नेताहरू, यसरी नहोस् कसैको निधन


Sunday, 23 Jul, 2017 7:04 PM

  • राजेन्द्र स्थापित

भिक्टोरिया पेत्रोभ्नाको जन्म सन् १९०७ को जुलाई ५ मा कुस्र्क प्रान्तको बेल्गोरोडमा भयो । रुसी जार निकोलस (द्वितीय) को शासनमा कुस्र्कको जनसंख्या मात्र एक लाख थियो । भिक्टोरियाका बाबु पिटर डेनिसोभ रेलचालक थिए भने आमा अन्ना भ्लादिमिरोभ्ना शुद्ध गृहिणी । उनीहरुका कूल चार छोरी र एक छोरा भए । कुस्र्कमा त्यो बेला धेरै पोलिसहरु थिए । उनीहरुकै लहलहैमा पिटरले छोरीको गैररुसी नाउँ भिक्टोरिया राखिदिए । कतिपयले सो परिवारलाई यहुदी ठाने तर यहुदी थिएनन् । पाँच वर्ष स्कुल पढेपछि भिक्टोरिया मेडिकल कलेजमा दाखिला भइन् । सन् १९२५ को समय । कलेजको नृत्यकक्षमा लियोनिद बे्रझनेभसँग भेट भयो । उमेरले एक वर्ष जेठा ब्रेझनेभ युक्रेनका थिए । १७ वर्षकै उमेरमा कम्युनिष्टहरुको युवा संगठन कोम्सोमोलको सदस्य भइसकेका । र, त्यतैको भूमि व्यवस्थासम्बन्धी प्राविधिक स्कुलमा तेस्रो वर्ष अध्ययनरत । पहिलो हेराइमै लठ्ठिए । ब्रेझनेभले सँगै नाच्न आमन्त्रण गरे तर भिक्टोरियाले ‘नाइँ’ मा शीर हल्लाइन् । कारण, ब्रेझनेभ नाच्न पटक्कै जान्दैनथे । पछि भिक्टोरियाले नृत्य सिकाइन् । नाच्दानाच्दै प्रेमी–प्रेमिका बने । केही दिनपछि भिक्टोरियाले ब्रेझनेभलाई घर लगी आमा–बाबुसित परिचय गराइन् । तीन वर्ष लामो प्रणयपछि सन् १९२७ को डिसेम्बर ११ मा ब्रेझनेभको पत्नी बनिन् ।

बिहेपछि दुवै स्वेर्डलोभ्स्क गए । कोठा भाडामा लिई बसे । ब्रेझनेभ जताजता सरुवा भए, भिक्टोरिया पनि साथै हिँडिन् । युक्रेन, किसिनेभ, मोल्दाभिया हुँदै अन्त्यमा मस्को पुगेपछि भिक्टोरियाले अस्पतालमा नर्सको काम पाइन् । सन् १९२९ अप्रिल १८ मा छोरी (गालिना) जन्मिइन् । त्यसपछि भने काममा जान छाडिन् । दुई वर्षपछि छोरा (युरी) लाई जन्माइन् । पूरा ध्यान तिनको स्याहारसुसारमा लगाइन् । खाना मीठो बनाउँथिन् । ब्रेझनेभ पत्नीले बनाएको खान पाएर खुशी हुन्थे । ब्रेझनेभले सन् १९३१ मा कम्युनिष्ट पार्टीको सदस्यता लिए । इञ्जिनियरिङ पास गरेपछि प्राविधिक स्कुलको निर्देशक भए । सन् १९४१ मा जर्मनीले आक्रमण गरेपछि लालसेनाको राजनीतिक कमिसार बने । विश्वयुद्धपछि पहिला युक्रेन र पछि मोल्दाभियाको पार्टी सचिव बने । सन् १९५३ मा जोसेफ स्टालिनको मृत्युपछि केन्द्रीय सदस्यबाट झरे, लगत्तै खु्रस्चेभको उदयपछि पोलिटब्युरोमा पुगे । प्रथम सचिव निकिता ख्रुस्चेभको पछि लागेबापत सन् १९६० मा सुप्रिम सोभियत अध्यक्षमण्डलको सदस्य पद पाए । र, १९६४ मा खु्रस्चेभको सहायक पदबाट राजीनामा दिएर उनैलाई हटाउने षड्यन्त्रमा सामेल भए । गाउँ गएको मौका छोपेर खु्रस्चेभलाई पदबाट हटाई आफैँ पार्टीको प्रथम सचिव बन्न सफल भए । दुई वर्षपछि १९६६ मा महासचिव र १९७७ मा सुप्रिम सोभियत अध्यक्षमण्डलको अध्यक्ष (राष्ट्रपति) बने ।

