चेलीको धोकाले फाँसीको फन्दा


Saturday, 9 Sep, 2017 12:06 PM

  • राजेन्द्र स्थापित

खट् ! खट् !! खट् !!!
खट् ! खट् !! खट् !!!

औंशीको रात । आकाश ढाकिने गरी कालो बादल । पानी पर्न भर्खरै रोकिएको । ‘यस्तो अँध्यारो रातमा ढोका खट्खटाउने को ? उठ्नुस, बाहिर कोही आइपुगेका छन् । लालटिन कता छ ?’

‘तिमी त यस्तो कुरा गर्दैछौ, मानौं माइतबाट उपहार लिएर कोही आएका छन् ।’

पत्नीले लोग्नेलाई फेरि उठाउने कोसिस गर्दै सोधिन्, ‘उठ्ने हैन र भन्या ?’

लोग्ने भुत्भुताउँदै र अल्छी मान्दै उठे । ढोका नजिक पुगेर कराए, ‘यति राति ढोका खट्खटाउने को हो ?’

‘भिनाजु म, सानो स्वरले बोल्नुस् । ढोका छिटो खोल्नुस् ।’ नरम स्वरमा फेरि सोधे, ‘को हो भाइ ?’

‘म ...मधुकर !’

ढोका खुल्यो । पत्नी पनि दौडेर ढोकैनिर पुगिन् । स्वर परिचितजस्तो लागेपछि प्रशन्न हुँदै सोधिन्, ‘ए, मधुकर भाइ ? सबै ठीकठाक त छ नि !’
‘रक्षाबन्धन नजिक आइसक्यो । त्यसैले आएँ दिदी । ठीक त केही पनि छैन । ...केही नसोध्दा हुन्छ । कति कष्ट सहेर लुक्दै–भाग्दै यहाँ आइपुगेँ । हामी दुई दाजुभाइको पछि अंग्रेज सरकार यस्तो गरी लागिरिहेको छ कि भनिसाध्य छैन । के थाहा फेरि हाम्रो भेट हुन्छ कि हुँदैन ! रक्षाबन्धनको दिनमा दुःखी बन्नुहोला भनेर भेट्न आइहालेको । पहिल्यै आउन चाहन्थेँ तर पानी परेको प¥यै, आउनै सकिन । तपाईं मलाई आजै राखी बाँधिदिनोस्, म गैहाल्छु ।’

‘ठीक छ भाइ, तिमी आरामले सुत । भोलि बिहान बाँकी कुराकानी गरौंला ।’

दिदी र भाइको यो संवाद भारतीय इतिहासमा अंकित छ । मधुकर साह बुँदेला क्रान्तिका सूत्रधार थिए । भाइ गणेशन उनका दायाँ हात थिए । यी दाजुभाइ नरहुतका सरदार विजयबहादुरका पुत्र थिए । यो घटना सन् १८५७ को क्रान्तिअगाडिको हो । त्यसबेलासम्ममा देशको कुनाकाप्चामा विद्रोहको आगो दन्किसकेको थियो तर अंग्रेजहरुले चाल पाउन सकेका थिएनन् । इष्ट इण्डिया कम्पनी भारतमाथि पकड जमाउन उद्यत थियो । ब्रिटिश प्रतिनिधिहरु विशाल भारतमाथि राज्यसत्ता चलाउन पाएर दंग थिए । यसबीच मध्य भारतको ठूलो राज्य बुँदेलाखण्डमा विद्रोह शुरु भयो । त्यहाँका मुखिया र सरदारहरु क्रान्तिको झण्डामुनि गोलबद्ध भए । सन् १८२० मा बेलायतको कम्पनी सरकारले यो क्षेत्रमा पकड कायम गर्न सागर (मध्यप्रदेशको प्रमुख शहर) र नर्मदा प्रदेशलाई मिलाएर एक प्रशासनीय इकाइ बनायो र त्यसलाई चलाउने जिम्मा एकजना बेलायतीलाई दियो । नर्मदा प्रदेश अंग्रेजले पेशवा र भोंसलेहरुबाट लिएको थियो ।

