सेनालाई सास्ती, दरबारलाई छुट


Sunday, 30 Jul, 2017 6:16 PM

  • राजेन्द्र स्थापित

नागाकोको जन्म टोकियोमा भयो । त्यहाँको सेनामा ११ प्रमुख वंश समुदायका मानिस भर्ती हुने चलन छ । तीमध्येको एक वंश ओके परिवारका राजकुमार थिए– कुनी कुनियोसी । यो वंशले १३ औं शताब्दीमा राज्य चलाएका थिए । नागाको उनैको छोरी हुन् । अर्थात् उनी जन्मजात राजकुमारी थिइन् । कुनी सम्राट मेइजी (सन् १८६८–१९१२) को शासनकालमा फिल्डमार्शल थिए । नागाकोकी आमा सिमाजु चिकाको पनि सामन्त तथा सैनिक वंश डाइम्योस परिवारकी थिइन् । नागाकोले स्कुले शिक्षा राजपरिवार तथा सामन्तीका छोरीहरु पढ्ने स्कुल ‘गाकोसुइन’ बाट प्राप्त गरिन् । सोही स्कुलमा कोरियाली राजकुमारी मासाको नासिमोतो पनि पढ्थिन् । राजकुमारी बाङ्जा उर्फ मासाको पछि युवराज यी युनको पत्नी बनिन् । सन् १९१० मा जापानले कोरियामाथि आधिपत्य नजमाएको भए यी युन राजा र बाङ्जा महारानी हुन्थे ।

सन् १९१२ मा मेइजीको निधनपश्चात् उनैका छोरा ताइसो गद्दीसिन भए । १ सय २३ औं सम्राट ताइसो उर्फ योसिहितो र साम्राज्ञी कुजो सादाकोको त्यसबेलासम्म तीन छोरा भइसकेका थिए । जेठो छोरा युवराज मिची उर्फ हिरोहितो सन् १९१४ मा १३ वर्षको थिए । आमा सादाको बुहारी खोज्न हतारिइन् । जनवरी १४ मा एउटा चियापान समारोह आयोजना गरिन् । उक्त कार्यक्रममा राजपरिवारको बुहारी बन्न योग्य सम्पूर्ण सामन्ती समुदायका अविवाहित छोरीहरु सामेल भए । जापानी परम्परामा छोरीलाई बर खोज्ने छुट हुँदैन । सोही परम्परालाई निभाउँदै केनीयोसी र चिकाकोले छोरी नागाकोलाई पनि दरबार पठाए । चियापानमा पुरुषको प्रवेशलाई निषेध गरिएको थियो । युवराज हिरोहितो पर्दाबाट चियाएर सबैलाई हेर्दै थिए । अन्तिममा १२ वर्षीया नागाको मन परेको आमालाई बताए । कुनियोेसीले छोरी जापानको भावी साम्राज्ञी हुने निश्चित भएपछि स्कुलको पढाइ छुटाए । योग्य साम्राज्ञी बनाउन आवश्यक ६ वर्ष लामो तालिम लिन लगाए । चिनियाँ तथा जापानी साहित्य, फ्रान्सिसी भाषा, क्यालिग्राफी र कविता लेखन, पौडी, नृत्य, घोडचढीका लागि सातजना शिक्षक र गुरुको व्यवस्था गरिदिए । बिहेअघि नागाको र हिरोहितो नौपटक भेटिए तर परिवारको उपस्थितिमा । दुई जनाबीच कहिल्यै कुराकानी भएन ।

