​पृथ्वी नै हल्लिएछ भने के गर्ने र


Sunday, 23 Jul, 2017 7:19 PM

  • हृदयेश त्रिपाठी, राजपा नेता

मधेसकेन्द्रित विभिन्न दलबीच एकीकरण भएर एउटै दलका रुपमा राष्ट्रिय जनता पार्टी (राजपा) गठन त भयो, तर अस्तित्वमा आएको लामो समय बितिसक्दा पनि यसले संगठनात्मक स्वरुप लिन सकेको छैन । बरु, दलले एउटा रुप धारण गर्नुपूर्व नै आन्तरिक मतभेद चुलिएको छ । तत्कालिन मधेसकेन्द्रित घटकका अध्यक्षहरुलाई अध्यक्ष मण्डलमा चयन गर्दै, त्यसमध्येका वरिष्ठ नेता महन्थ ठाकुरलाई संयोजक चयन गरिएको छ । तर, महन्थकै पार्टी तत्कालीन तमलोपाका वरिष्ठ नेता हृदयेश त्रिपाठी यस्तो रवैयाको विरोध गरिरहेका छन् । निर्वाचन आयोगमा दल दर्तालगत्तै उनले अलग्गै भेला बोलाएर पार्टीले संगठनात्मक रुप लिनुपर्ने, नत्र फरक भूमिकामा प्रस्तुत हुने चेतावनी दिइसकेका छन् । स्थानीय निर्वाचनका दुई चरणमा ६ प्रदेशले जनप्रतिनिधि पायो । तर, राजपा त्यो अवसरबाट बञ्चितप्रायः स्थितिमा छ । दोस्रो चरणका केही स्थानमा स्वतन्त्र उम्मेद्वारीमार्फत झिनो उपस्थिति पनि देखाएको छ । एउटा निकाय जित्यो पनि । बाँकी छ, प्रदेश नं. २ मा तेस्रो चरणको निर्वाचनमा । त्यसमा पनि कसरी जाने भन्नेमा मतैक्यता छैन । 

० राजपा अझै पार्टी बन्न सकेन भनेर तपाईंहरुले गर्न थालेको विरोध कस्तोखाले हो ?

– राजपा गठन हुनुअघिको पार्टीका केही केन्द्रीय सदस्यहरु, जो प्रदेश नं. ५ बाट प्रतिनिधित्व गर्दछौँ, बीचमा छलफल भएको हो ।
० विषय के थियो ?

– स्थानीय निर्वाचनको समीक्षा ग¥यौँ । भर्खरै निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने क्रममा पेश भएका विधान, घोषणापत्रलगायत दस्ताबेजबारे छलफल हुनुपर्छ । साउन १५ गते अगाडि पार्टीको केन्द्रीय कार्यसमितिको बैठक गरेर त्यो विषयमा छलफल हुनुपर्छ । हठात् शैलीमा वा कर्मकाण्ड पु¥याउनका लागि बनाइएका दस्तावेजहरुका आधारमा पार्टी बन्न र चल्न सक्दैन । राजपालाई २ नं. प्रदेशको मात्र हैन, देशकै पार्टीका रुपमा विकसित गर्न र व्यवहार गर्न भनेका छौँ । 

० दस्तावेजको के विषयमा छलफल हुनुपर्ने ?

– विधानमा के छ ? घोषणापत्रमा के छ ? थाहा छैन । निर्वाचन आयोगमा दर्ता गर्ने प्रयोजनका लागि अध्यक्षमण्डलको बीचमा कुरा गरेर पठाइएको छ । जबकि, ती कुराहरु केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गरेर, सबैको मतका आधारमा गरिनुपथ्र्यो । त्यसैले हामीले साउन १५ अगाडि केन्द्रीय कार्यसमिति बैठक बोलाउनुपर्ने र त्यस विषयमा स्पष्ट हुनुपर्ने भनेका हौँ । 

० यदि त्यसो भएन र निर्वाचन आयोगमा दर्ता भएकै दस्तावेज पार्टीको आधिकारिक भनेर नेतृत्व अगाडि बढ्यो भने के गर्नुहुन्छ ?