लोग्ने सोभियत संघ र सत्तारुढ पार्टीको सर्वोच्च पदमा पुगे पनि भिक्टोरिया भने गृहिणी नै बनिरहिन् । थोरै कार्यक्रममा मात्र बे्रझनेभको साथमा हिँडिन् । नगण्य रुपमा विदेश घुमिन् । सत्तारुढ कम्युनिष्ट पार्टीको सदस्य त थिइन् तैपनि कुनै जिम्मेवारी बोकिनन् । जुलुस, सभा, सार्वजनिक कार्यक्रम रुचिभन्दा बाहिरको विषय थियो । भाषण दिनु त परै जाओस्, सुन्न पनि दिक्क मान्थिन् । बरफमा खेलिने हकी मनपर्ने खेल थियो तसर्थ आइस हकी प्रसारण हुने टेलिभिजनको च्यानल हेरेरै दिन काट्थिन् । मिल्ने र गफ गर्ने साथीसमेत थिएनन् । ब्रेझनेभ मायाले ‘भित्या’ भनेर बोलाउँथे । यो शब्द सुन्न पाए मात्र पनि हुरुक्क हुन्थिन् । घरमा रुसी नेताहरु पुग्थे । सबैको लागि खाना पकाएर बस्थिन् । सबै भित्याले पकाएको मीठो हुन्छ भन्दै, ठट्टा गर्दै खान गइरहन्थे । अलिकति मिल्ने साथी भनेकै पछि राष्ट्रपति बनेका तीन जना नेताहरु कोन्स्टान्टिन चेर्नेन्को, युरी आन्द्रोपोभ र आन्द्रेइ ग्रोमिकका पत्नीत्रय क्रमशः अन्ना दिमित्रियेभा ल्युबिनोभा, तात्याना आन्द्रोपोभा र लिडिया दिमित्रियेभ्ना ग्रिनेभिचहरु थिए । प्रायः सधैं घर आइरहने भएकाले भिक्टोरिया उनीहरुसँग गफ गर्थिन् । अर्की एउटी गुप्तचर संस्था केजिबीकी अधिकृत थिइन् । रुसी ‘माताहारी’ को नाउँले चिनिने उनी प्रायः ब्रेझनेभसँगै खान मन पराउँथिन् । तिनै माताहारीले एकपटक झण्डै ब्रेझनेभको ज्यानै लिन खोजेकी थिइन् । यसका बाबजुद भिक्टोरिया ती युवतीलाई पनि घृणा गर्दैनथिइन् । यहाँसम्म कि ब्रेझनेभको अन्य महिलासँग सम्बन्ध रहेको चर्चा भयो तर भिक्टोरिया ‘मेरो लोग्ने असल छन्, मलाई असाध्यै माया गर्छन्’ भनी चुपचाप बसिरहिन् । समष्टिमा उनी साह्रै सोझी र पुरानो विचारकी, नितान्त घरेलु पत्नी थिइन् । 