उता, युवराज हिरोहितोले नागाकोलाई भावी पत्नीको रुपमा चुनेपछि दरबारिया तथा सामन्ती समाजमाझ ठूलै खैलाबैला मच्चियो । नाबालिगको सवाल कसैले उठाएनन् । सबैले नागाकोको वंश, खानदान र परिवारमाथि प्रश्नचिह्न खडा गरे । खासगरी चोस्नु सामुराइ खानदानका महिलाले भावी साम्राज्ञी बन्ने युवती शाही रक्तको हुनैपर्ने कुरा उठाए । किनभने नागाको फुजिवारा पिँढीको मानिने पाँचवटा कुल कोनोइ, निजो, ताकात्सुकासा, इचिजो र कुजोभन्दा बाहिरका थिइन् । यद्यपि नागाकोका पिता कुनियोसी पूर्व सम्राट निन्कोले धर्मपुत्र बनाई पालेका राजकुमार फुसिमी कुनियका सन्तती थिए । तर सो कुललाई शाहीरक्तको मान्न छाडिसकिएको थियो । नागाकोको मामाघरको परिवार पनि सामन्त मात्र थिए । दरबारिया र शाही खलकले हिरोहितोकी हुनेवाला पत्नी फुजिवारा परिवारभित्रकै हुनुपर्ने कुरा जोडतोडले उठाए । किनभने त्यहाँ जतिबेला नाबालिग सम्राट बन्थे । त्यो बेला सोही परिवारकाले नायबी भएर शासन चलाउने गरेका थिए । सेनाका फिल्डमार्शल राजकुमार यामागाता आरितोमो निपूण राजनीतिज्ञ मात्र होइन चोसु खलकका नेतासमेत थिए, उनले जातिगत, वंश–कुल र परम्पराको कुरा उठाए । यथार्थमा नागाकोको मामाखलकका वंशाणुगत विरोधी थिए । भावी सम्राटकी पत्नी चोसु खलककै बनुन् भन्ने चाहन्थे । सैन्य कलाका प्रमुख निर्माता, मेइजी र ताइसोको शासनकाललाई टिकाउन प्रमुख भूमिका खेलेका उनको विरोध कसैले गर्न सकेनन् । पाँच वर्ष त्यत्तिकै बित्यो ।

सन् १९१९ मा यामागाताले एउटा पत्रिकामा नागाकोकी आमा र मामा खलकबारे लेखे । वंशाणुगत रुपमा रोगब्याधी भएको आरोप लगाए । लेखका कारण उनी विवादको घेरामा परे । प्रमुख पत्रपत्रिकाले उनी हिरोहितोको बिहे नगराउन लागिपरेको आरोप लगाए । यसैबीच नागाकोको बाबु कुनियोसीले हिरोहितो र छोरीको बिहे रद्द गरिएमा छोरीलाई मारेर आफू पनि आत्महत्या गर्ने धम्की दिए । टोकियोमा सक्रिय राष्ट्रवादी समूहलाई गुहारे । सो समूहले यामागाताको विरुद्ध जुलुश निकालेपछि बल्ल सम्राट ताइसोले मौनता तोडे । नागाकोको पक्षमा बोले । यसपछि दरबार मामिलासम्बन्धी मन्त्रालयले हिरोहितो र नागाकोको बिहे हुन गइरहेको घोषणा ग¥यो । र, बिहे सन् १९२३ मा हुने भनियो तर सोही वर्ष ठूलो भुइँचालो जाँदा १० हजारको ज्यान गयो । आधा टोकियो ध्वस्त भयो । बिहे स्थगित भयो र अर्को वर्ष सन् १९२४ जनवरी २६ मा टोकियोस्थित राजदरबारकै प्रांगणमा बिहे सम्पन्न भयो ।  २१ वर्षीया नागाको युवराज्ञी बनेको ठीक दुई वर्ष बितेको मात्र के थियो, सम्राट ताइसोको निमोनियाबाट सन् १९२६ को जनवरी २५ मा निधन भयो । युवराज हिरोहितो सम्राट र नागाको साम्राज्ञी बने । ताइसोको चार माइल लामो शवयात्रामा २० हजारले सहभागिता जनाएका थिए भने गोरु गाडाको लस्कर थियो, तीमध्येको एउटामा ताइसोको शव थियो ।