– अब पृथ्वी नै हल्लिएछ भने त के गर्ने † यदि छलफल भएन भने त्यसपछि के गर्ने सोचिन्छ । अहिलेसम्म त छलफल हुन्छ भन्ने नै विश्वास छ । पार्टी भनेको कसैको व्यक्तिगत सम्पत्ति होइन नि † सबैको रगत–पसिना बगेको छ । कतिपय साथीले जितेका छन् । कतिपयले मुद्दा खेपिरहेका छन् । कतिपय साथीले जीवन नै त्याग्नुपरेको छ । हाम्रोमा कस्तो चरित्र छ भने, पार्टीलाई नेतृत्वले आफ्नो बिर्ता ठान्ने गरेको छ । हामी त्यस्तो हुन दिने छैनौँ ।

० एकीकरणअगाडि तपाईंहरुले सोचेजस्तो पार्टी बन्यो त ?

– जुन उत्साह र उमंग एकीकरणपछि थियो नि, त्यसमा अध्यक्ष मण्डल अनिर्णयको बन्दी भएसँगै कमी आएको छ । स्थानीय तहको निर्वाचन अगाडि असार १ गतेसम्म पार्टी वार्तामा लिप्त रह्यो । न त प्रभावकारी ढंगले वार्ता हुन सक्यो न असरदार हिसाबले चुनाव नै बहिष्कार गर्न सकियो, न प्रभावकारी ढंगले चुनावमा भाग लिनै सकियो । यो नेतृत्वको गम्भीर त्रुटी हो । भविष्यमा यस किसिमको गल्ती नदोहोरियोस् भन्नका लागि पद्धति निर्माण गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो । पद्धति व्यक्तिले बसाल्न सक्दैन । विधि बनाएर त्यसअनुसार अगाडि जान सक्नु नै उपयुक्त हुन्छ । 

० स्थानीय निर्वाचनको दुई चरणमा भाग नलिँदा जनताबीचमा जाने र देशभरिकै पार्टी हुने कुरामा चुकियो भन्ने महसुस गर्नुभएको छ ? 

– त्यस्तो केही भएको छैन । केही केही मौकालाई दुरुपयोग गर्नुहुँदैन, सदुपयोग गर्नुपर्छ भन्ने फिल त भएको छ । २ नं. प्रदेशको स्थानीय निर्वाचन बाँकी छ, प्रदेश सभा र संसद्को चुनाव बाँकी छन् । तिनमा हामी प्रभावकारी ढंगले जानुपर्छ । मुद्दा छन्, संविधान संशोधनको माग पनि उत्तिकै जोडदारसँग उठाएकै छौँ । 

० दुई चरणको स्थानीय निर्वाचनमा संघीय फोरम र लोकतान्त्रिक फोरमले भाग लिएर मधेसको उत्तराधिकार आफूहरूमा भएको दावी गरिरहेका छन् । यसलाई के भन्नुहुन्छ ?

– उनीहरु चुनावमा गएकोबारे मेरो केही टिप्पणी छैन । दाबी भन्ने कुरा त गर्न दिनुस् न यार, के फरक पर्छ र ? दावी त नेपाली कांग्रेस, एमाले, माओवादीदेखि राप्रपासम्मले गरेका छन् । दावी गर्दैमा कहाँ हुन्छ ? दावी गर्दागर्दै उनीहरु भनिरहेका छन् कि, मधेसका समस्या हामी समाधान गर्छौं । अचम्म के छ भने, उनीहरुले गर्न बाँकी के छ ?

० अहिले पनि तेस्रो चरणको निर्वाचनमा भाग लिने कि नलिने भन्ने कुरा संविधान संशोधन हुन्छ कि हुँदैन भन्नेमा निर्भर छ कि ?