सन् १९६९ मा लेनिनग्राड निवासी सैनिक अधिकृत भिक्टर इलिनले ब्रेझनेभको ज्यान लिन खोजेपछि भने साह्रै डराइन् । हत्या प्रयासमा ब्रेझनेभ त बालबाल बचे तर गाडीचालक भने मारिए । त्यस्तै सन् १९८२ मा तासकन्द जाँदै गर्दा ब्रेझनेभ चढेको विमान दुर्घटनामा प¥यो । त्यो बेला पनि भिक्टोरियाले होसहवासै गुमाइन् । नभए ढुक्कले जीवन व्यतित गर्थिन् । छोरी गालिना र ज्वाइँ येभ्गेनी मिलायेभकी छोरी भितुस्यालाई घर ल्याइराखेकी थिइन् । उनै नातिनीसँग खेलेर दिन बिताउँथिन् । क्रिमियास्थित ब्रेझनेभको ‘दरबार’ मा बेलाबखत पूर्वी युरोपका राष्ट्रपतिहरु रोमानियाका निकोलाइ चाउसेस्कु, बुल्गेरियाका तोडोर झिभ्कोभ, चेकोस्लोभाकियाका गुस्ताभ हुसाक, पोलिस कम्युनिष्ट पार्टीका महासचिव एडवार्ड गिरेकहरु पुगिराख्थे । भिक्टोरिया उनीहरुसँग भने खुलेर कुरा गर्थिन् । यद्यपि एकपटक चाउसेस्कुले भिक्टोरियाले पकाएको खाना फालेर उनको बेइज्जत गरिदिएका थिए । त्यहाँ खान जानेमा अन्य थिए केजिबीका प्रमुख युरी आन्द्रोपोभ (बे्रझनेभले प्रमुख बनाइदिएका), उपप्रमुख सेमेनत्स्भिगुन, भिक्टोरियाका भाइ गृहराज्यमन्त्री युरी चर्बानोभ । २८ गोटीले खेलिने खेल ‘डोमिनो’ रातभर खेल्थिन् । एउटा टोलीमा भिक्टोरिया र ब्रेझनेभका निजी चिकित्सक रोडियोनोभ र अर्को टोलीमा ब्रेझनेभ र केजिबीका सुरक्षा प्रमुख अलेक्ज्याण्डर ¥याबेन्को हुन्थे । 
सन् १९७४ मा ब्रेझनेभ गम्भीर बिरामी भए । भिक्टोरियाले लोग्नेलाई एकछिन पनि छाडिनन् । दिनरात नभनी सेवा गरिन् । ब्रेझनेभले १८ वर्ष लामो शासनकालमा रुसलाई महाशक्तिको रुपमा स्थापित गरे । हरेक कुरामा, हरेक क्षेत्रमा अमेरिकासँग टक्कर लिए । केजिबीलाई सिआइएभन्दा बलियो बनाए । पदक र मेडलका भने लोभी थिए । भएभरका पदक र मेडल आफैंले लिए । करिब दुई सयवटा ।

सायद स्टालिनपछिका त्यस्ता रुसी नेता बने, जो सबैभन्दा शक्तिशाली थिए । यसको बाबजुद ब्रेझनेभ दम्पती सुखी भने थिएनन् । छारी गालिना र छोरा युरी नामुद जँड्याहा निस्किए । छोराछोरीकै कारण ब्रेझनेभ बद्नाम बने । गालिनाको रइस पारा र यौन जीवन चरमोत्कर्षमा पुग्यो तर ब्रेझनेभले नियन्त्रण गर्न सकेनन् । किशोरावस्थादेखि नै लापरवाह थिइन् । रिसाहा । युवा संगठन कोम्सोमोलको सदस्यता लिन ठाडै अस्वीकार गरिन् । कलेजको पढाइ छाडेर सर्कस खेलाडी येभ्गेनीसँग बिहे गरिन् । १० वर्षपछि स्न् १९६१ मा सम्बन्ध टुट्यो । गालिना माइत आएर बस्न थालिन् । ब्रेझनेभले थाहा पाएर घरबाट धपाइदिए । फेरि अर्का सर्कस खेलाडी तथा जादुगर इगोर कियोसँग बिहे गरिन् । ब्रेझनेभले यो बिहे रद्द गरिदिए । गालिना इगोरको जम्मा नौ दिनको पत्नी रहिन् । त्यसपछि १९७१ मा गृह मन्त्रालयका कर्मचारी युरी चुर्बानोभसँग बिहे गरिन् । बाबुको शक्ति दुरुपयोग गर्दै लोग्नेलाई सेनाको अधिकृत र पछि प्रथम उपगृहमन्त्रीसम्म बनाइन् । त्यस्रो बिहेपछि पनि उच्छृंखलता रोकिएन । ५० वर्ष नाघिसकेकी उनले १९ वर्षको केटो बोरिस बुर्यात्सेलाई वशीभत पारी सँगै राखिन् । विशाल बंगलामा बस्थिन् । मर्सिडिजमा घुम्थिन् । रुसीहरु बे्रझनेभको शक्तिको डरले चुपचाप हेरी बस्थे ।

