​जीवनलाई जब धोकाले धकेल्छ


Saturday, 16 Sep, 2017 12:20 PM

रजनीशले कतै भनेका थिए, ‘विवाह त्यो पोखरी हो, जहाँ अविवाहितहरू पौडिन चाहन्छन् र पौडिएकाहरू त्यहाँबाट उम्कन चाहन्छन् ।’ थाहा छैन रजनीशले कुन परिवेश र पृष्ठभूमिका यी उक्ति भनेका थिए । लाग्छ, उनले मेरै लागि यो भनाइ भनेका हुन् ।  

अहिलेको जस्तो ‘ब्रोइलर’ पिरती गाउँमा पुगिसकेको थिएन । सुकौराका वीरेन्द्रसँग विवाह हुँदा मेरो उमेर १६ वर्ष मात्रै थियो । पढ्ने उमेर थियो । मनभरि चाहना थियो, पढेर केही गर्ने, केही बनेर समाजमा देखाउने । तर मेरा आफ्ना सारा रहर र खुसीलाई तिलाञ्जली दिएँ । सरकारी जागिर खाएको केटो हात माग्न घरकै दैलो टेक्न आएपछि बाबुआमाले पनि नाइँनास्ती नगरेरै हात दिनुभयो । उहाँहरूको चाहना थियो छोरीले जीवनभर सुख पाओस् । तर, जोबाट सुख र शान्तिको अपेक्षा गरिएकोथ्यो त्यसको एक अंश पनि पूरा हुन सकेन । 

१४ वर्ष अगाडि (०५८ सालमा) विवाह भएको थियो, मागी । त्यो वर्षको असोजमा ‘पराइको घरमा’ खुसी र सुखी जीउने सपना र बाचाका साथमा प्रवेश गरिएको थियो । जुन अपेक्षा गरेर बुबाआमाले हात दिनुभयो, त्यसअनुसार व्यवहार फिटिक्कै मैले त्यहाँ पाउन सकिनँ । त्यो घरबाट मैले बुहारीको नाता र खुसी पाउन सकिन । उसो त हामीले निर्माण गरेको समाजको संरचना नै यस्तै छ, विवाहमा बुहारीले के÷के दाइजो ल्याई भन्दै लुकीलुकी हेर्छ तर उसले के छाडेर आएकी छे त्यसको हेक्का कहिल्यै राख्दैन । त्यसको हिसाब–किताब कसैले÷कहिल्यै खोज्दैन । परिवारको खुसीको खातिर मैले के मात्र गरिनँ ? आफ्नो सारा खुसी, रहर, इच्छालाई तिलाञ्जली दिए । कैयौं समय आफ्नो खुशी पर्खिएँ पनि, तर फर्काउन सकेन त्यो घरले मेरो एक चिम्टी खुसी । 

विवाहको दिन मण्डपमा लगाइदिएको मंगलसुत्र र तिलहरी मेरा लागि जिन्दगीभरका लागि ‘हत्कडी’ बन्न पुग्यो । विवाह पछाडि सुरु भयो जिन्दगीका त्योभन्दा कठिनभन्दा कठिन परीक्षा । यो परीक्षाले आज पनि मलाई छाडेको छैन । र, जिन्दगीभर त्यही परीक्षासँग जुधिरहेँ÷जुधिरहेकै छु । कतिसम्म भने ५ वर्षसम्म त जन्मेको घरमै फर्किनै पाइन मैले ! १२ वर्ष बित्यो त्यो घरमा यसरी नै !
मैले देखेको र भोगेको दुःख, कष्ट सुनाउन मलाई केको अप्ठारो ? विवाहदेखि भोगेको यातना, न्यायको कथा र संघर्ष सबै सुनाउँदै छु दिल खोलेर, ताकी मजस्ता पीडित महिला श्रीमान््ले छाडेपछि मानसिक रूपमा कमजोर नभई यो समाजमा बस्न सकुन । चेलीहरूले आँशुको भेल बगाउने होइन कि जिउने साहस बटुल्नु छ । ‘विवाहपश्चात् समेत श्रीमान््सँग दोहोरो कुराकानी धेरै हुन सकेन । अहिले सम्झिन्छु, म बुहारीका रूपमा होइन खेताला÷कामदारको रूपमा श्रीमान्को घर भित्रिएको रहेछु । घरपरिवारले कुरा लगाउन थाले । श्रीमान््ले माया गर्न समेत छोडे । घरको काम गर्न मात्र लगेको व्यवहार देखाउन थाल्यो त्यो परिवारले । 

यत्रो बज्रपात पर्दा पनि माइतीपक्षले मेरो कुरा त्यो बेला सुनेन । माइती गएको समयमा सुनाउथें । म माथि भएको दुखेसो÷टोकासो । तर बिहे भएको घर छाड्न हुन्न भन्ने दबाव कायम थियो । श्रीमान्को घरमा अघोषित दास बनेर धेरै समय बिताए । जागिरे श्रीमान् बाहिर नै बस्नुहुन्थ्यो । उहाँले पनि माया गर्नु छोड्नुभयो । मेरो छोरा जन्मेको थियो । त्यो बेला पनि सासू÷ससुराले नराम्रो गर्नुभयो । पछि उहाँ जागिर छोडेर विदेश जानुभयो । म सबै सहेर बसेको थिएँ । विदेशमा हुँदा पनि त्यो टर्चर घरपरिवारबाट भइरह्यो । घरबाहिर जानै दिनुहुन्नथ्यो । कसैसँग बोलेको देखेमा शंका गर्ने बानी थियो । उसैसँग लहसिएको आरोप लाग्दथ्यो । त्यो पनि सहेरै बसे । पछि माइतमा आफन्तको मृत्यु भयो । जानैपथ्र्याे म गए । माइतको काम सकेर फेरि घर फर्के । घर जाँदा सासूले ढोग्नसमेत दिनुभएन । त्यो समयमा म बिरामी भए । पैसा थिएन । जेनतेन उपचार गरे । ०६८ सालमा त घरमै पस्न दिनुभएन । म घरबाहिरै सानो बच्चासँग बसेँ । त्यसपछि छोरा बोकेर माइतै फर्किएँ ।

