​कुकुरको कानको किर्नो, कता हो ऊ छिर्ने ?


Saturday, 16 Sep, 2017 12:18 PM

  • संकेत कोइराला

त्यसबेला युधिष्ठिरलाई स्वर्ग आउजाउमा कुनै रोकतोक थिएन । मानौँ अहिले अमेरिकी ग्रीनकार्ड पाउनेको रवाफजस्तै । यही अवसरको फाइदा उठाएर उनी बाक्लै स्वर्ग जाने–आउने गरिरहन्थे । युधिष्ठिरले पाएको यो सुविधाको फाइदा बाहनको नाताले कुकुरले पनि रामैसँग उठायो । युधिष्ठिर जतिपल्ट स्वर्ग उक्लिन्थे, कुकुर पछि लागिहाल्थ्यो । स्वर्गीय सुविधा कुकुरमा मात्र सीमित भइदिएको भए केही थिएन, तर कुकुरको कानमा टाँसिएको किर्नो पनि संयोगले युधिष्ठिरसरह नै स्वर्ग जान्थ्यो । हुन पनि हो, कुकुरको कान जाँच गर्ने कुरो पनि आएन ।

आखिर सत्ता, शक्ति उहिले न अहिले, त्यसको मूलभूत सार उही नै हो । तर, यो रवाफ धेरै समय टिकेन । विधिको विधान– महाभारत युद्ध सकिएपछि पाण्डव र कौरवका सन्तानको अन्त्य हुँदै गयो । यही नियमको पालना गर्दै पाण्डवहरूको पनि अन्त्य भयो । युधिष्ठिरलाई स्वर्गमा गएर आफ्ना सन्तान भेट्न मन लाग्यो । तर, विडम्बना स्वर्ग त सवै कौरवहरूको संख्याले भरिएको । आफूलाई स्वर्गको मसिहा ठान्ने पाण्डवहरू त सोच्दै नसोचेको नर्कमा पुगेका थिए । स्वर्गमा आफ्ना परिवारका सदस्य नभेटेपछि तिलमिलाएका युधिष्ठिरले रिसाएर देवराज इन्द्रसँग सोधे, ‘भगवान अन्यायी, दुराचारी, कपटी, बेइमानी, धूर्त बदमास् सबै यहाँ छन् । मेरा भाइहरू भने यहाँ कतै देख्दिनँ । होइन, यो कस्तो नियम हो ? मैले त बुझ्नै सकिनँ † म यी दुराचारीसाथ बस्न चाहन्नँ !’

नारदले युधिष्ठिरलाई सम्झाए, ‘यो पृथ्वी होइन, स्वर्गलोक हो । यहाँका आफ्नै नियम हुन्छन । दुर्योधनले युद्धधर्मको पालन गरेका थिए । सत्य धर्म पालनकै लागि ज्यानको पर्वाह गरेनन् । एउटा लोकमा भएको झगडा अर्को लोकमा ल्याएर तपाईंजस्ता महान व्यक्तिले शत्रुताको भाव राख्नु राम्रो होइन । यसका लागि केही समय भएपनि तपाईं नरकमा पुग्नैपर्छ ।’ युधिष्ठिरलाई नारदको तर्क मनासिव लाग्यो । उनी पनि केही समय त्यहीँ बसेर आफ्ना परिवारका सदस्यलाई नरकबासबाट मुक्ति गराए । गणतन्त्र ल्याएको दावी गर्ने माओवादी घमण्डको मूल्य युधिष्ठिरको आडमा स्वर्ग जाने कुकुर र किर्नोको हैसियतभन्दा माथि उठेन ।