छोरा युरीले पनि आमाबाबुलाई कहिल्यै सुख दिएनन् । अत्यन्त रुखो स्वभावका कारण जनता उनलाई घृणा गर्थे । ब्रेझनेभले छोरालाई सत्तारुढ पार्टीको केन्द्रीय सदस्य बनाइदिए । विदेश व्यापारसम्बन्धी उपमन्त्री । तर, जोसँग पनि झगडा गर्थे । यहाँसम्म कि पत्नी ल्युदमिला भ्लादिमिरोभ्नालाई समेत कुटपिट गरे । जसको कारण छोराहरु आन्द्रेइ र लियोनिदले बाबुलाई कहिल्यै आदर गरेनन् । ब्रेझनेभको मृत्युपछि युरी आन्द्रोपोभको समयमा भ्रष्टाचार र राज्यकोष दुरुपयोग गरेको अपराधमा पक्राउ परी कारावासको सजायसम्म भोगे । गालिना पनि राज्यशक्तिको दुरुपयोग र हिरा लुकाई विदेश लाने गरेको आरोपमा पक्राउ परिन् । ब्रेझनेभ जिउँदो छँदै यो प्रकरणमा केजिबीले गालिनालाई सोधपुछ गरेको भए पनि बे्रझनेभ सत्तामै रहेका कारण काण्ड त्यत्तिकै सेलायो । तर, आन्द्रोपोभ सत्तामा पुगेपछि गालिना, युरी र ब्रेझनेभका साला युरी चुर्वानोभ सबैले दण्ड पाए । ब्रेझनेभ सन् १९८२ मा ७५ वर्ष भइसकेका थिए । त्यसमाथि छोराछोरी र ज्वाइँको हर्कतले गर्दा सिकिस्त बिरामी परे । नोभेम्बर १० को बिहान भिक्टोरिया ब्रेझनेभ पल्टिराखेको पलङमा चढिन् । उपरखुट्टी लगाएर बसिन् र नास्ता खान थालिन् । लोग्ने निदाइराखेकोमा ढुक्क थिइन् तर लोग्नेले यो संसार छाडिसकेको चाल पाउन सकिनन् । भोलिपल्ट बिहान सवा ७ बजे नियमित कार्यक्रम पपसंगीत प्रसारण भइरहेको बेला राष्ट्रिय टिभीले अचानक गीत–संगीत रोकी लेनिनसम्बद्ध डकुमेन्ट्री प्रसारण गर्न थाल्यो । समाचारवाचकहरु पनि युनिफर्मबिना सादा लुगामा प्रस्तुत भए । जनता अलमलमा परे । एकछिनपछि वरिष्ठ समाचारवाचक इगोर किरिलोभ ११ बजे आँशु पुछ्दै देखा परे । उनैले राष्ट्रपति ब्रेझनेभको निधन भइसकेको समाचार दिए ।

