​बाबुरामले किन त्यागे दुःख–सुखका सहयात्री ?


Saturday, 16 Sep, 2017 11:56 AM

  • बिदुर खड्का


नयाँ शक्ति पार्टी नेपाली राजनीति बजारमा एउटा नयाँ दलको रूपमा आउँदा माओवादी जनयुद्धलाई एउटा निर्णायक अवस्थामा पु¥याएर बाहिरिएका नेता डा. बाबुराम भट्टराईले नेतृत्व गरेको यो नयाँ पार्टीमा उनका माओवादी सहयात्री मात्रै थिएनन् अपितु अन्य राजनीतिक दल र गैरराजनीतिक पृष्ठभूमिबाट पनि प्रशस्त मान्छेहरूको केन्द्रीकरण भयो ।

विविध पृष्ठभूमि, विचार र अनुभवका क्षेत्रबाट विविध ज्ञानका साथ मान्छेहरू यसमा आए । तर, विविधताबीच एकत्व बनाएर पार्टी सञ्चालन गर्न नसक्दा आज यसका नेता–कार्यकर्ता पुरेतले जम्मा पारेका दाने गाईजस्ता पचासतिर मुन्टो फर्काएर हिँडेका छन् । चारजना केन्द्रीय सह–संयोजक र दर्जनौं केन्द्रीय नेताले पार्टी छाडिसकेका छन् । सुरुवाती चरणदेखि जोडिएका हजारौं समर्थक सदस्य निरास भएका छन् । नेतृत्वले गम्भीर भएर आत्मसमीक्षा गर्ने हिम्मत नगर्दा परिस्थिति धेरै जटिल बनेको छ । अभियान्ताहरू समीक्षा गर्न थालेका छन्, के नयाँ भनिएको अभियान गलत थियो वा सही ?

डा. बाबुरामको विचारमा नेपालमा मूलभूत रूपमा राजनीतिक क्रान्ति सकिएको र आर्थिक समृद्धिको कार्यलाई अहिले पहिलो राष्ट्रिय राजनीतिको मुद्दा बनाउनुपर्छ । सो विचारलाई कार्यन्वयन गर्न मौजुदा दलमा विविध कारणले इच्छाशक्ति देखिएन । त्यो रिक्ततालाई पूरा गर्न नयाँ संस्कार र संस्कृतिसहितको नयाँ राजनीतिक वैकल्पिक शक्तिको निर्माण गर्ने भनेर अभियान सुरु गरियो । माओवादीबाट एक्लै बाहिरिएका बाबुरामले थुप्रै बहस, छलफल र अन्तरक्रिया गरेर मूलधारको राजनीतिभन्दा बाहिरका मान्छेलाई लिएर कम्युनिस्टको फ्लेवर नआउने पार्टी बनाउने प्रयास गरे । त्यसबखत उनले बढी आशा गरेका लीलामणि पौडेल, प्रदीप गिरी, गगन थापा, रामकुमारी झाँक्री, विवेकशील दल, रवीन्द्र मिश्रलगायतले त सुरुमै बाबुरामलाई विश्वास गर्न र साथ दिन इन्कार गरे । दोमन भएर साथ दिएका मुमाराम खनाल, रामेश्वर खनाल, लिली थापा, महेश कर्मोचा, रमेश सुनुवार, अशोक शर्मा, सरोज खनाल, विकासानन्दलगायतले पनि विस्तारै छाडिसकेका छन् । 