गणतन्त्रले सबै दलका नेतालाई पालैपालो सत्ताको सारथि बनायो । अनि, तिनीहरूको आडमा सत्ताको स्वर्गीय आनन्द कतिले उठाए, त्यसको लेखाजोखा छैन । कुकुर त ठिक्कै हो । तर गणतन्त्रको राजमा किर्नोको दबदबा बेपत्तासँग बढ्यो । राजा ज्ञानेन्द्रका जिउमा टाँसिएका सवै किर्नो अहिले बालुवाटार, लाजिम्पाट र बालकोट दरबारमा बसाईं सरेका छन् । किर्नो त आखिर किर्नो नै हो । उसलाई न गणतन्त्र चाहिएको छ, न लोकतन्त्र । किर्नोको स्वार्थ हो– रगत चुस्नु । रगत नआउनेसँग उसको संगतै हुँदैन । दुईचार वर्षअघिसम्म सत्ता र शक्तिमा चोर बिरालोजस्तो राल चुहाउने तिनै पार्टी एण्ड कम्पनीहरू अहिले तिनै किर्नोहरूको बलमा खसी बजारमा बोका जोखेजस्तै मन्त्री, प्रधानमन्त्री जोखेर हिँड्दै छन् । आधा वर्षका करारका सरकार बनाइन्छन, भत्काइन्छन् । शीर्ष नेताहरू सिंहदरबारका पेटी ठेकेदार बनेका छन् ।

यिनै ठेकेदारहरूले स्थानीय निकायको चुनावपछि सिंहदरबार गाउँ पुगेको भन्दै दिनरात नगरा बजाइरहे । नेताहरूको दिव्यवाणी सुनेका उनका जनप्रतिनिधिको बर्दी भिरेका कार्यकर्ताहरू अहिले सिंहदरबारको मुखिया भएको भ्रममा छोइ नसक्नुको हैसियतमा पुगेका छन् । गाउँ, नगरका नाममा करोडौं रुपियाँ जम्मा भएपछि ल्यापटपदेखि गाडी, सडक खन्ने मेसिनका दलालहरू कमिसनको प्याकेज लिएर गाउँगाउँ पुगेका छन् । ढुकुटी खर्च गर्न उनीहरू प्रतिस्पर्धामा उत्रिएका छन् । राजश्व उठाउने भन्दा खाजश्व बढाउने प्रतिस्पर्धा तीब्र छ । स्तर सत्य चाहीँ के हो भने, यदि राजनीति पनि लोकसेवा पास गरेर आउनुपर्ने भएको भए निश्चित छ– अहिलेका अधिकांश नेता खसी बेच्ने हुन्थे । शंकै छ– एउटा खसी पनि मोल मिलाएर दिने हुत्ति तिनीहरूमा हुन्थ्यो या हुँदैनथ्यो । मान्छे मरेपछि कहाँ जान्छ ? स्वर्ग र नर्क हुन्छ कि हुँदैन ? यी सबै तर्क र बहसका विषय हुन् । तर, न्याय र विवेकको आँखा विशुद्ध भइदिने हो भने मानिसका लागि स्वर्ग र नर्क यही धर्तीमा छ । 

प्रहरी गेष्टहाउसमा पाहुना भइसकेका खुमबहादुर खड्का, जेपी गुप्ता र चूडामणि शर्माहरूलाई त्यसबेला लाग्थ्यो, ‘म नै राज्य हुँ ।’ यदि त्यसो नभइदिएको भए किताब बेचेको आम्दानी करोडौं लेख्दैनथे होला । नेताहरूलाई दिनैपिच्छे स्वादिष्ट रसपान र भीआईपी गाडी उपलब्ध गराउने मथुरा मास्केहरूलाई पनि लाग्थ्यो होला, ‘नेता चलाउने भएपछि मलाई कसले छुने ?’ तर, चराले सधैँ कमिला सिध्याउँदैन । चरा मरेपछि त्यसलाई सिध्याउने त उही कमिला नै हो नि † पोखरीमा हुञ्जेल ठूलो माछाले सानो माछा खान्छ, जब पोखरीको पानी सुक्छ नि, त्यो बेला दुबै माछा सखाप हुन्छ । राष्ट्रियता गीतमा नभई भावमा प्रकट हुनुपर्छ । स्वर्ग नर्क छुट्याउने सत्ययुगमा सत्यको पर्याय मानिने युधिष्ठिरले त आफ्नो स्वधर्म बचाउन नसकेको अवस्थामा राजनीतिको खोल ओढेका डेढ अक्कली ब्वाँसाहरूबाट त्यो अपेक्षा गर्नुजस्तो नालायकी अरु केही हुन सक्दैन ।

