​कहीँ ताजमहल, कहीँ काटमार


Saturday, 16 Sep, 2017 11:59 AM

  • राजेन्द्र स्थापित

मुगल सम्राट् साहजहाँ र उनकी दोस्री रानी मुमताज महलका चार छोरा र दुई छोरी थिए । जेठा छोरा दारा सुखो सबै धर्मप्रति उदार थिए । हिन्दू धर्म, दर्शन र इसाई धर्ममा रुचि राख्थे । बहिनी जहाँ आरासँग मिलेर सुफी पन्थलाई स्विकारे । सुफी पनि इस्लाम धर्मकै अंग हो तर पवित्र र स्वच्छ रहेर साधना र तपस्याद्वारा नै ईश्वरलाई पाउन सकिन्छ भन्ने मत राख्ने उदारवादी सम्प्रदाय हो । सुफी बनेपछि दाराले हिन्दी र अंग्रेजी साहित्यको पनि अध्ययन गरे । बाबु साहजहाँको पनि प्रिय । सम्राट्ले पुल्पुल्याएको र गद्दीको उत्तराधिकारी मानेको कुराले भाइहरू उनीप्रति ईष्र्या गर्थे ।

माइलो सुजा बहादुर त थिए तर अधिकांश समय भोगविलासमा लिप्त हुन्थे । अरूलाई आफ्नो बनाउनमा सिपालु । साहिँलो औरंगजेब वीर, उत्साही, चतुर, धूर्त र मुस्लिम धर्मप्रति कट्टर थिए । न्याय सम्पादन राम्रो गर्थे । साधारण जीवन निर्वाह गर्थे । कान्छा मुराद मूर्ख थिए । राजनीतिक दाउपेचबारे पूर्णतः अनभिज्ञ । बहादुर थिए तर कुनै कुरा पेटमा राख्दैनथे । राजकुमारी जहाँआरा शृंगारपटार गरेर बस्थिन् । साहजहाँका प्रिय । अर्की राजकुमारी रोशनआरा नराम्री थिइन् । शक्तिहीन । तर, बुद्धिमान । राम्री कवयित्री । दुवै दिदीबहिनी बूढीकन्या भएर दरबारमा बसेका थिए । दाजुहरूको गुटबन्दीमा खुलेर हिस्सा लिन्थे । 

दाराको बिहे १८ वर्षको उमेरमा १५ वर्षीया बहिनी नादिरासँग सन् १६३३ को फेबु्रअरी १ मा भयो । साहजहाँ अकबरपछि सम्राट् बनेका सलिम उर्फ जहाँगिरका दोस्री रानी जगत गोसाइनीतर्फका छोरा हुन् भनी नादिराका बाबु परवेज मिर्जा उनै जहाँगिरका तेस्रो रानी साहिबी जमाल बेगमका छोरा हुन् । अर्थात् नादिरा दाराका आफ्नै काका परबेजकी छोरी थिइन् । नादिरा अत्यन्त बुद्धिमती र सुन्दरी थिइन् । दारा र नादिरा एक–अर्कालाई औधी प्रेम गर्थे । दाम्पत्य जीवन निकै सुखी । दाराले अन्य स्त्रीसँग बिहे नगर्ने वाचा नै गरे तर दाराको वाचा धेरै दिन टिकेन । जर्जियाई युवतीलाई देखेपछि प्रेम गर्न थाले । धर्मको समेत पर्वाह नगरी पत्नी बनाए । पछि ती रानी उदयपुर बेगमको नाउँले चिनिइन् । दारा नृत्य र संगीतमा चासो राख्थे । यसै क्रममा नर्तकी रानादिललाई देखे । सडकमा नाचेर जीविकोपार्जन गर्दै आएकी, सुफी संगीत बजाउन र गाउन जान्ने अनाथ रानादिलसँग प्रेम गरे । सम्राट्को विरोधका बाबजुद बिहे गरी तेस्री पत्नी बनाए (अमर बन्न नसकेको एउटा प्रेम कथा, जनआस्था, अंक...) । यद्यपि नादिरा पछि आठ सन्तानको आमा बनिन् । 

