​कम्पनीसँग हारेँ, प्रचण्डलाई बाई–बाई


Saturday, 9 Sep, 2017 11:29 AM

  • योगेन्द्र घिसिङ

मैले सोच–विचार गरेरै माओवादी केन्द्र र सो पार्टीको सांसदबाट राजीनामा दिएको हुँ । पार्टीभित्र बस्न त पार्टीको आधारभूत कुरा हुनुप¥यो नि ! माओवादीमा त्यो आधारभूत कुरा नै सकियो । वामपन्थीहरूले भन्ने गरेको जनवाद र अन्तरपार्टी लोकतन्त्र सकिएपछि त्यहाँ बस्नुको अर्थ छैन । गतिशील राजनीतिक यात्रीका लागि ढोका र बाटो सधैं खुला हुनुपर्छ तर माओवादी रनभुल्ल भयो । शान्ति प्रक्रियापछिको १२ वर्षे राजनीतिक अवधिमा इमान्दारलाई नाकाबन्दी लगाएर मुख्य नेतृत्वलाई एउटा समूहले घेर्ने र फाइदा लिने प्रवृत्ति हाबी भयो । यससम्बन्धमा पार्टी अध्यक्ष कमरेडलाई पनि पटकपटक जानकारी दिएकै हो तर पनि सुनुवाइ भएन ।

प्रचण्ड आफैंमा खराब होइनन् । उनका केही बाध्यता होलान् । जनयुद्ध वा शान्तिप्रक्रियापछिका केही कमजोरीकै कारण पनि मौन बस्नुपर्ने उनको बाध्यता होला । तर, पार्टीभित्र अलि बढी हाबी भएर ‘महरा एन्ड वर्षमान कम्पनी’ ले प्रचण्डको ल्याप्चेमा आफ्नो मनोमानी पार्टीको नाममा लादिरहेका छन् । यस्तै, ठेकेदारी शैलीका दादागिरीका कारण वैद्यजीले ढोका र बाटो नपाएर विस्फोट हुनुभो । विप्लवजी, बाबुरामजी पनि ढोका र बाटो नपाएरै विस्फोट हुनुभएको हो । यस्तो अझै हुन्छ । माओवादीमा यस्तो एउटा अवैध कम्पनी छ । अरू पार्टीमा महाधिवेशनबाट वैधानिक भएकै कम्पनीले गर्छ सबै चिज । तर, माओवादीमा यो कम्पनीलाई काउन्टर दिने कोही निस्किएन । बरु लुरुलुरु आफ्नो बाटो लागे । प्रचण्डपछि बाबुराम र किरणजी नै हो राजनीतिक लाइनमा काउन्टर दिनसक्ने । उहाँहरू जानुभो । बादल र अनन्त दुई जना अब महाधिवेशन भइहाल्यो भने प्रचण्डपछि अध्यक्ष महासचिव मिलाएरै लिउँला भन्ने लाइनमा हुनुहुन्छ । नारायणकाजी असन्तुष्टिको नाममा मिडियावाजी गर्ने, एक÷दुई सिट मन्त्री वा अरू केही भागबण्डा लिएर बस्ने हो । अनि कसले बोल्छ ? 

पविर्तित अवस्थाका लागि पार्टीको राजनीतिक, रणनीतिक र कार्यनीतिक बाटो नै बनाउन नसकिरहेको अवस्थामा छ, माओवादी । राजनीतिक लाइनका लागि छलफल नै हुँदैन । आफ्नो लाभ हेरेर, तत्कालीन कार्यनीति बनाएर कम्पनीले माओवादीलाई डोहो¥याइरहेको छ । सरकार बनाउने र ढाल्नेलगायत काममा यो कम्पनी हाबी छ । श्रमजीवी, किसान, मजदुर, जनजाति, मधेसी, दलित, मुस्लिम आदिको सभ्यता र संस्कृतिको विकास अनि नागरिकको समृद्धिको एजेन्डा त भुलेको नै देखियो । परिवर्तन र रूपान्तरणका लागि रगत बगाएकाहरूले दिशाहीन गोलचक्करमा फस्नुभन्दा बाटो खोज्नु नै उचित छ । 

सत्ता पाउनु र सरकार चलाउनु फरक हो । माओवादीले सत्ताको सपना देख्यो, देखायो । तर, सरकार र केही थान मन्त्रीहरूमा अल्झिएर सरकार बनाउने र ढाल्ने खेलमा अल्झिरह्यो । हरेक पार्टीमा हुनुपर्ने लोकतान्त्रिक संस्कृति र वामपन्थी पार्टीहरूमा हुने भन्ने गरिएको जनवाद माओवादीमा छैन । माओवादी ढोका र बाटो नभएको गोलघरजस्तो भइसकेको छ । यो अवस्थामा सरकारमा हुनु र नहुनुले उपलब्धिको मापन हुन सक्दैन । राजनीतिमा आफ्नो योग्यता, क्ष्मता र संकल्पसहितको गतिशीलता अपेक्षा गरेका कार्यकर्ताको व्यवस्थापन नहुनु हरेक राजनीतिक पार्टीका लागि समस्या हो । कांग्रेस–एमालेले आन्तरिक लोकतन्त्रको अभ्यास गरेका छन् । माओवादीले त त्यसमा अझ प्रगतिशील सिर्जनात्मकता देखाउनुपर्नेमा १२ वर्षदेखि जमेको पोखरीजस्तो भएको छ ।

युद्धकालीन दिन र त्यो बेला जनतालाई देखाएकै सपनाका आधारमा राजनीतिक हिसाबले जनतालाई अधिकारसम्पन्न बनाइयो तर अधिकारले मात्रै हुँदैन । जनतालाई आर्थिक, सामाजिक हिसाबले समृद्ध पार्न जरुरी छ । त्यो कार्यनीति र कार्यभार अहिलेको नेतृत्वले पूरा गर्न सकिरहेको छैन । 

शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा निर्वाचित गर्न पार्टीले समझदारी गरेर ह्विप लगाएको हो । मैले देउवालाई मतदान गरिनँ । परिस्थितिवश आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निर्वाचित हुँदा पनि म मतदानस्थलमा जानै लाग्दा ढोका बन्द भएर बाहिर परें । मेरो शारीरिक कमजोरीका कारण समेत पार्टीभित्रका ठेकेदारले एमालेको डिजाइनमा भोट हाल्न नआएको भन्ने आरोप लगाए । प्रचण्डलाई प्रधानमन्त्रीमा मतदान गर्ने समयमा अनुपस्थित भएर एमालेसँग पैसा लिएको समेत भ्रमपूर्ण र घटिया अराजनीतिक आरोप लगाए । मेरो अनुपस्थितिको विषयमा प्रचण्डसमेत कन्भिन्स हुनुहुन्थ्यो । 

शान्ति प्रक्रियापछिका १२ वर्षमा माओवादी क्रमशः क्षय हुँदै गएको छ । इमान्दार, राजनीतिक रूपमा प्रशिक्षित कार्यकर्ताको व्यवस्थापन गर्न सकेको छैन । पार्टीभित्र आन्तरिक लोकतन्त्र र जनवादको अभ्यास हुन सकेको छैन । अब निश्चित छ यो पार्टी विघटनको बाटोमा छ । अध्यक्षको नाताले प्रचण्डको यसमा भूमिका त छ । तर, प्रचण्डलाई घेरामा राखेर, प्रचण्डको ल्याप्चे लिएर फाइदा उठाउने गिरोहकै डिजाइनमा यो सब भइरहेको छ । यो शैलीले राजनीतिक एजेण्डाका हिसावले पनि अब माओवादीले हिजोका जस्ता नेतृत्वदायी एजेण्डालाई उठाउन र कार्यान्वयन गर्न सक्दैन । समाजवादउन्मुख र समतामूलक समाज बनाउँछु भन्ने एजेण्डा बोक्नेले आफ्नै पार्टीमा गरेर देखाउनुभन्दा नाजवाफ हुने अवस्था देखिन्छ । 

मैले पनि वक्तव्य देखेको, सुनेको थिएँ । म केन्द्रीय कमिटीको व्यक्तिलाई जिल्ला कमिटीमा रहेको एक दुई जनाले लेखेर कारबाही भन्दैमा कारबाही त कसरी हुन्छ खै ? मलाई त कारबाही गरे केन्द्रीय कमिटीले गर्नुपर्ने हो । त्यो कारबाही कुन कमिटीले गरेको कि व्यक्तिले ? व्यक्तिको सनकमा कसैको नाम किट्याउन मन लाग्दैमा हुने हो र ? पार्टीभित्रको ठेकेदारी गर्ने कम्पनीका एसम्यानहरूले कम्पनीको आदेश पालना गरेका हुन सक्छन् तर मलाई कारबाही गरेको हैन । मैले चैं राजीनामा दिँदा उनीहरू जिल्लिएका छन् । यो लज्जास्पद, हास्यास्पद, नौटंकी बकवास हो यसमा उनीहरू पराजित भएका छन् । 

२७ वर्षको राजनीतिक जीवनमा जे सिकेको छु, म त्यसलाई राजनीतिक ढंगले नै कार्यान्वयन गराउन लाग्छु । जनताको सेवाबाट बाहिर जान्नँ । हिजोको आवश्यकताअनुसार माओवादी ठीक थियो । अब अहिले भएका शक्तिले जनतालाई समृद्धिको एजेण्डामा लिड गर्न सक्दैनन् । त्यसैले नयाँ ढंगको मुभमेन्टमा आउँछु । माओवादीभित्रका गतिशीलता चाहने ठूलो समूह अहिले छलफलमै छ । अझै केही समय हामी छलफलमै हुन्छौं । तर, जनताको समृद्धिका लागि फेरि जेल जानुपरे पनि तयार छु । 

मैले स्टेटमेन्टमा पनि लेखेको थिएँ ¬संसदीय यथास्थितिवादी राजनीतिको भ्रमपूर्ण चक्र भनेर राजनीतिक रूपमा टिप्पणी गरेको थिएँ । हो, त्यो यथास्थितिवादी राजनीतिक चक्र तोड्न जरुरी छ । अहिले पनि राजनीतिक हिसाबले स्थानीय तहको निर्वाचन करिब भइसकेको छ । प्रदेश र संघीय संसद्को निर्वाचनको पनि मिति तय भएको छ । त्यो निर्वाचन हुन्छ । तर, यी सबै पुराना यथास्थितिवादी रुझानबाट मात्रै आए र तिनका नेतृत्व र कार्यशैलीले पनि पुरानै शैलीको पुनरावृत्ति देखियो । आमूल परिवर्तन र रूपान्तरणका लागि क्रान्तिकारी कार्यक्रमको खाका आउन सकेन । एमालेले समाजवादी कार्यक्रमको झल्को दिन भनेर सुरु गरेको सामाजिक सुरक्षा भत्ताको प्रभाव हेर्नुस् कति लामो समयसम्म सकारात्मक रूपमा रहेको छ । यस्ता खालका प्रभाविला कार्यक्रममा सरकारले लगानी गर्नुप¥यो । राजनीतिक क्रान्तिपछिको संसद्को भूमिकामा जान नसकेर पुरानै प्रभाव, चिन्तनबाट मुक्त हुन सकेको छैन । 


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

Mega Bank Ltd.
Top