जो खुसी रहन चाहन्छ, उसलाई कसैले पनि दुखी बनाउन सक्दैन । जो दुखी रहन चाहन्छ, उ सुखमा पनि दुख खोजिरहन्छ । गुण एकान्तमा विकास हुन्छ भने चरित्र निर्माण संसारको कोलाहलमा हुन्छ । समाजमा देश जल्यो भनेर कुर्लिनेहरूको जमात बढ्यो । आफू आगो निभाउनु त कता हो कता बाल्टिनमा पानी लिएर जानेको बाटो छेक्ने र पेट्रोल खन्याउनेहरूको धुइरो लाग्दै गयो । समाज यस्तै अनियन्त्रित र अनुशासनहीन बन्दै गएपछि धमिलो खोलामा माछा मार्नेहरूको अनपेक्षित प्रवेश हुने हो । पर्खालको इँटा कसैले चोर्दैन, चलाउँदैन । जब इँटा बाटोमा छरिन्छ, त्यसलाई जसले पनि टिप्छन् ।

 सिंहदरबार पस्दा जनयुद्धको राप अंगाल्नेहरू निस्कँदा धनयुद्धका डन भएर निस्किए । ‘खाए मकै, नखाए भोकै’ को धरातलबाट आएका दौरा सुरुवालधारीहरू पिजा र वर्गरका सोखी देखिए । भातको ठाउँ भुजाले लियो । खाजा र भात खाने समय बद्लिएर लञ्च र डिनरमा प्रवेश ग¥यो । पहिला दौरा सुरुवाल प्रतिष्ठाका लागि लगाइन्थ्यो । अहिले अभिनयका लागि राष्ट्रिय पोसाक लगाइन्छ । जे जति बिग्रिएको, भत्किएको छ, ठोकेर भने हुन्छ– तिनै दौरा सुरुवाल लगाउनेहरूले कुठाउँमा हस्ताक्षर खेर फाल्दा मुलुक न गरी खाने, न मरी जाने अवस्थामा पुगेको हो । सन्तानलाई डाक्टर, इञ्जिनियर बनाउने लोभमा आफ्नो पदीय मर्यादा खरानी बनाउन तम्सिने बर्दीधारीहरूको संख्या गन्ने हो भने क्याल्कुलेटरको डिजिटले पनि भ्याउँदैन । पदीय मर्यादाभन्दा एजेन्ट हुनुको गौरवमा उनीहरू गर्व गर्छन् । देश बनाउने एजेण्डा लिएर एउटा चरो, मुसो सिंहदरवार पस्दैन् । यस्तो भिजन भएकालाई सिंहदरवारले मान्छे नै गन्दैन ।

चिल्लो गाडी, दामी सुट, शितलु चश्मा, औंलाभरि चट्केले जस्तो औंठी र मगमगाउने सेन्ट छर्किएर सिंहदरवार नै हरर बनाएर जानेहरू रेड कार्पेटका हकधार हुने गरेका छन् । शासन संयन्त्र यिनीहरूका अगाडि लम्पसार पर्छ । गाडी, राम्रो लुगा र महँगो सेन्ट लगाउनेलाई प्रहरीले पास खोज्दैन । यस्तासँग मन्त्रीको हिसाब–किताब मेल खान्छ । उनीहरूको एउटै एजेण्डा, सकेसम्म राजश्व छल्ने, नसके अंग्रेजी र प्राविधिक अक्षर घोलेर राजश्व मिनाहाका लागि घुक्र्याउने । एनआरएन, उद्योगी, लगानीकर्ता र निजीक्षेत्रको खोल ओढेर आउने यस्ता नटवरलालहरू सिंहदरबारमा यत्र, तत्र, सर्वत्र छरिएका छन् । अझ अचम्म त के छ भने, चिताउँदै नचिताएको सभ्य मानिस यस्ता मानिसको गाइड भएर हिँडेको हुन्छ । औँलाभरि औँठी लगाउने यस्ता नटवरलालहरूको पृष्ठभूमि खोतल्ने हो भने मानिसले लाएको टाईमा समेत बैंकको ऋण झुण्डिएको हुन्छ । जनताको कल्याण गर्न ल्याएको लोकतान्त्रिक गणतन्त्रले चौधरी, गोल्छा, खेतानहरूलाई राजनीतिको चुलो चौकोसम्म पु¥यायो । खुला र उदार अर्थतन्त्रका नाममा छोडिएको अनियन्त्रित साँढेले एउटै मानिसलाई हिङदेखि हर्दीसम्मको मालिक बनायो । मदिरा उत्पादक, बैंकर्स, चाउचाउदेखि सभासद्सम्मको खास्टो एउटैलाई ओढाइयो । जसले नीतिगत भ्रष्टाचारलाई थप मलजल पु¥यायो । 