ब्रेझनेभको शव तीन दिनसम्म रेड स्क्वायरमा राखियो । त्यसपछि पहिलोपटक भिक्टोरिया सार्वजनिक भइन् । शोकसभामा मन्तव्य दिइन् । प्रायः सबैले ब्रेझनेभले देश र पार्टीलाई दिएको योगदानको चर्चा गरे । भिक्टोरियाले भने अत्यन्त निजात्मक कुरा गरिन् । पहिलो भेटघाट, ब्रेझनेभले आफ्ना आमाबाबुलाई कसरी प्रभावित पारे आदि इत्यादि । १५ नोभेम्बरमा बल्ल अन्त्येष्टि कार्यक्रमको आयोजना गरियो । रुसी नेताद्वय लेनिन र स्टालिनलाई सरह सम्मान दिइयो । शवलाई रेड स्क्वायरमा रातो कार्पेट बिछ्याएर लगियो । अन्तिम सम्मानका लागि कफिन बक्सा खोलेपछि भिक्टोरिया अघि बढिन् । निहुरेर शवको निधार चुमिन् । नयाँ नेता आन्द्रोपोभले पनि त्यसै गरे । कार्यक्रममा ३२ देशका राष्ट्रपति, १५ देशका प्रधानमन्त्री, १४ देशका विदेशमन्त्री र चारजना युवराज उपस्थित थिए । 

केही समयपश्चात् नै ब्रेझनेभको आलोचना शुरु भयो । नयाँ नेता आन्द्रोपोभ स्वयंले ब्रेझनेभले रुसमा कमिसनतन्त्र, नोकरशाहीतन्त्र र नातावाद–कृपावाद भिœयाएको, अर्थतन्त्रलाई ध्वस्त पारेको आरोप लगाए । १८ वर्षको ब्रेझनेभ शासन ‘कालो युग’ भएको बताए । त्यतिञ्जेलसम्मा करिब दुई दशक मुलुकको प्रथम महिला बनेकी भिक्टोरियाको जिन्दगी ‘गुमनाम’ बनिसकेको थियो । ६ वर्षपछि सन् १९८८ मा उनलाई सरकारी निवास छोड्न लगाइयो । सेवा, सुविधा, नोकर–चाकर सबै खोसियो । यहाँसम्म कि राष्ट्रपति हुँदा ब्रेझनेभले पाएका पदक र उपहारसमेत खोसेर लगियो । ब्रेझनेभले लेखेका पुस्तकबापत पाउँदै आएको रोयल्टी बन्द गरियो । अपमान सहन नसकेपछि भिक्टोरिया बाध्य भई अदालतको शरणमा पुगिन् । बल्ल अदालतले मासिक ३० डलर पेन्सन दिने निर्णय ग¥यो । भिक्टोरिया न्यूनतम पेन्सनको भरमा ब्रेझनेभको पुरानो पाँच कोठे घरमा बस्न गइन् । छोराछोरीले पनि वास्ता गरेनन् । सोही घरमा १३ वर्षसम्म एकान्तवास बिताइन् । मधुमेहको कारण इन्सुलिन लिन्थिन् । अन्तिम समयमा त्यो पनि पाइनन् । अन्धी बनिन् । न सरकारले हे¥यो न जनताले । भ्रष्टाचारी परिवार भन्दै जनताले पनि सहानुभूति दर्शाउन छाडिसकेका थिए । अत्यन्त दुःख, कष्टको जीवनपछि सन् १९९५ को जुलाई ५ मा ८७ वर्षको उमेरमा उनको निधन भयो । अन्त्येष्टि पनि राज्यले साधारण कार्यक्रम गरी सकायो । परिवारका सदस्य र नजिकका इष्टमित्र तथा सरकार र पार्टीका कनिष्ठ अधिकृतहरु मात्र सामेल भए । छोरी गालिनाको मृत्यु तीन वर्षपछि सन् १९९८ मा मानसिक अस्पतालमा भयो । र, छोरा युरीको निधन सन् २०१३ मा ।


सुन चांदी बिक्रि दर

चांदी

प्रति तोला

NRs.725/-

तेजाबी

प्रति तोला

NRs.0/-

छापावाल

प्रति तोला

NRs.53,700/-

Mega Bank Ltd.
Top