दाराका सबैभन्दा ठूला शत्रु भाइ औरंगजेब नै थिए । तीन वर्षले कान्छा उनी दाजुको हत्या नै गर्न चाहन्थे । दारालाई यो कुरा थाहा थियो । तर, अध्ययन र धार्मिक कार्यक्रममा व्यस्त हुने गरेकाले चिन्ता गरेनन् । सन् १६३१ मा साम्राज्ञी मुमताज महलको मृत्युपछि दारा सम्राट्को दायाँ हात बने । राजा नबने पनि राजकाजको सम्पूर्ण काम गर्न थाले । सन् १६३९ मा साहजहाँले राजधानी परिवर्तनको इच्छा राखे । नयाँ राजधानी साहजहानावादमा सार्ने र दरबार १ सय ९ एकड भूमिमा फैलिएको हुनुपर्ने प्रस्ताव राखे । यही समय दारा अध्यात्मतर्फ अग्रसर भए । चित्रकार पनि बने । वेदको अध्ययन गरे । सन्त–महात्माबारे कलम चलाए । महापुरुषको जीवनी लेखे । यसैबीच, सन् १६५५ मा उनीद्वारा लिखित पुस्तक ‘मजमए–बहरिन’ (दुई सागरको मिलन) प्रकाशित भयो । पुस्तकमा हिन्दु–ब्रह्मविद्या र सुफी पन्थको रहस्यबारे प्रकाश पारेका थिए । पुस्तक बजारमा निस्केपछि कट्टरपन्थी मुसलमान समूहभित्र हलचल मच्चियो । जानाजान कुरान–शरीफको प्रशंसा नगरेको आरोप लगाइयो । निकै आलोचित बने दारा । औरंगजेवले दाजु दाराको विरोध गराउन सक्दो मद्दत गरे । 

सन् १७५७ मा सम्राट् साहजहाँ अन्तिम अवस्थामा पुगेको जानकारी सबै छोराछोरीले पाए । दारालाई राजगद्दी सुम्पन आफूसँगै राखेको र आफूहरूलाई टाढाको प्रान्तको सुवेदार बनाइ पठाएको भनी साहजहाँ र दारा दुवैको विरोध गरे । दारालाई ‘सौभाग्यशाली युवराज’ घोषणा गरेका र अलाहावाद, गुजरात र काबुलको गभर्नर बनाएकोमा चर्को आलोचना गरे । साहजहाँका माहिला छोरा साहसुजाले बंगालमै बसी आफूलाई मुगल सम्राट् घोषित गरे । आफ्नो नाउँमा टकसमेत चलाए । कान्छा पुत्र मुरादले पनि गुजरातमा बसी त्यसै गरे । त्यसबेला औरंगजेब दक्षिणमा थिए । हडबडाएर मुरादकोमा पुगे र दाराले विष ख्वाई सम्राट्लाई मार्न लागेको हल्ला फिँजाए । यसबीच साहजहाँले दारालाई बिहारको पनि गभर्नर बनाइदिए । यसबाट दाराका तीनै भाइ झनै उत्तेजित भए । दाराले पनि बाबुलाई विष ख्वाएर मार्न लागेको भनी फैलाएको हल्ला पचाउन सकेनन् र बंगाल र गुजरातमा सेना पठाए । लगत्तै दाराबाहेकका तीनै छोराले सम्राट्विरुद्ध युद्धको घोषणा गरे । औरंगजेव सुजाकहाँ गए । एक लाख नगद दिई लोभ्याए । मुसलमानप्रति पक्षपात गरेको, सुजाको अयोग्यताप्रति औंला ठड्याएको भन्दै दाराविरुद्ध उक्साए । मूर्ख सुजा चाँडै औरंगजेवको जालमा फसे । औरंगजेवलाई आफ्नो फौज सुम्पे । तीनै भाइको संयुक्त फौजले धरामत नाउँको स्थानमा बादसाहको फौजलाई परास्त ग¥यो ।