यी प्रदेश भीरपाखा, ठूला पहाडका नदीको पानी वा प्रवाहले काटेर बनाएका साँघुरा बाटा (घाँटी) र घना जंगलले भरिएको थियो । जहाँ समथर भूभाग छ, त्यहाँ नरसिंहपुर, सागर, होशंगावाद र जबलपुरजस्ता शहर थिए । गोंड, लोधी र बुँदेल राजपुत यहाँका निवासी । उब्जाउ जमिन प्रशस्त भएर पनि गरिब थिए । ब्रिटिश सरकारले उठाउने गरेको भूमिकर, त्रुटिपूर्ण न्याय तथा प्रशासन व्यवस्था गरिबीको प्रमुख कारण थियो । जसका कारण सर्वसाधारण पनि कम्पनी सरकारप्रति असन्तुष्ट बने । सन् १८३९ देखि १८४२ सम्म अफगानिस्तानसित लडेको युद्धमा पराजय भोगेपछि अंग्रेजको प्रतिष्ठा गि¥यो । झाँसीमा रामचन्द्र रघुनाथ रावले पुनः गद्दी पाउने हल्ला चल्यो । यसै हल्लाबाट प्रेरणा पाई बुँदेलाखण्डका जिगनी र बिल्हारीका ठाकुरहरु पनि अंग्रेजविरोधी बने ।

झाँसीबाट १५ किमी टाढाको मध्यप्रदेशस्थित शहर ओरछाका महाराज ताज सिंहले त आफ्ना सचिव हरिती साहलाई फतेहपुर र घ्रिगी नै पठाए, त्यहाँका प्रशासकहरुलाई सहयोग गर्न । उनी झाँसीलाई जस्तै ओरछालाई पनि अंग्रेजले अधीनमा नपारोस् भन्ने चाहन्थे । सागर र नर्मदा प्रदेशका अंग्रेज कमिश्नर फ्रेजर अत्यन्त चिन्तित बनिसकेका थिए । किनभने नरहुतका सरदार विजयबहादुरका दुवै छोरा मधुकर साह र गणेशनले क्रान्तिको विगुल बजाइसकेका थिए । नेतृत्व हातमा लिइसकेका थिए ।

भयो के भने, मधुकरले होलीको उत्सवमा नाच्न एउटी नर्तकीलाई मनाइसकेका थिए तर नजिकैको थानाका अंग्रेज प्रहरीले ती नर्तकीको अपहरण गरिदिए । ठूलो विवाद खडा भयो । राजपुतहरुले यसलाई प्रतिष्ठाको विषय बनाए । मधुकर यो अपमानबाट तिल्मिलाए । त्यसो त जमीन हडपेर भूमिहीन बनाइदिएदेखि नै अंग्रेजदेखि रुष्ट थिए । न्यायिक सुनुवाइ पनि भएन । भूमिहीन बन्नुपरेको क्रोध, आफूले छानेकी नर्तकीको अपहरणपछिको अपमानबाट उत्तेजित भइ भाइ गणेशनको सहयोगमा सन् १८४२ को अप्रिल ८ मा नरहुत प्रहरी थानामाथि धावा बोले । यो आक्रमणपछि अन्य सरदारहरुको पनि हौसला बढ्यो । सबै मधुकरको सहायतामा जुटे । जवाहर सिंह बुँदेलाले त इसरवाडा गाउँमै आगो लगाइदिए । सरदार पन्छन सिंह, दरियाव सिंह, अजित सिंह, लक्ष्मण सिंह र परिक्षित पनि मधुकरसँग मिल्न पुगे । उनीहरुले खिमलसा गाउँमा आगजनी गरे । बंगाल पल्टनमाथि पनि आक्रमण गरिदिए । यद्यपि अंग्रेज लेफ्टिनेन्ट ट्रेननले सबैलाई खेदे । बाबजुद विद्रोही बुँदेलाहरुले हार मानेनन् । नर्मदाको कतिपय महत्वपूर्ण स्थानमा मोर्चाबन्दी गरे । भित्री शहरलाई नाकाबन्दीमा पारे ।

