अमेरिकाबाट आएर मन अर्कातिर


Sunday, 30 Jul, 2017 5:23 PM

खै कसको आँखा लाग्यो, उनको खुशीमाथि ! शास्त्रमा उल्लेख भएबमोजिम ३२ लक्षण÷गुणले युक्त थिइन् । खोट लगाउने ठाउँ कतै देख्दैनथ्यौं । हामी लोभिन्थ्यौं उनको सुन्दरता र बौद्धिकता देखेर । भन्थ्यौं ‘शीतललाई पाउने लोग्नेमान्छे दुनियाँकै सबैभन्दा बढी भाग्यमानी हुन्छ ।’ तर त्यही लोग्ने मान्छेका कारण केही महिनादेखि हाम्रो अनन्य मित्र शीतल मानसिक प्रताडना झेलेर घरबाट बाहिर निस्कन छाडेकी छन् । मान्छेका लागि शारीरिक यातनाभन्दा कष्टकर हुँदो रहेछ मानसिक प्रताडना ।

विवाहजस्तो विषय बालबालिकाले खेलेजस्तो भाँडाकुटी खेल होइन तर ‘रिल लाइफ’मा मात्र देखिने खालका घटनाले उनको ‘रियल लाइफ’मा मेल खाइदियो । हिन्दी टेलिशृंखलामा बेलाबखत हेर्दै आएका कथावस्तु उनको जीवनमा मेल खान पुग्यो । हामी अवाक छौं । महेन्द्रनगर घर भई हाल धुम्बाराहीमा बस्दै आएका आनन्द थापाका कारण शीतल शर्मा (नाम परिवर्तन) डिप्रेसनको सिकार भएकी छन् । आनन्द अमेरिका थिए । शीतल काठमाडौंमा । आनन्द उनकै एकदमै मन मिल्ने साथी श्वेता थापाको साथीको देवर । नियमित आउजाउ हुन्थ्यो धुम्बाराहीस्थित श्वेताको घरमा । शंकरदेव क्याम्पसमा स्नातक तहका सहपाठी हुन् उनीहरू । यही चिनजान र आउजाउकै क्रममा उनले चिनाएकी थिइन् अमेरिकामा रहेका आफ्ना देवरसँग । र, भनेकी थिइन्, ‘मेरो देवरसँग विवाह ग¥यौ भने भाग्य चम्कन्छ ।’ देवरबारे यसरी गुनगान गाइन् कि शीतल प्रभावित नभई रहन सकिनन् । साथीले दोहोरो परिचय गराइदिएकी थिइन्, उनीहरूबीच भिडियो कलमार्फत । पाँच महिना अगाडिको मात्र कुरा हो यो । यसरी उनीहरू जोडिए सामाजिक सञ्जालमा ।

सञ्जालको जञ्जाल पनि यस्तो कि जोडिएको महिना दिनभित्रै परिचय साथीबाट रूपान्तरण भइसकेको थियो । प्रेमी÷प्रेमिकाका रूपमा । कसम खान थालिसकेका थिए, सातै जुनी सँगै मर्ने, सँगै बाँच्ने भनेर । तर, त्यो कसम सात महिना पनि टिक्न सकेन । प्रेमको अन्तिम गन्तव्य के हो ? धेरैको मुखमा झुण्डिने जवाफ हो ‘विवाह’। हो शीतल र आनन्द पनि समाहित हुँदै थिए एकअर्काेमा । अर्थात् साथी, प्रेमी हुँदै विवाह बन्धनमा बाँधिने तरखरमा थिए । आनन्दले जवाफ फर्काएका थिए ‘म तिम्रै लागि बनेको हुँ । भगवान्ले तिम्रै लागि मेरो सृष्टि गरेका हुन् । दुई चार महिनामा स्वदेश फर्कन्छु अनि हामी लगनगाँठो कसांैला ।’ अमेरिकामा रहेका आनन्द उनै शीतलसँग विवाह गर्नका लागि स्वदेश आउने भए । आनन्द जति खुशी थिए त्यो भन्दा सयौं गुणा प्रफुल्ल थिइन् शीतल । जीवन काट्ने केटाकेटीले हो । केटाकेटी नै मञ्जुर भएपछि सम्पन्न र शिक्षित परिवारले भाँजो हाल्ने कुरै भएन । ग्रिन सिग्नलपछि विवाह हुने निश्चय भयो । राष्ट्रिय वाणिज्य बैंकका जागिरे बुबा, शिक्षण अस्पतालमा कार्यरत आमा । शीतलको खुशीमा बुबा÷आमा सरिक हुँदै थिए । विवाहको माहोल बन्दै थियो । कलेजका सहपाठीमा मात्र होइन, आफन्त, छरछिमेक सबैतिर विवाहको हल्ला चलिसकेको थियो । अमेरिकामा बस्ने ज्वाइँ पाएपछि शीतलका बुबाआमा पनि फुरुंगै थिए ।

