​रोक्नै सकिएन, एमाले नै ठूलो हुन्छ


Saturday, 16 Sep, 2017 12:14 PM

  • सोनमछिरिङ शेर्पा, महामन्त्री, नेपाल लोकतान्त्रिक फोरम

मधेस र हिमाली क्षेत्रको समस्या नै भएको छ, चर्को जातिवादी नारा । तुलनात्मक रूपमा हिमाली क्षेत्रमा मधेसमा जत्तिको विकृत राजनीति छैन । तर, आङकाजी शेर्पाप्रवृत्तिका केही पात्रले हिमाली भेगको राजनीतिलाई विदेशी दाताकहाँ सुुम्पिने अस्त्र बनाएका छन् । त्यो धारलाई निरन्तर चुनौती दिँदै आएका व्यक्ति हुन्, सोनमछिरिङ शेर्पा । शेरबहादुर देउवा नेविसंघ सभापति हुँदाका केन्द्रीय सदस्य थिए । तर, राजनीतिलाई पञ्चयाततिर मोड्दै लगे । ०५४ मा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार बने । लामो समय राप्रपामा रहे पनि त्यहाँ टिकेनन् । गत वर्ष बाबुराम नेतृत्वको फोरमा प्रवेश गरे । तर, एक वर्ष नबित्दै उक्त पार्टी त्यागेर अहिले विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरममा चारमध्येका एक महामन्त्री छन् । 

० मंसिरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने कुरा छ । होला र ? 

– हाम्रो आन्तरिक राजनीतिको कारण निर्वाचन नरोकिनुपर्ने हो । तर, नेपालको राजनीतिमा जहिले पनि बाह्य शक्तिको प्रभाव रहँदै आएको छ । त्यही कारण नहुनसक्ने खतरा पनि देखिँदै गएको छ ।

० कसरी ?

– केही दिनअघि राजपाको घोषणापत्र सार्वजनिक भयो । त्यहाँ दुई नम्बर प्रदेशको निर्वाचन सम्पन्न भएसँगै फेरि संविधान संशोधन र अन्य केही माग अगाडि बढाएर निर्वाचन रोकिने सम्भावना छ । 

० उसो हो भने घोषित मितिमा सम्भव छैन ? 

– दोक्लाम विवादमा भारतले आफ्नो सेना फिर्ता लिएको छ । यो विवाद मच्चाएर विदेशी शक्तिहरूको नेपालमा खेल्ने सपना केही समयसम्मलाई पूरा नभए पनि राजपाको घोषणापत्रमार्फत केही नयाँ कुरा आएको छ ।

० फेरि पनि आङकाजीहरू जातीय मुद्दालाई उछालेर चुनावमा जालान् । कसरी प्रतिवाद गर्नुहुन्छ ? 

– हाम्रो पनि मुद्दा आदिवासी–जनजातिकै हो । पार्टीलाई आदिवासी–जनजातिकै बनाउने भनेर लागेका पनि हौँ । तर, हिजोको दिनमा जुन किसिमको सम्झौता र सहमति भएको थिया, ती सम्झौतालाई अगाडि बढाउने सम्बन्धमा हाम्रो पार्टीको अध्यक्ष अलिकति अनिच्छुक र शिथिल भएको पाएको छु । त्यही कारण पार्टीले चाहेजस्तो रफ्तार लिन सकेको छैन । मुद्दामा मात्र नभई समग्र रूपमै उहाँ शिथिल हुनुभयो । उहाँले हामीसँग जे प्रतिबद्धता व्यक्त गर्नुभएको थियो, त्यसलाई पालना गर्न पनि सक्नुभएन र नेतृत्व प्रदान गर्ने मामलामा पनि उहाँले कञ्जुस्याइँ गरिरहनुभएको छ । 

० जातीय मुद्दा बोक्नु कत्तिको जायज हो ?

– जायज छ । यदि, देशमा स्थायी शान्ति चाहने हो भने जनजाति, मधेसी, दलित सबैको मुद्दाको सामाधन हुनुपर्छ । अनि मात्र देशमा स्थायी शान्ति हुन्छ । होइन भने एकाथरी मान्छे सधैँ शोषणमा पर्ने र अर्काेथरी मान्छे सधैँ राज गर्ने चलन पृथ्वीनारायण शाहको पालादेखि रहँदै आयो । 

० विजय गच्छदारले मधेसीको मुद्दा छाडे भन्ने आरोप छ । त्यस्ता व्यक्तिले जनजातिको मुद्दालाई सम्बोधन गर्लान् र ?