यो पीडाको कहानीपछि उनले मैले आफ्नो आत्मविश्वास बलियो पारेर न्याय खोज्न थाले । त्यसबेला ओरेक संस्थाको नाम सुनेको थिएँ । सदरमुकामसम्म आएँ । ओरेक संस्थामा काम गर्ने एक जना दिदीमार्फत न्यायको खोजीमा निस्किएँ । सोही संस्थाका दिदीहरूको पहलमा अदालतमा मुद्दा दर्ज गराएको पनि हो ०६९ सालमा । अंशसहित छोडपत्रको मुद्दा चल्दै थियो । मैले यहाँ सीप सिक्दै थिएँ, सिलाइ–कटाइ र बुनाइ । अदालतले ६ महिनामै मुद्दामा किनारा लगायो । अदालतले ५ कठ्ठा १८ धुर जग्गा मलाई दिने र छोडपत्र गर्ने भनेर फैसला सुनायो । मुद्दा फैसला हुने दिन म र ससुरा मात्र अदालतमा थियांै । मन बेचैन थियो । उपस्थित भएको केही समयमा अदालतका न्यायाधीशले मुद्दाको फैसला सुनाउनुभयो । अदालतले न्याय दियो ।

यो भन्दा पनि ठूलो आत्मविश्वाश हो अहिले मसँग सीप छ । काम पनि प्रशस्त छ । अहिले म सक्षम महिला सामुदायिक संस्थामा आवद्ध छु । यहाँबाट सिलाइ–कटाइ र बुनाइका सामग्री उत्पादन गर्दै आएका छौं । सीप सिकेका कारण अब त जहाँ पनि टिक्न सक्ने भएको छु । नबिराउनु नडराउनु भनेझैं गलत गर्नु हँुदैन । अन्याय पनि सहेर बस्नु हँुदैन । अन्याय सहनु अर्काे ठूलो अत्याचार हो । न्यायका लागि आफैले पनि पहल थाल्नुपर्छ । सायद मेरो भाग्यमा मर्न लेखेको थिएन । म त्यो बेला धेरै निरास थिए । मान्छेले पनि किन बौलाउँदा हुन भन्ने लागेर आउथ्यो । कसैसँग आफ्ना कुरा भन्न सक्दैन थिए । तर, आज मेरो बाटै फेरियो । सुरुमा घर छाडेर हिँड्दा यो ज्यान कसरी र के गरेर पालांैला भन्ने चिन्ताले खाइरहेको थियो तर जहाँ इच्छा त्यहाँ उपाय । अहिले मेरो जीवनमा बहार आएको छ । साथमा श्रीमान् छैनन्, घरपरिवार आफन्त छैनन् त के भयो ? मसँग मेरो हातमा सीप छ । पाखुरा चल्छ । म त्यही पाखुरा बजाएर आफ्नो र बच्चाको ज्यान पाल्न समर्थ छु । मेरो जीवनको अनुभवले सिकाएको छ कि ‘सीप भएपछि ज्यान पाल्न सकिन्छ । झमझम पानी परेपछि कालो बादल फाटेर उघ्रिएको आकाशजस्तै आँखाअगाडि गन्तव्य छ्वाङ्ग भएझैं भएको छ अहिले । 

हातमा कपडा बुन्ने सीप थियो, यससँगै सिलाउन थालिन् कपडा अनि बुन्न थाले नयाँ नयाँ सपना । र, यहीँबाट शुरु भएको छ जिन्दगीको नयाँ अध्याय । त्यसयता यही ठाउँ र यही नै जीवन निर्वाहको आधार बन्दै आएको छ । सुनेको छु श्रीमान् अहिले कान्छी श्रीमती लिएर बसेका छन् । भावीले ललाटमा के कोरिदिएको छ, त्यो म जान्न चाहन्न्,खोज्न र खोतल्न पनि चाहन्न । आफ्नो र सन्तानको खुसीका खातिर परि आएका जस्तासुकै दुःख–कष्ट र चुनौती ब्यहोर्न तयार छु । निराश जीवनलाई कमजोर बनाउनुको साटो न्याय खोज्नतर्फ अग्रसर हुनुर्पछ । सीपलाई नै आधार बनाएर खुशी साथ जीवन बिताइरहेकी छु । कुनै बेलाकी निराश र आफूलाई कमजोर ठान्दथे । आजकल आफैंप्रति गर्व गर्छु । र आत्मविश्वाससाथ अरूमाझ प्रस्तुत हुन्छु । अहिले म आफैं गरिखाने भएको छु ।

टाटा बसिसकेको यो घाउ कन्याउने मेरो कुनै रहर होइन । बस, यो पत्रिकामा जब जब पढ्छु श्रीमान् पीडित भनिएका महिलाका कथा । तब उनीहरूलाई भन्न मन लाग्छ सीप सिक्नुहोस् र आत्मसम्मानसाथ बाँच्न सकिन्छ । परिस्थिति जस्तोसुकै आओस्, मनस्थिति बलियो बनाउनु छ । यसो हुन सकेको खण्डमा न कसैले हेप्छ न त कसैले चेप्छ । 

- प्रभा बस्नेत, हाल सामाखुसी काठमाडौं


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.725/-

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

Mega Bank Ltd.
Top