यो बीचमा पार्टीमा पासाङ शेर्पा, परशुराम तामाङ, कुलबहादुर तामाङलगायत दर्जनौं पहिचानवादी पार्टीहरू ध्रुवीकृत भए । मधेसका मधेसवादीदेखि पहाडका पहिचानवादीसम्म, माओवादीदेखि राजावादीसम्म र एमाले–कांग्रेसदेखि भुरेटाकुरे झोले दलसम्म यसमा मिसिन आइपुगे । शून्यबाट सुरु गरिएको, संगठन, विधि र विचारको प्रारूप ठोस नभएको नयाँ दल भएकाले यसबारे सघन बहस र छलफल आवश्यक थियो, हँुदै थियो । सबैले आफूले जाने÷देखेको र ठानेको सही भनेर त्यसलाई पुष्टि गर्ने कोणबाट कमिटीगत र खुला रूपमा पनि बहस गरियो । खुला रूपमा बहस गरेर विशाल सचेत नेपाली जनतालाई त्यसमा सहभागी गराएर नयाँ वैकल्पिक राजनीतिको विचार र कार्यदिशा महाधिवेशनले संश्लेषण गर्नेछ भनेर यसले आफ्नो विधान र दस्ताबेजमा पनि उल्लेख गरेको छ । बहसमा सबैको लवज पृष्ठभागको भोगाइ र अनुभूतिमिश्रित हुन्थ्यो र सो हुनु स्वाभाविक थियो । किनकि पदार्थको गति र घटनाक्रमको ऐतिहासिक शृंखलाले धारणाको निर्माण र विकास गर्ने भएकाले आफूले भोगेको जीवनबाटै सबैभन्दा बढी प्रभावित हुने हो । यसो हुँदा पार्टी निर्माणको बहसमा स्वाभाविक रूपमा विविधता पैदा हुनु अवस्यंभावी हुन जान्थ्यो, भयो । 

सोचाइ र विचारमा विविधता हुनु समस्या होइन । त्यसले त नयाँ विचार जन्माउन मद्दत नै गर्छ । तर, विचार र क्षमताको विविधतालाई स्वीकार गर्न नसक्नु मूल समस्या हो । अरूको विचार, विशिष्टता र भावनालाई आत्मसात गर्न नसक्नु, सम्मान गर्न नसक्नु नै मूल समस्या बन्यो । 

असाध्यै असहिष्णु र सामन्तवादी चिन्तन पार्टीभित्र निर्णायक रूपमा हावी हुनु नै अहिले नयाँ शक्ति पार्टी छिन्नभिन्न हुनुको मूल कारण हो । 
पार्टी स्थापनाको झण्डै दुई वर्षको अवधिमा जसरी डा.बाबुरामले एक्लै पार्टी परित्याग गरेर अवकाशप्राप्त सरकारी कर्मचारी, सुरक्षा अधिकारी, गैरसरकारी संस्थाका डलर फलाउने किसान, रंगकर्मी र विभिन्न शक्तिकेन्द्रको इसारामा उनीहरूको तलब खाएर नेपालको राजनीति र राष्ट्रियतामाथि बलात्कारी कलम चलाउने केही लेखक÷विश्लेषक भनौंदाहरू इत्यादिलाई समेटेर बुद्धिबिलासहरूको बसिबियाँलो गर्ने चौतारी बनाउन खोजेका थिए, हो त्यही स्थानमा अहिले उनको पार्टी आइपुगेको छ । 

कसरी आइपुग्यो त सुरुकै अवस्थामा नयाँ शक्ति पार्टी अहिले ? यस छोटो समयमा पार्टीभित्र धेरै उथलपुथलकारी घटनाको शृंखला चल्यो । डम्बर खतिवडा, केशव दाहाल, परशुराम खापुङ, वीरेन्द्र पोखरेल, मदन राई, प्रशान्त सिंह, डा. प्रवीण मिश्र, डा. राजेन्द्र केसी, सुनील खड्का (पारस शाहको प्रतिनिधि), मुमाराम खनाल, रामेश्वर खनाल, लिली थापा, करिष्मा मानन्धर, महेश कर्मोचा, अशोक शर्मा, सरोज खनाल, विकासानन्दलगायत जोगी तथा धार्मिक प्रतिनिधि र सबै पूर्वसुरक्षा अधिकारी नयाँ शक्ति पार्टीलाई गैरकम्युनिस्ट पार्टी बनाउने मात्रै होइन कि कम्युनिस्टविरोधी पार्टी बनाउनुपर्छ भन्ने लबीबाट प्रस्तुत भए । त्यसका लागि उनीहरू असाध्यै गैरराजनीतिक गालीगलौज र आरोपप्रत्यारोपमा ओर्लिए । उनीहरूको प्राथमिक मिसन नै पार्टीभित्र रहेका कम्युनिस्ट विचारप्रति सहानुभूति राख्ने नेताहरूलाई लखेट्ने वा प्यारालाइज्ड गर्ने भन्नेमा केन्द्रित रह्यो ।

