले अड्कल हुन्थ्यो, बाटोमा के खाने, कहाँ थकाइ मार्ने भन्ने कुराको तय हुन्थ्यो । अचेल बस चढेपछि झन् धोका पाइयो । न गन्तव्यमा भनेकै बेला पुगियो, न त किनेर खान नै पाइयो ।

पाल्पाबाट आएका उदय दरका सरले भने, ‘पश्चिम नेपाल बस व्यवसायी समितिअन्तर्गत भदौ १५ गते सानो–ठूलो भनेर पोखरा हुँदै २–३ वटा सवारीमा टिकट काटिदिएका रहेछन् । टिकटवाला यात्रुलाई (एउटै समयका) एउटा सवारीमा राखेर पठाउने अवस्था गरेको भए न हामीले (यात्रुले) दुःख पाइन्थ्यो न उनीहरूले पोखराबाट जाने भनेर झुक्याएर बुटवल झार्नुपथ्र्यो ।’ अर्का यात्रुले मुख खोले, ‘त्यहाँ पनि दलाल छन्, कमिसनको खेल चल्छ नि !’ पछाडि सिटमा कान्तिपुर दैनिक लेखिएको टिसर्ट लगाएका (पत्रकार हुन् होइनन् थाहा भएन) युवकसँग उनकी श्रीमती कानमा भन्दै थिइन्, ‘प्याड किन्न पाइएन, छुई भएको रगतको खोलो बग्यो ।’ सानो फुच्छे (सायद छोरा होला) रुँदै थियो, कहिले पुगिन्छ राजाको गाउँ ।’ बच्चाको कुरा सुनेपछि एकछिन हाँसो भयो । एक यात्रुले भने, राजाका पालामा बरु लुकेर पैसा खान्थे तर काम गर्थे । अचेल खुलेआम घुस खान्छन् तर काम गरिदिन्नन् । सबैतिर दुर्गति ! भूकम्पपीडितलाई अझै घर बनाउने पैसा दिएका छैनन् । कर्मचारी भनाउँदाले नेता र मन्त्रीलाई घुमाएका हुन् कि मन्त्री र नेता नै निकम्मा भएका हुन् भेउ पाइएन ।’

भदौ १५ गते बस चढ्दा चालक रानाले बेलुका ४ बजे काठमाडौं पुग्छ भने पनि हेटांैडा हुँदै २४ घण्टामा बल्ल कलंकी पुगें । स्मार्ट सिटीमा पुगेपछि धुलो, धुवाँ र धक्काको पिरलो शुरु भयो, देउवा सरकारको बखान यहाँ अटाएन । 

- बगनासकाली—१, चिर्तुङ्गधारा, पाल्पा


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.725/-

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

Mega Bank Ltd.
Top