– नेपाल लोकतान्त्रिक फोरमलाई राष्ट्रिय शक्तिका रूपमा उभ्याउने कुरा हामीले घोषित कार्यक्रममै उल्लेख गरेका छौँ । दोस्रो नबनाउने र पहिलो पार्टीका रूपमा स्थापित गर्ने भनेर मैले बुझाएको कार्ययोजनालाई विजय गच्छदारजीले केही पनि काँटछाँट नगरी पूर्णतः समर्थन गर्नुभयो । तर, अहिले ती कार्यक्रम लागू गर्ने सन्दर्भमा उहाँले त्यति ठूलो इच्छा देखाउनुभएन र पार्टी अहिले केही हदसम्म मन्द गतिमा हिँडिरहेको छ । उहाँले त्यति तदरुकता देखाइरहनुभएको छैन । 

० केही समयअघि मात्र पार्टी एकीकरण गरेकाहरूलाई मन्त्री बनाइएसँगै पार्टीमा विवाद चुलिएको चर्चा छ । वास्तविकता के हो ? 

– मन्त्री बन्ने विषयमा त्यति विवाद छैन । मन्त्री बन्नु र नबन्नुभन्दा पनि ठूलो कुरा पार्टीको नीति, कार्यक्रम र भविष्यलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा अलि सशक्त कार्यक्रम दिनुपर्छ । देशको समस्या समाधान गर्ने सन्दर्भमा विकल्प दिन सक्नुर्पछ । त्यही विकल्पको खोजीमा झन्डै ११ सय जनालाई लिएर म फोरम लोकतान्त्रिक पार्टीमा प्रवेश गरेको हुँ । बाबुराम भट्टराईले केही विकल्प दिन सक्नुभएन । उहाँले पटक–पटक आर्थिक समृद्धिको कुरा मात्र उठाउनुभयो । राजनीतिक समस्या समाधान भइसकेको छ भन्नुभयो । कहाँ भएको छ राजनीतिक समस्याको सामाधान ? दलित, आदिवासी, जनजातिहरूको समस्या ज्यूँ का त्यूँ छ । यी सबै समस्या सामाधान गर्न सकिएन भने कुनै न कुनै दिन यो मुलुकमा विस्फोटको अवस्था आउँछ । 

० तपाईं कुनै समय राप्रपामा हुनुहुन्थ्यो । किन पार्टी फेर्नुभएको ?

– राप्रपामा केन्द्रीय सदस्य थिएँ । तर, त्यहाँ नीति, सिद्धान्त र विचार नै छैन । राप्रपा विचारशून्य पार्टी हो । मधेसी, दलित जनजातिको विषयमा केही कार्यक्रमिक सोच छैन । पृथ्वीनारायण शाह र हिन्दूराष्ट्रको लिगेसी बोकेर हिँडिरहनुभएको छ । त्यो त राजनीतिक विचार नै होइन । सोह्रौँ–सत्रौँ शताव्दीको विचारलाई बोकेर बस्ने मान्छेहरू नेपालको राजनीतिमा ज्ञान नभएका मान्छे हुन । बाबुराम भट्टराईजीले पनि मलाई राम्रै स्थान दिनुभएको थियो । केन्द्रीय सचिवालय सदस्य र किसान विभागको प्रमुखको जिम्मेवारी पनि दिनुभएको हो । त्यति दिँदा पनि मैले नयाँ शक्ति किन त्याग गर्नुपर्ने भयो भने, म राजनीतिको एउटा इञ्जिनियर हुँ । मैले पहिला नै आँकलन गरिसकेको थिएँ कि, बाबुरामको पार्टीमा ठूलो ल्यान्डस्लाइड हुन्छ, पहिरो जाँदै छ । जति आएका छन्, सबै भाग्छन् भन्ने पनि थाहा थियो । मैले बाबुरामलाई तीन पटकसम्म नरम शब्दमा तपाईंको कार्यशैली तपाईंको रंगढंगका कारण पार्टी डुब्छ भनेँ । तर, उहाँले टेर्नुभएन । चौथो पटकमा चेतावनी दिएँ, तपार्इंको थोत्रो नाराले केही हुनेवाला छैन । तपार्इंसँग भिजन नै छैन । कुन जिल्लामा कुन कार्यकर्ता असन्तुष्ट छन्, त्यो तपाईंले छुट्याउनै सक्नुहुन्न । माओवादीमा ढुंगामूढा र बम हान्नेबाहेक अरूलाई चिन्नै सक्नुभएन ।