त्यसो त दारा मृदुभाषी, नम्र र उदार थिए तर आफूलाई सर्वश्रेष्ठ बुद्धिमान सम्झन्थे । यो ब्रह्माण्डमा आफूलाई शिक्षा–दिक्षा दिनसक्ने व्यक्ति कोही छैनन् भन्ने घमण्ड गर्थे । सल्लाह दिने साहस गर्नेमाथि अत्याचार गर्न लगाउँथे । डराउने र धम्क्याउनेमा त निपूण नै थिए । उनले सम्राट्का सबैभन्दा विश्वासी मन्त्री सहादुल्लाह खानलाई टाउको काटेर मारेपछि सम्राट्ले समेत उनलाई अक्षम्य अपराध गरेको भनी सजाय दिन खोजेका थिए तर पुत्रमोहमा परेकाले त्यसो गर्ने हिम्मत गरेनन् । साहजहाँ सिकिस्त बिरामी भइसक्दा पनि अरू भाइहरूलाई बिरामी बाबुसँग भेट्न दिएनन् । भेट्न आएका सुजालाई लखेट्न लगाए ।

घमण्डी भएकैले बादशाही सेना पराजित बनेको खबर उनको निम्ति असह्य बन्यो । बंगालतर्फबाट आइरहेको फौजको वास्तै नगरी आगरातर्फ बढे । सेनासहित व्यापारी, पसले, मजदुर, कलाकार, भाँडाकुँडा बेच्नेहरूलाई समेत युद्धस्थलमा लगे । उनीसित चार लाखको विशाल सेना थियो । जबकि औरंगजेबसँग ४० हजार । तर औरंगजेब चतुर थिए । युद्ध रणनीति जान्थे । त्यसैले सेनाको सहयोगमा दारालाई छक्याए । दाराले युद्ध जितिसेकका थिए । औरंगजेबसँग केही हजार सेना मात्र बाँकी थिए । दारा हात्तीमा विराजमान थिए । पहिला एकपटक दाराद्वारा अपमानित भइसकेका खलिलुल्लाहले बिन्ती गर्दै भने, ‘हजरत सलामत, विजयी हुनुभएकोमा बधाई ! तपाईं अब हात्तीबाट ओर्लेर घोडामाथि बस्नुस् । कतैबाट आएको बाण तपार्इंमाथि लाग्न सक्छ । यसो भयो भने जितिसकेको बाजी पनि उल्टिन बेर लाग्दैन ।’

दारा जब हात्तीबाट ओर्ले, सेनामाझ दारा मारिएको हल्ला फैलिए । सेनाको मनोबल गि¥यो । मौकाको फाइदा उठाउँदै औरंगजेबले निर्णायक आक्रमण गरे । दारा भागेर गुजरात पसे । औरंगजेब आगरातर्फ बढे र आठ दिनपछि सन् १६५८ को जुन ८ मा बहिनी रोशनआराको सहयोग लिएर साहजहाँलाई बन्दी बनाए । र, सम्राट् बने । दाराले गुजरातका गभर्नर साह नवाज खानको सहयोग लिई फेरि युद्ध गरे । पराजित बनेपछि सिन्धतर्फ भागे । त्यहाँका अफगानी सरदार मलिक खानले धोका दिएर दारालाई औरंगजेवसमक्ष सुम्पिदिए । दारालाई सिक्रीले बाँधेर दिल्ली लगियो । औरंगजेवले गर्नुसम्म बेइज्जत गरे । धेरै वर्षपहिला दारा आफ्ना बाबु साहजहाँसँगै साहजहानावाद गएका थिए । राज्यको सबैभन्दा राम्रो हात्तीमा चढी सुन–चाँदी मुद्रा फ्याँकेर र हजारौं मगन्तेलाई आपसमा लढाएर मज्जा लिएका थिए । औरंगजेवले त्यही दिन सम्झे र दारालाई राज्यको सबैभन्दा नराम्रो, कुरूप र सानो पोथी हात्तीमा राखेर शहर घुमाउन आदेश दिए । तर, यसका बाबजुद ४४ वर्षीय दारा शान्त थिए । बाटोमा एकजना मगन्ते चिच्याउँदै कराएको सुने, ‘ओह, अब मेरो के हुन्छ ? ...म मात्र तिम्रो दयामा बाँचिरहेको थिएँ तर आज तिमी नै यो अवस्थामा पुग्यौ । तिमीसित यतिखेर हामीलाई दिने केही छैन ।’