– त्यस्तो कुरा मलाई होइन, अध्यक्ष मण्डलका सदस्यहरुलाई सोध्ने हो । हामीलाई नीतिगत कुरा नसोध्नुस् । किनभने, राजपामा अध्यक्ष मण्डल नामको एउटा मण्डलीबाहेक कुनै सांगठानिक संरचना र कमिटी नै छैन । ६ जना अध्यक्ष छन्, बाँँकी सबै कार्यकर्ता मात्रै हुन् । म पनि कार्यकर्ता मात्रै हुँ । 

० भूमिका पनि माग गर्नुभएको हो ? 

– विगतका विभिन्न घटकका केन्द्रीय सदस्यहरुलाई राजपाको केन्द्रीय सदस्य मान्दा आठ सय १५ जना होइन्छ । केन्द्रीय कमिटीभित्र कम्तीमा दस्ताबेज, कार्यदिशा र कार्यनीतिबारे छलफल गरौँ । रणनीति बनाऔँ भनिरहेका छौँ । मण्डलीको भरमा पार्टी चलाउनुहुँदैन । त्यसरी चल्दैन पनि । पार्टी बन्न त घोषणापत्र हुनुपर्छ । हाम्रो घोषणापत्र के हो ? स्पष्ट पार्नुपर्छ । 

० अहिलेको सरकारलाई के भन्नुहुन्छ ? 

– सरकारले असारको ३ गते जुन परासी काण्ड घटायो, राजपाको सभामा हस्तक्षेप गरेर, त्यसपछि यो सरकारलाई समर्थन गर्नु बेकार हो, वाहियात हो भन्ने मेरो भनाइ थियो । यो र अरू सरकारमा खासै भिन्नता छैन । चरित्र, स्वरुप, कामकारवाही एउटै छ । 

० पछिल्लो समयमा कांग्रेस र माओवादीसँग भन्दा एमालेसँग नजिक हुँदा राजपालाई सहज हुन्छ भन्ने निचोडमा पुग्न लागेको हो ? 

– त्यस्तो हुनै सक्दैन । मधेसको मामिलामा कांग्रेस, एमाले, माओवादी, राप्रपा भनेका काम नलाग्ने, नश्लीय पार्टी हुन् । यी चारैवटा एउटै नश्लका हुन् । 

० सीमांकनको कुरा थाती राखिएको हो ? 

– हामीले त संविधान संशोधनको प्रस्ताव पारित गरिदिनुपर्छ भनेका छौँ, सरकारले पारित गर्ने बचन पनि दिएको छ । 

० दुई चरणका निर्वाचनको जनमतलाई कसरी बुझ्नुभएको छ ?

– स्थानीय निर्वाचनको जनमतलाई संसारमा कहिँ पनि मानिँदैन । राष्ट्रिय राजनीतिमा राष्ट्रिय जनमतलाई मानिन्छ । पञ्चायतकालका चुनावमा ८०–८२ प्रतिशत मतदान हुन्थे । के त्यो जनमतले पञ्चायतलाई जोगायो ? त्यसबेला राष्ट्रिय पञ्चायतको चुनाव भयो तर त्यसलाई ०४६ सालको जनआन्दोलनले चकनाचुर बनाइदिएको होइन ? बैधानिकताको स्रोत जनता हुन्छन् भन्ने मान्यता नश्लीय पार्टी र नश्लीय शासनले पनि बुझ्नुपर्छ । 

० उसोभए जनमत परीक्षणको विधि के हो त ?

– एउटा जनआन्दोलन हो, अर्को जनमत संग्रह हो र तेस्रो आवधिक निर्वाचन हो । एउटै विधिले जनमत परीक्षण हुँदैन । आजका कांग्रेस–एमालेले हिजो पञ्चायतको जनमत परीक्षणको जुन विधिलाई मानेका थिएनन्, आज उनीहरु त्यही विधिलाई जनमत परीक्षणको दुहाई दिँदै छन् । 


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.725/-

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

Mega Bank Ltd.
Top