अर्काथरि दलाल छन्, जसले पशुपतिको चन्दनदेखि तिरूपतिको लकेटसम्मलाई शक्तिकेन्द्र पस्ने बाटो बनाउने गरेका छन् । यस्तो अवस्थामा शक्तिमा रहनेले आपूm भलो भएर मात्र पुग्दैन, आफ्ना वरिपरिका मानिसको नियतमाथि दृष्टिगोचर गर्ने क्षमता राख्नुपर्छ । 
नेपाली नागरिकले एउटा एमआरपी बनाउँदा अहिलेसम्म नभोगेका कठिनाइ भोग्नुपर्छ । चिनेको र किनेको बाहेकका मानिसहरूले सरकारी सेवामा चढाउने निर्दोष नमस्ते लाचारी मात्रै बन्ने गरेको छ । विकास गर्नु भनेको भत्काएर अस्तव्यस्त बनाउनु होइन । यतिबेला काठमाडौका फुटपाथ पैदलयात्रीका लागि एम्बुसरह बनेका छन् । अघिल्लो सरकारका मन्त्री भन्दै थिए– ‘तीन वर्षमा लोडसेडिङ अन्त्य हुन्छ ।’ अहिलेकी मन्त्री बडो गर्वसाथ भन्दैछिन– ‘पाँच वर्षमा लोडसेडिङ अन्त्य गर्छौं ।’ त्यही कुर्सी, त्यही अधिकार, त्यही संयन्त्र तर बोल्ने चाहिँ मनपरी । एउटा आयोजना दुई वर्ष ढिला हुँदा राज्यले कति गुमाउनुपर्छ ? यसरी बिनालगाम बोल्नेलाई हेक्का छ ?

मन्त्रीहरू दशैँमा नयाँ लुगा लगाएको केटाकेटीजस्तो निर्वाचन क्षेत्रका आफू पढेको स्कूल, मितको छोराको विवाह, धर्मशालाको निरीक्षणमा रमाएका छन् । नेताहरूले आफ्ना सन्ततिलाई युरोप, अमेरिका पठाए । आइफोन र फेसबुक संस्कृतिमा हुर्काए । गाडी लिएर वर्षौंदेखि आफूले भोट पाएको ठाउँमा पुगे । तर, जनताको छोरालाई त्यही वातावरण दिनुपर्छ भन्ने हेक्का राखेनन् । ठूलाबडा चढेको गाडीको धुलो खानु मतदाताको नित्यकर्म बन्यो । मतदातालाई गाडी चढ्ने हैसियत बनाउने मार्गचित्र कसैले कोरेनन् । चुनाव जितेका कुनै जनप्रतिनिधिले भोट दिने र पाउनेका सन्तान एउटै स्कुलमा पढ्न पाउने अवसर दिलाउँछु भनेर उद्घोष गर्न सकेनन् । शिक्षा र स्वास्थ्य अधिकारको रूपमा स्थापित हुन सक्दैन भने बाँकी वाद र आदर्श दिन कट्नी मात्र हो साथी †


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.49,730/-

छापावाल

प्रति तोला

NRs.49,985/-

चांदी

प्रति तोला

NRs.664/-

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer)

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफर आज  (२०७५/०६/२९) देखि लागू भएको छ र अफर…

सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल…

राष्ट्रपतिद्वारा सिटिजन्स बैंक सम्मानित

प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरी थप शाखा संचालन

Public Notice
Top