त्यस्ता मान्छेको भीड जम्मा गरेर केही हुँदैन भनेको हुँ । कार्यसमितिमा राखिएकाजति सबै बाहुन थिए । क्लष्टरको नारा त देखावटी मात्र रहेछ । एकहप्ता भित्रमा सुधार गर्नुभएन भने पार्टी छोड्छु भनेकै थिएँ । तर, केही सुधार भएन । विकल्पको खोजी गर्ने क्रममा मलाई वामदेवजीले पनि बोलाउनुभयो । प्रचण्डजीले पनि खोज्नुभयो । विजय गच्छदारजीसँग केही हदसम्म नीति तथा कार्यक्रममा सहमति हुने देखियो । एमालेका सबै उच्च नेताहरूसँग मेरो राम्रो सम्बन्ध छ । यति हुँदाहुँदै पनि नीति तथा कार्यक्रममा केही असहमति छन् । यसकारण एमालेमा प्रवेश गर्न सकिनँ । प्रचण्डसँग पनि जे कुरा भयो, त्यहाँबाट म सन्तुष्ट हुन सकिनँ र मैले फोरम लोकतान्त्रिकलाई रोजेँ । वैकल्पिक नेतृत्व दिन गच्छदारको पार्टीलाई रोजेको हुँ । एक वर्षसम्म पार्टीलाई कसरी चलाउने भनेर मैले कार्ययोजना नै दिएको थिएँ । पहिला शतप्रतिशत करेक्सन नगरी हुन्छ भन्नुभयो । पूर्णतः इमानदारीसाथ लागू गर्छु भनेर छाति पिटेर हात मिलाउनु भएको थियो । तर, लागु गर्ने समयमा उहाँ हच्किनुभयो । 

० गच्छदारको कुनचाहिँ केमेस्ट्रीले तपाईंलाई तानेको हो ? 

– आदिवासी, थारू मान्छे । हामी शेर्पाभन्दा पनि थारू आदिवासी भएको इतिहासविद्हरूले समेत स्विकारेका छन् । एकातिर मधेस र पहाडको बीचमा राजनीतिक तिक्तता थियो । त्यही तिक्ततालाई हल गर्न लागि पनि फोरम लोकतान्त्रिक रोजेको हुँ । अहिले पनि मलाई ठूलो पार्टीले बोलाइरहेको हो । पदभन्दा पनि मुद्दा र नीतिका कारण त्यो पार्टीलाई रोजेको हुँ । कांग्रेसमा बाहुनको भाग बढी भएका ठाँउमा मात्र दलित जनजातिलाई दिइने हो । कांग्रेसमा त कुरै भएन । एमालेका उच्चपदस्थ नेतासँग कुरा अहिले पनि चलिरहेको छ । राजनीति केही दिनका लागि हो । खानका लागि होइन । 

० बाबुराम भट्टराईको कमजोरी के रहेछ ? 

– जतिसुकै ठूलो कुरा गरे पनि उहाँ किचन क्याबिनेटबाट सञ्चालित हुनुहुन्छ । उहाँको बुद्धि विवेक सबैलाई किचन क्याबिनेटले खाइदिएको छ । त्यहाँका पनि पासाङ, मुक्ति प्रधान, वामदेव क्षेत्रीहरू लाखापाखा लागिसके । अब त उनै हिसिला, गंगा श्रेष्ठहरू मात्रै बाँकी रहे । 

० लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा तपाईं उहाँको सल्लाहकार । त्यही समयमा एमाले र राप्रपाबीचको सम्बन्ध सुधारको मध्यस्थकर्ता । पछिल्लो समय तपाईंले एमाले पार्टीलाई बिर्सनुभएको ? 

– मैले एमालेलाई बिर्सेको होइन । एमालेले मलाईचाहिँ बिर्सिएको हो । तत्कालीन अवस्थामा लोकेन्द्रबहादुर चन्द र एमालेबीचको समीकरण मिलाउने सुरुवात मैले गरेँ । ‘यस्तो सम्भावना छ’ भनेर मैले राजेश्वर देवकोटासँग राखेँ । राप्रपा र एमालेबीचको समीकरण तयार पनि भयो । माधव नेपालहरू तयार हुनुहुन्थ्यो, तर मनमोहन अधिकारीहरूको विरोधका कारण त्यो पूरा हुन सकेन । किनभने, शेरबहादुर देउवाविरुद्धको अविश्वासको प्रस्तावको प्रस्तावक मनमोहनजी । प्रस्ताव पास भएको राप्रपाको समर्थनले । त्यसपछि सरकारको नेतृत्व मनेमोहनजीले गर्ने कि लोकन्द्रबहादुरले भन्नेबारेमा दुबै पार्टीभित्र फरक फरक विचार आयो । केपी ओलीको फोन आयो, राजेश्वर देवकोटालाई । राप्रपालाई तयार पार्ने काम मैले गरेँ । वामदेवज्यूलाई पहिलोपटक गृहमन्त्री बनाउन सम्पूर्ण तागत र शक्ति लगाएँ, उहाँ बन्नुभयो । एमाले त्यतिखेर मेनस्ट्रिममा थिएन । राप्रपासँग जोडेर एमालेलाई सत्तामा पु¥याउने काम मैले नै गरेको हो । एमालेले मैले लगाएको गुन बिर्सियो । सरकारमा गइसकेपछि एमालेले मलाई खोजी नै गरेन । 