विवश र लाचार दाराले आफूले ओढिरहेको वस्त्र उतारेर मगन्तेलाई दिन फ्याँके तर त्यो पनि बीचैमा मलिक जीवन नाउँ गरेको पठानले टिपे । त्यसपछि भने सर्वसाधारणको धैर्य टुट्यो । सर्वसाधारण पहिल्यै रिसले चुर थिए किनभने दाराको यति बेइज्जत गरिएको थियो कि शरीरमा युवराजहरूले लगाउने गरेको मोतीको हार र टाउकोमा पगडी त थिएन नै, लुगाको नाउँमा मगन्तेहरूले लगाउनेजस्तो झुत्रो लुगा लगाउन दिइएको थियो । सर्वसाधारण सैनिकमाथि खनिए । धेरैले नराम्रोसँग पिटाइ खाए । बेइज्जत गरी सडक–गल्लीमा घुमाइसकेपछि दाराविरुद्ध मुद्दा चलाइयो । धर्मद्रोहको आरोपमा मुल्लाहरूको इजलासले दारालाई मृत्युदण्ड दिने फैसला ग¥यो । दाराका पुत्र मिर सुलेमानलाई पनि औरंगजेवले जेलमा कोचे । 

सन् १९५९ को सेप्टेम्बर ९ मा दारा र सुलेमान जेलको कोठाभित्र खाना पकाइरहेका थिए । औरंगजेवका खास मान्छे नजिरले दाराको टाउको छिनाइदिए । र, दरबार पठाइदिए । औरंगजेवले टाउकोलाई थालमा राख्न लगाए, पानीले धुन दिए । टाउको जब दाराकै हो भन्ने पुष्टि भयो, रोए । चिच्याउँदै आदेश दिए, ‘यो अभागीको दर्दनाक टाउको यहाँबाट लिएर गइहाल । अनि टाउको र शरीर हुमायुँ (दोस्रो मुगल सम्राट्) को कब्रमा लगेर गाडिदेऊ ।’ औरंगजेवले दाराको परिवारलाई पनि छाडेनन् । छोरा सुलेमानलाई मार्न लगाए र अर्का छोरा सिफिर मिर्जालाई ग्वालियरमा थुने । दाराकी पत्नी नादिरा ज्यान बचाउँदै भागिन् । लाहोरसम्म पुगिन् ।

तर, दुःख सहन नसकी वीष खाएर आत्महत्या गरिन् । औरंगजेवले दाराकी जर्जियाइ पत्नी उदयपुरीलाई हरम (जनानाघर) मा कैद गर्न लगाए भने कान्छी पत्नी रानादिललाई ‘रानी’ बनाउने असफल कोसिससम्म गरे । औरंगजेवले दारालाई मार्ने गुलाम नजिर खान र हात्ती चढाएर सडक घुमाउने जीवन खानलाई शुरुमा त पुरस्कृत गरे तर खुशी हुँदै घर फर्कंदै गरेका दुवैलाई बाटोमै टाउको छिनाएर मार्न लगाए । साहजहाँको निधन आगरा दरबारको नजरबन्दमै सन् १६६६ मा भयो । चर्चित विश्वयात्री तथा मुगल दरबारमा काम गरेका इटलीका नागरिक निकोलाइ मनुसीले औरंगजेवले दाराको काटिएको टाउको थालमा राखेर साहजहाँको खाने टेबलमा राख्न लगाएको उल्लेख गरेका छन् ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

Mega Bank Ltd.
Top