बेल्हारी घाटमा सरदार चिमन, दरियाघाटमा बृजभूषण जमादार, सागर घाटमा राव माखनसिंह र जीरा घाटमा सरदार तुहल्काले मोर्चा सम्हालेर बसे । चारैतिरबाट नाकाबन्दीमा परेपछि ब्रिटिश गभर्नर जनरल लर्ड एलनबरो र सेनाध्यक्ष दुवै त्रसित बने । किनभने यसैबेला उनीहरु अफगानिस्तानमा गुमेको आफ्नो प्रतिष्ठा पुनस्र्थापना गर्न लाग्दै पनि थिए । त्यसो त बुँदेलाखण्ड अंग्रेज सैन्यका लागि परिचित पनि थिएन । ठाकुर मदन सिंह क्रान्तिसँग मिलेका थिए तर अंग्रेजसित पनि मित्रता थियो । त्यसैले अंग्रेजले उनको सहयोग लियो । मार्गदर्शक बनायो तर मदन सिंहले अंग्रेजहरुलाई जंगलभित्रै अल्मल्याइदिए । अंग्रेजहरुले निस्कने बाटो नै पहिल्याउन सकेनन् । बरु यसबीच मदन सिंहले क्रान्तिकारी साथीहरुलाई सूचना दिए । अंग्रेजहरुले जंगलमै नराम्रोसँग पिटाइ खाए । केही सीप नलागेपछि गभर्नर जनरल एलनबरोले ‘फुटाऊ र शासन गर’ को नीति समाते । इलाहावाद, नागपुर, झाँसी, कानपुर, इटावाबाट फौज बोलाए । यी सबैको कमाण्ड सम्हाल्ने जिम्मा मेजर स्लिमनलाई सुम्पे । विद्रोही क्रान्तिकारीहरुलाई समाउन होल्कर, दतिया, झाँसी, विजानोर, पन्ना, छत्तरपुर, शाहगढ र रिंवाका महाराजाहरुसँग मद्दत मागे । सरकारको तर्फबाट हिन्दी भाषामा इस्तिहार पनि छाप्न लगाए । विद्रोहीहरुलाई समात्न सहयोग गर्नेलाई ठूलो धनराशी इनाम दिने घोषणा गरे । कम्पनी सरकार सागर र नर्मदा प्रदेशमा शान्ति स्थापना गर्न लागिपरेको, किसान, जमिन्दार तथा सर्वसाधारण जनताको सुरक्षाको ग्यारेन्टी लिने, कुनै कारणवश न्याय पाउनबाट वञ्चित भएका जो कसैलाई पनि न्याय दिने वचन दिए । 

इनामको राशि यति धेरै थियो कि लोभलालचमा दाजुभाइ नै शत्रु बन्न पुगे । स्वार्थवश कतिपय क्रान्तिबाट पछि हटे । शाहगढका राजाले कम्पनी सरकारबाट बहुमूल्य आभुषण लिने गरी भाइ लक्ष्मण सिंहलाई क्षमायाचना गर्न लगाई क्रान्तिलाई धोका दिए । कबर्धाका जमिन्दारले आन्दोलनका नेता नर्मदावक्षलाई समात्न मद्दत गरे । चन्देरीका राजाले पाँच हजार रुपैयाँ इनाम पाउने लोभमा गिरवरका सरदार परिक्षितलाई समातेर अंग्रेज सरकारलाई सुपुर्दगी गरिदिए । राजा हिरदेश जबलपुर जेलमा बन्दी बने । मधुकर साह ज्यान बचाउँदै भाग्दै हिँडे । अन्त्यमा मध्यरातमा दिदीको घरमा शरण लिन पुगे, राखी बाँध्न लगाउने बहाना बनाएर । ‘सबै कुुरो ठीक छ, भोलि बिहान बाँकी कुरा गरौंला’ भन्ने दिदीको आश्वासन पाएपछि मधुकर सुत्न गए, थाकेकाले तुरुन्तै गहिरो निद्रा प¥यो ।

एकछिनपछि नै कसैले ढोका खट्खटायो । बाहिर बन्दुक बोकेका सिपाही थिए । बन्दुक तेस्र्याइ मधुकरलाई बन्दी बनाए । जसको हातबाट राखी बाँध्न पुगेका थिए, तिनै दिदीले राजा मर्दनसिंहसित मिलेर इनामको लोभमा भाइ मधुकरलाई हत्कडी लगाउन दिइन् । मधुकरले दिदीसँग किन यसो गरेको भनेर सोधे । धोकेबाज दिदी मौन बसिरहिन् । दुई दिनपछि उनका भाइ गणेशन पनि पक्राउ परे । सागरको अदालतमा दुवै दाजुभाइविरुद्ध मुद्दा चल्यो । गणेशनलाई देशबाट धपाउने र मधुकरलाई फाँसी दिने फैसला सुनाइयो । विद्रोहमा लागेका अन्यलाई हतोत्साहित र सर्वसाधारण जनतामा आतंक र डर पैदा गर्न मधुकरलाई सबैको अगाडि नै फाँसी दिइयो । तर, जहाँ फाँसी दिइयो, त्यहाँ स्थानीयले मधुकरको शालिक ठड्याए । प्रशासनले शालिक ढाल्ने कोसिस ग¥यो तर सकेन । सागरमा मधुकर पुस्तकालय र मधुकर रोड आजपर्यन्त छ ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

Mega Bank Ltd.
Top