केटा स्वदेश फर्किए गत जेठमध्यमा । हरेक दिनजसो भेट हुन थाल्यो । पण्डितले साइत जुराइदिए असार १० गतेलाई । केटी पक्ष विवाहका लागि आवश्यक सरसामान किन्नमा तल्लीन रहे । आफन्तलाई खबर भयो, निम्तो पत्र छापियो । तर, शीतलको जीवनमा यस्तो हावा र हुण्डरी आयो जो कहिल्यै कल्पना गरेकी थिइनन् । दश दिनअगाडि आनन्दले एकाएक विवाह केही समय सार्ने प्रस्ताव ल्याए । हुने नहुनुपर्ने पीडा केटी पक्षलाई पर्ने नै भयो । पहाड गाउँबाट आफन्त काठमाडौं आइसकेका छन् । अब तिनलाई के भनेर फर्काउनु, बाँकी आफन्तलाई कसरी तर्काउनु ! सजिलो एउटा कारण केटाले देखाइदिए हजुरबुबा बितेका कारण जुठो लाग्यो । त्यही कारण विवाह एक वर्षलाई सर्ने भयो । जबकि आनन्दको हजुरबुबा तीन वर्षअगाडि बितिसकेका थिए ।

आनन्दको व्यवहारका कारण मर्माहत भइन् शीतल । पछिल्ला भेटमा आनन्दले विवाहको कुरै गर्न चाहेनन् । सम्बन्ध पातलिँदै थियो । १० गतेलाई तय भएको विवाह नहुने भयो । त्यो भन्दा ठूलो अर्काे बज्र यसरी बर्सियो कि २९ असारमा केटाले महेन्द्रनगरकै अर्कीसँग विवाह गरेको फोटो सामाजिक सञ्जालमा आयो । आखिर केटीको अरू दोष केही छैन । विवाह नहुनुको कारण देखाइयो केटीको चरित्र । विवाह टुंगो लगाउनु केही दिनअगाडि शीतलको छिमेकीहरूसँग आनन्दका दिदीहरू केटीको स्वभाव/आनीबानी बुझ्न आएका रहेछन् । उनीहरूले स्कुलदेखि नै शीतलको मास्टरसँग चक्कर रहेको र उनले छाडिदिएको सुनाइदिएका छन् । यही कारण हो आनन्दका दिदीहरूले शीतलमा चारित्रिक दोष लगाउँदै विवाह नगर्न दबाब दिएको । दिदीहरूकै सक्रियतामा महेन्द्रनगरकी अर्की केटी रातारात तयार पारियो । र, उनैसँग आनन्द विवाह बन्धनमा बाँधिए । केटाले सहजैसँग विवाह नगर्ने बताए तर केटी यही कारणले समाजमा आफ्नो अनुहार लुकाएर बाँच्नुपर्ने अवस्थामा आइपुगेकी छन् । गल्ती गर्ने केटा, समाजबाट लुक्नुपर्नेचाहिँ केटी ? यो कस्तो सामाजिक संरचना ?


भनिन्छ, प्रेम र ब्रेकअप एउटै सिक्काका दुई पाटा हुन् । यद्यपि, हल्का मनोरञ्जनकै रूपमा गाँसिएको प्रेमसम्बन्ध कहिलेकाहीँ यस्तो गहिराइमा डुब्न पुग्छ, जहाँबाट उत्रन गाह्रो हुन्छ । फलतः बिछोडको पीडाले प्रेमी÷प्रेमिका ‘डिप्रेसन’मा पुग्छन् । पाँच महिनाको प्रेम सम्बन्धले कुनै दिन त्यस्तो मोड लिन्छ भन्ने थाहा भइदिएको भए शीतल यति धेरै बहकिने थिइनन् । तर, जिन्दगी भन्नु नसोचेको यथार्थ रहेछ । जो सोच्यो त्यो पूरा नहुने, जे नसोच्यो त्यही बज्रपात भएर बर्सने । उनले आनन्दसँग थुप्रै अन्तरंग सपना देखेकी थिइन् । अमेरिकासम्म आनन्दकै साथ लागेर पुग्ने र उतै सेटल हुने योजना थियो । अहिले यी सबै सपनामा तुषारापात लागेको छ । शीतल घरबाट बाहिर निस्कन छाडेकी छन् । चौबिसै घन्टा बन्दकोठामा बस्छिन् र आफ्नै भाग्यलाई सरापिरहेकी हुन्छिन् ।

एउटा महिलाको चरित्र धमिल्याउन र महिला सिध्याउन महिला नै लागेको यस्तो उराठलाग्दो अन्यत्र कहाँ देख्न पाइन्छ ? एउटी केटीको चरित्रमाथि ‘लाञ्छना’लगाएर जसरी थापा परिवारले शीतलको पारिवारिक छविमाथि आँच पु¥याएको छ, यसको क्षतिपूर्ति कतैबाट हुन्छ वा हुँदैन ? मानसिक रूपमा शीतल जुन अवस्थामा गुज्रिएकी छन् यसको क्षतिपूर्ति आनन्दले कसरी गर्छन् ? फरासिलो स्वभावकी शीतल अहिले यसरी मौन बसेको देख्दा हामी संगीहरूको मन कुँडिन्छ । न त हामी आनन्दलाई कुनै कानुनी कठघरामा उभ्याउन सक्ने अवस्थामा छौं । न शीतललाई पुरानै अवस्थामा फर्काउन सकिएको छ । के अमेरिका छिरेपछि नेपाली युवाको मन पनि ‘ढुंगा’ हुन्छ ? आनन्दजस्ता फटाहामाथि कसरी कारबाही गर्न सकिन्छ र शीतलजस्ता चेलीलाई कसरी न्याय दिलाउन सकिन्छ ? किनकि आज शीतलमाथि यो बज्र बर्सियो, भोलि हामीमाथि यही कहानी दोहोरिन के बेर ?

- शीतलका संगीहरू


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.725/-

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

Mega Bank Ltd.
Top