आठ वर्ष बित्यो । नागाको छोरा पाउन असक्षम बनिन् । चार छोरी तेरु, हिसा, ताका र योरी भने पाइसकेकी थिइन् । १५ सय वर्षको इतिहासमा राज्यको उत्तराधिकारी महिला बनेकै थिएनन् । संविधानले पनि छोरीलाई उत्तराधिकारी दिन बर्जित गरेको थियो । दरबारियाहरु सबै नागाकोमाथि पुनः औंला ठड्याउन थाले । सम्राट हिरोहिता पनि अप्ठेरो महसुस गर्न थालेका थिए । यसबीच सन् १९३२ मा नागाको पुनः गर्भवती बनिन् । सबैजना पुत्रलाभ हुनेमा आशावादी बने तर असमयमै गर्भ गि¥यो । सबै पुनः निराश बने । फुजिवारा समूहले टाउको उठाउने मौका पायो । हिरोहितोमाथि अर्को बिहेको दबाब प¥यो । रखौटी राखेर भए पनि पुत्र पाउनुपर्ने कुरा उठ्यो । तर हिरोहितोले ठाडै नकारे । बहुविवाह वा रखौटी राख्ने परम्पराको विरोध गरे । क्योटो राजधानी हुँदा त्यहाँको दरबारमा १२ जना रखौटी राख्ने चलन थियो । जोसँग सम्राट पालैपालो सुत्थे । हिरोहितोका बाबु ताइसो तथा बाजे मेइजीले पनि रखौटीहरुको तर्फबाट पुत्र लाभ गरेका थिए । यद्यपि हिरोहितो भने साम्राज्ञीकै तर्फबाट जन्मिएका हुन् । उनले नागाकोसित बिहे गरेकै साल रखौटी राख्ने प्रचलनको अन्त्य गरेका थिए । उनको यो कदमको स्वागत गर्दै बेलायतले भ्रमणको निम्तो दिएको थियो । यसको बाबजुद अत्यन्त सुन्दरीमा गनिएका १० जना युवतीलाई दरबारमा बोलाएर हिरोहितोसँग तास खेल्न लगाइयो । हिरोहितोलाई १० मध्ये तीन युवती छान्न भनिएको थियो, त्यो पनि नागाकोकै अगाडि । तर, हिरोहितोले कसैप्रति ध्यान दिएनन् ।

सन् १९३३ मा साम्राज्ञी नागाको पुनः गर्भवती बनिन् । र, डिसेम्बर २३ मा छोरा (अकिहितो) लाई जन्माइन् । नागाकोप्रति उठेको विरोध र लाञ्छना सेलायो । उनले पछि अर्को एक छोरा मासाहितो र सन् १९३९ मा छोरी सुगालाई जन्म दिइन् । दोस्रो युद्धकालमा जब जापानमाथि अमेरिकाले बम बर्साउन थाल्यो, सम्राट–साम्राज्ञीले छोराछोरी सबैलाई शहरभन्दा बाहिर पठाए । दरबारमा आफूहरु दुई जना मात्रै बसे । सन् १९४५ को अगस्त १४ मा जापानले मित्रराष्ट्रसमक्ष आत्मसमर्पण ग¥यो । नागाकोलाई लोग्ने हिरोहितोलाई पनि युद्धबन्दी बनाएर मृत्युदण्ड दिइने हो कि भन्ने डरले सतायो । पीरले गर्दा निकै दुब्लाइन् पनि । किनभने पूर्वप्रधानमन्त्री हिदेकी तोजोले मृत्युदण्ड पाए भने त्यसपछिका प्रधानमन्त्री कुनियाकी कोइसोले आजीवन कारावास । जम्मा २८ जना राजनीतिक तथा सैन्य नेता र पाँच हजार सात सय सैनिकमाथि अमेरिकाले मुद्दा चलायो । आत्मसमर्पण गरेको चौधौं दिनदेखि नै शासन गर्न थालेको अमेरिकाले मुलुकमा जापानी झण्डा फहराउन प्रतिबन्धसम्म लगायो तर हिरोहितोको शासन अन्त्य गरेन । राजकुमारहरु चिचिबु, असाका, हिरोयासु, फसिमी, हिगासिकुनी, ताकेदालगायत राजपरिवारका सबै सदस्यविरुद्ध मुद्दासमेत चलाएन । बरु उल्टै साम्राज्ञी नागाकोलाई रेडक्रस सोसाइटीको संरक्षक बनाइदियो । युद्धको कारण अनाथ बनेका बालबालिकाको सेवामा लगायो । स्मरणीय छ, जापानमाथिको अमेरिकी आधिपत्य सन् १९५२ को अप्रिलमा मात्र अन्त्य भएको हो ।