० पार्टी परिवर्तन गरिरहँदा व्यक्तिगत जीवनमा कत्तिको असर गर्दाेरहेछ ? 

– व्यक्तिगत जीवनमा केही अव्जेक्सन छैन । मैले आफ्नो स्वार्थका लागि गरेको पनि होइन । राम्रो कुराका लागि गर्दा केही अप्ठ्यारो हुँदैन । झण्डै १२ सय साथी लिएर म नयाँ शक्तिमा गएको थिएँ । त्यहाँ असन्तुष्ट भए त्यति नै साथीहरू लिएर फोरम लोकतान्त्रिकमा गए । म जहाँ गए पनि ती साथीहरू सँगै हुन्छन् । सोनम आफ्नो–आफ्नो व्यक्तिगत स्वार्थको पछाडि लाग्दैन भन्ने साथीहरूको मप्रतिको विश्वास छ । हामी जे गर्छौं, देशका लागि समाजका लागि गर्ने हो । त्यो कुरा कहीँबाट तयार हुन्छ भने म आफूलाई मेट्न पनि तयार छु । 

० गच्छदारले तपाईंको कुरा सुन्नुभएन भने ती १२ सय मान्छे लिएर फेरि अन्यन्त्रै जाने सोच पनि छ ? 

– अहिले नै त्यो परिस्थिति आइसकेको छैन । पार्टीमा संघर्ष गरिन्छ । गच्छदारलाई घच्घच्याउँदै छौँ । पुरानो कुरा सम्झाउँदैछौँ । उहाँले के गर्न चाहनुहुन्छ त्यो, फाइनल नभई, अरू साथीसँग सल्लाह नभई हचुवाको भरमा पार्टी छोड्दिनँ । बाबुरामजीलाई तीन पटक सम्झाएँ । चौथो पटक चेतावनी दिएँ । त्यसपछि मेरो फोनै उठाउन छाड्नुभयो । त्यो पछाडि विकल्प खोजेको हो । 

० राप्रपा फुट र जुटको शृंखलाबारे के भन्नुहुन्छ ? 

– पार्टी विचारशून्य छ । त्यहाँ इगोको लडाइँमात्र हो । पूर्वमन्त्रीहरूको इगोका कारण फुटिरहन्छ, जुटिरहन्छ । विचार नभएका कारण कुर्सीका भागबण्डा नमिल्दा फुट्ने जुट्ने भइरहन्छ । कुनै नीतिमा असन्तुष्ट भएर पार्टी फुट्यो भन्ने कहिल्यै सुनिएको छैन । त्यहाँ विचारको होइन, इगोको मात्र लडाई चल्छ । हाम्रो पार्टीमा आउनुस्, चुनाव लड्नुस् भनेर कमल थापा, दिलनाथ गिरीहरूले फोन पनि गर्नुभएको थियो । त्यो पार्टीमा गएर जनतासँग के भनेर भोट माग्ने ? म कमल थापाको मान्छे हुँ । मलाई भोट देउ भन्ने ? जनताले पत्याँउछन् ?
 
० आगामी निर्वाचनमा कुन पार्टीको पोजिसन के देख्नुहुन्छ ? 

– सबै परिस्थिति बुझ्दा एमाले नै पहिलो पार्टी हुनेभयो । एमाले जुन ढंगले अगाडि बढिरहेको छ, त्यसलाई शेरबहादुर र रामचन्द्र पौडेलजीको भिजनले पछाडि पार्न सक्दैन । अब हामीले पनि एमालेलाई रोक्न नसक्ने भयौँ । भित्र विवाद भए पनि एमालेलाई जनताले केही गर्छ कि भनेर हेरेका छन् । अहिले विवाद त कुन पार्टीमा छैन र ?


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

Mega Bank Ltd.
Top