जसमा उनीहरूले संयोजकको मनोविज्ञान र चाहना, माओवादी जनयुद्धमा अन्तरविरोधका कारण पार्टीभित्रै उत्पीडनमा परेका नेता र अहिले नयाँ पार्टीमा बाबुरामबाहेकका सबै प्रतिस्पर्धीलाई जसरी पनि फिल्डबाट हटाएर फिल्ड खालि गरेर त्यस स्थानमा आफू बिराजमान हुने चरम महŒवाकांक्षा पालेर बसेका कुण्ठाधारी नागहरूलाई मिहिन ढंगले प्रयोग गरे । कम्युनिस्ट विचारसँग सहानुभूति राख्नेहरूविरुद्ध कम्युनिस्ट विचारकै पक्षपातीहरूलाई प्रयोग गर्न सफल भएका छन्, साम्राज्यवादका अवैध सन्तानहरू । चरम महत्वाकांक्षा र शक्तिमा पुग्ने भोकका कारण स्वार्थका सपनाधारीहरू एकठाउँमा उभिए र बाबुरामलाई ढाल बनाए । उनलाई जीवनभरि साथ दिएका, उनको राजनीतिक जीवनका हरेक सुख–दुःखमा आँखा चिम्लिएर साथ दिएका सहकर्मीहरूमाथि धावा बोलिएको छ, यसले स्वयं बाबुरामलाई डुबाउने निश्चित देखिन्छ ।

जुन नेतृत्वले छेउमा बसेर डा.साप भन्दै कनाउनेलाई मात्रै नजिकको ठान्ने तर सिर्जनात्मक आलोचना गर्नेलाई शत्रु देख्न थाल्छ, त्यसको पतन धेरै टाढा हुँदैन । जुन अहिले पनि उनका पूर्वसहकर्मी चाहँदैनन् भन्ने उनीहरूले बाबुरालाई धेरै कमजोर बनाउनुहुँदैन भनेर गरेको चिन्ताबाट प्रस्ट हुन्छ । जसरी पनि बाबुरामले अबको राजनीतिक आन्दोलन र समृद्धिको आन्दोलनको समग्र नेतृत्व गर्नुपर्छ भनेर सार्वजनिक लबी गरिरहेको दखिन्छ ।

अनि के गलत गरे त देवेन्द्र पौडेलहरूले ? अपराध के हो उनीहरूको ? जसका लागि डम्बर खतिवडा र केशव दाहालहरू यतिविघ्न क्रुद्ध भए उनीहरूसँग ? स्पष्टीकरणको पर्याप्त समय पनि नदिएर हतार–हतार किन साधारण सदस्यसम्म पनि नरहनेगरी निष्कासन गर्न आतुरता देखाए ? यसबारे बुझ्न पनि बाबुरामको माओवादीबाट बहिर्गमनमै पुग्नुपर्ने हुन्छ ।