यसपछि नागाकोको जीवन छोराछोरीको रेखदेख, चित्रकला र क्यालिग्राफी कोर्ने, कविता लेखनमा बित्न थाल्यो । चित्रकला ‘तो–इन’ को नाउँले बनाउँथिन् । तर अमेरिकी सेनाको फिर्तीपछि स्वभावमा परिवर्तन आयो । पश्चिमी शैलीको लुगा लगाउन थालेकी उनले पुनः किमोनो लगाउन शुरु गरिन् । विचारमा पनि रुढीवाद र कट्टरपन देखाप¥यो । कुनै कुरामा जब हिरोहितो अनिर्णित बन्थे, त्यो बेला यसो गर्नु, उसो गर्नु भन्न थालिन् । हुकुमी, हठी, सख्त र आवश्यकताभन्दा बढी शाही मिजास प्रदर्शन गर्न थालिन् । युवराज अकिहितोले मिचिको सोदासँग बिहे गर्ने निर्णयमा त ‘पर्खाल’ नै बनिन् । अकिहितो र मिचिकोको पहिलो भेट नागानोस्थित एउटा टेनिस कोर्टमा भएको हो । धनी उद्योगपतिकी छोरी भए पनि शाही खानदानकी थिइनन् । नागाकोले भाइ–बुहारीहरु सेत्सुको चिचिबु, किकुको ताकामात्सु र नन्दहरुसँग सल्लाह गरिन् । युवराज अकिहितोको मन बदल्न सहयोग मागिन् । रुँदै ‘शाही परिवारको नाश हुँदैछ’ भनिन् । साम्राज्ञीको विरोधका बाबजुद जनदबाबपछि दरबार मामिला विभागले मिचिकोसँग बिहे गर्न स्वीकृति प्रदान ग¥यो । र, अकिहितोको बिहे मिचिकोसँगै भयो, सन् १९५९ को अप्रिलमा । मिचिको इसाइ हुन् ।

बिहेपछि अकिहितो र मिचिको राजदरबारभन्दा आधा माइल टाढाको ‘तोगो गोसो’ मा बस्न गए । मिचिको दुई छोरा नारुहितो र फुमिहितो तथा छोरी सायाको आमा बनिन् । नागाको फेरि छोरा र बुहारीसँग रिसाइन्, जब मिचिकोले परम्परालाई तोड्दै आफ्ना छोराछोरीलाई दरबारमै पाल्ने, हुर्काउने निर्णय गरिन् । नागाकोले यस मामिलामा धेरै कटु वचन सुनाइन् । सासु–बुहारीको सम्बन्ध चिसिँदै गयो । नागाको बाहिर सार्वजनिक कार्यक्रममा त हाँसेरै प्रस्तुत हुन्थिन् तर दरबारभित्र सधैं ठुस्स पर्ने गरिन् । उता, मिचिको भने जीवनबाटै निराश भइन् । मलिन अनुहार बनाएर हिँड्थिन् । शरीर पनि दुब्लाउँदै, सुक्दै गयो । सात महिनासम्म मौनव्रत बसिन् । सबैले यसको दोष नागाकोमाथि नै लगाए । आधुनिकतालाई स्वीकार्न नसकेको, छोराछोरीलाई वशमा पार्न खोजेको र चिनियाँ साम्राज्ञी त्सु ह्सुजस्तो ‘फलामे महिला’ बन्न खोजेको आरोप लगाए । यसबीच सन् १९८९ को जनवरी ७ मा सम्राट हिरोहितोको निधन भयो । स्वास्थ्यको कारण नागाकोले लोग्नेको अन्त्येष्टिमा सामेल हुनसमेत सकिनन् । अकिहितो सम्राट बनेपछि राजमाताको रूपमा दिन बिताउन थालिन्, ४० सेविका र स्वास्थ्यकर्मीको साथमा । उनको निधन ९८ वर्षको उमेरमा सन् २००० को जुन १६ मा भयो । नागाकोले ६५ वर्ष दाम्पत्यजीवन बिताएकी थिइन् । ६४ वर्ष साम्राज्ञी र ११ वर्ष राजमाता बनेकी थिइन् । स्मरणीय छ, हिरोहितोको ६४ वर्ष लामो शासनकालमा जापानमा कुल ३५ जना प्रधानमन्त्री भए । दोस्रो विश्वयुद्धसम्ममा १८ जना र पछि १७ जना ।


सुन चांदी बिक्रि दर

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

चांदी

प्रति तोला

NRs.725/-

Mega Bank Ltd.
Top