 बाबुराम माओवादीबाट एक्लै किन निस्किए ? निस्किएर उनले कस्तो अभियान चलाए ? कस्ताखाले मान्छेहरूको समूह तयार पार्न हिँडे र जीवनभरि साथ दिएका सहकर्मीहरू कसैलाई पनि एकवचन जानकारी नगराई, जाऊँ पनि नभनी, सल्लाहसमेत नगरी किन सबैलाई अन्योलमा छाडेर एक्लै निस्किए ? यसको जवाफ उनीसँग इतिहासले अनन्तसम्म मागिरहनेछ । उनको विचार र लाइनलाई साथ दिएर पार्टीभित्र र बाहिर पनि ज्यान खुकुरीको धारमा राखेर उनकै अडानका लागि राजनीतिक शून्यतामा झर्न र मर्न तयार भएका साथीहरू के मूर्ख र बेवकुफ हुन् भन्दै हुनुहुन्छ बाबुराम ? के बाबुरामको व्यक्तित्व र विद्वताबाहेक माओवादी आन्दोलनसँग अर्को कुनै अस्त्र बाँकी नै थिएन ? अरू कुनै नेताको कुनै राजनीतिक मूल्य नै छैन वा थिएन ? के उनलाई जोगाउनुपर्छ भनेर उनलाई साथ दिनेजति सबै विचारशून्य हलीगोठाला मात्रै थिए ? उनको अहिलेको व्यवहारले उनको यही मनोविज्ञानलाई उजागर गरिरहेको छ । 

असोज ९ गते उनले पार्टी छाडेपछि उनलाई साथ दिएका उनको विचारलाई समर्थन गरेका नेता अलमलमा परेर उनको निवासमा गई अब हामी के गरौं, तपार्इंसँग आऊँ कि माओवादीमै बसौं भनेर सोध्नु गलत थियो त ? तपार्इं यसरी अरूलाई मूर्ख सावित गर्दै किन एक्लै निस्कनुभयो भनेर नसोध्नु गलत भयो त ? अहिलेको वस्तुस्थितिले यो प्रश्नको जवाफ मागिरहेको छ । उनले माओवादी छाडेपछि उनले बनाउन खोजेको पार्टीको स्वरूप स्पष्ट बुझाएर साथीहरूलाई भ्रममुक्त किन नगरेको ? माक्र्सवाद वा कम्युनिस्ट विचार छाडिन्न भनेर किन ढाँटेको ? यसरी ढाँटेर माओवादीबाट विशाल हिस्सा तपाईंको अभियानमा सामेल किन गराएको ? अनि त्यही पंक्तिसँग अहिले अरू कसैलाई खुसी पार्ने नाममा किन दुस्मनको जस्तो व्यवहार गरेको ? यसको जवाफ बाबुराम भट्टराईले दिनैपर्छ, किन कि उनी संयोजक हुन् यो पार्टीको ।

माओवादीइतरका अधिकांश मानिसले देवेन्द्र पौडेल, कुमार पौडेल, वामदेव क्षत्री, हिसिला यमी, मुक्ति प्रधान, कल्पना धमला, बलावती शर्मालगायत पूर्वमाओवादी नेताहरू समस्याको रूपमा देखाए । उनीहरूमाथि नाकमा औंलाले घोच्ने गरी देखाएर यिनको अनुहारले पार्टी माओवादीजस्तो भयो, यिनले तुरुन्तै पार्टी छाडिहाल्नुपर्छ वा जिम्मेवारी त्याग्नुपर्छ भनेर एकसूत्रीय रटान हरेक बैठकमा लगाइरहँदा अन्य नेता र बाबुरामले त्यसलाई हल गर्नुको सट्टा ती व्यक्ति रिसाउलान् कि, भड्केर पार्टी छाड्लान् कि भनेर डराउँदै उनीहरूलाई पुलपुल्याएर राखिरहे । देवेन्द्रहरूमाथि काइते ढंगले प्रहार भइरहँदा मखलेल भएर आनन्द लिइरहे । जसको परिणाम पार्टीभित्र विचार निर्माणको बहस गर्न उत्साहित एउटा तप्कालाई मिहिन ढंगले कत्लेआम गर्ने काम भयो । 

कुनै पनि पार्टीमा जीवन नबिताएका राजनीतिभन्दा बाहिर रहेका मान्छेको मात्रै सहभागिताले पार्टी बन्ने नदेखेपछि बाबुरामले पार्टीमा जस्ता पनि पार्टी र मान्छेलाई आँखा चिम्लिएर भिœयाए   । जसको नमुना हामी सो पार्टीभित्र अहिले पनि स्पष्ट देख्न सक्छौं । यसरी विचारशून्य अवस्थामा जस्ता पनि पार्टी र दल समाहित गर्नु, राजनीतिक आन्दोलन सकियो भनेर घोषणा गरेको बिन्दुबाट सुरु गरिएको पार्टीमा पहिचान र उत्पीडनबाट मुक्तिजस्ता राजनीतिक आन्दोलनको आधारभूत तत्व प्राप्तिको आन्दोलन र नारालाई स्विकार्दै एकता गर्नुले भर्खरै आर्थिक तथा राष्ट्रिय समृद्धिको नारालाई बोक्न सक्ने अवस्था रहेन । त्यसैले केशव दाहालहरूले यसबाट अत्तालिएर पहिचावादी र कम्युनिस्ट तुरुन्तै पार्टी छाड भनेर फर्मान जारी गर्न तम्सिए । राजनीतिक आन्दोलनको फरक मोर्चाका रूपमा आर्थिक तथा राष्ट्रिय समृद्धिको आन्दोलनलाई नबुझ्नु उनीहरूमा रहेको अल्पज्ञानको कारण हो । 

पहिचानवादी, मधेसवादी, साम्यवादी, पँुजीवादीलगायत सबै पार्टी र व्यक्ति–प्रवृत्तिसँग हतारहतार ध्रुवीकरणको नाममा पार्टी एकता गर्न नीतिगत रूपमै तम्सनु राजनीतिक शक्ति प्राप्त गर्ने भोक हो । राजनीतिक शक्ति राजनीतिक सत्ता प्राप्तिका लागि हो र सत्ता राष्ट्रिय समृद्धि कार्यन्वयन गर्न हो । यति सिधा र सोझो कुरालाई घुमाइ–घुमाइ सर्वसाधारणले बुझ्नै नसक्ने गरी किन अल्झाइरहेको ? तपाईंको हातमा राजनीतिक सत्ता छैन भने तपाईंको योजना जति नै सुन्दर भए पनि त्यो लागू हँुदैन । यदि राजनीतिक सत्ता प्राप्तिका लागि जस्ता मान्छे र दलहरूसँग पनि तपार्इं एकता र सम्झौता गरिरहनुभएको छ भने परिवर्तनको नेतृत्व गरेका अहिलेसम्मका सबैभन्दा अग्रगामी दलहरू जो सापेक्षित रूपमा अरूले भन्दा बढी अग्रगामी मुद्दाको प्रतिनिधित्व गर्छन् र त्यसको हकदार छन्, ती शक्तिसँग सकेसम्म एकता, नभए कार्यगत एकता वा चुनावमा संयुक्त मोर्च बनाएर जानुपर्छ भन्ने अनुमानित विचार बैठकमा राख्दा माओवादीमा हामफाल्न खोज्यो भनेर विषयवस्तुलाई विषयान्तर गरेर चरित्रहत्या गर्नेतिर डम्बर कम्पनी लाग्यो ।

उनीहरूले भन्ने गरेका अपरिभाषित फ्रन्टिस्ट नवउदारवादको ऐजेरुलाई देवेन्द्रहरू स्विकारेर बहसमा जान तयार भए । देवेन्द्रहरूले राखेको राजनीतिक सत्ताप्राप्तिको मार्गलाई बहसमा समेत झर्न नदिएर साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्कासन गर्न हतारिनुले कुन मनोविज्ञान, वैकल्पिक राजनीतिक संस्कार र फ्रन्टिजमको प्रतिनिधित्व गर्छ त ? के कसैको धारणा र विचारलाई स्वतन्त्रपूर्वक बहसमा विचरण गर्न प्रतिबन्ध लगाउने, विचार सिर्जनामा बन्ध्याकरण गर्ने, तिमीले मनोमानी खटाएर निर्धारण गरिदिएको चौघेरो डब्बाभित्र मैले मेरो धारणा र विचार बनाउनुपर्ने, यही हो तिम्रो फ्रन्टिस्ट राजनीति ? कि फन्टुस् राजनीति ?


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

Mega Bank Ltd.
Top